काठमाडौं । गुगलले एआईको प्रयोगमार्फत यात्रा योजना बनाउन र दैनिक काम सहज बनाउन गुगल म्याप्समा नयाँ सुविधा ल्याउने भएको छ । कम्पनीका अनुसार अब प्रयोगकर्ताले गुगल म्याप्सबाटै यात्राको योजना बनाउन र भेटघाटका लागि उपयुक्त समय खोज्न सक्नेछन् ।
पछिल्लो समय प्रविधि कम्पनीहरूले एआईलाई प्रश्नको उत्तर दिने माध्यममा मात्र सीमित नराखी प्रयोगकर्ताका विभिन्न काम आफैँ गर्न सक्ने बनाइरहेका छन् । यसै क्रममा गुगलले पनि दैनिक लाखौँ मानिसले प्रयोग गर्ने गुगल म्याप्समा एआई सुविधा थप गर्न लागेको हो ।
गुगलका अनुसार ‘आस्क म्याप्स’ Ask maps सुविधामार्फत प्रयोगकर्ताले आफ्नो यात्राको चरणबद्ध योजना बनाउन सक्नेछन् । यसका साथै, गन्तव्यसम्म पुग्ने बाटो हेर्दा बाटो र यात्राका विभिन्न स्थानबारे वास्तविक समयको जानकारी पनि पाउन सक्नेछन् ।
यसले प्रयोगकर्तालाई यात्रा योजना बनाउन र आवश्यक जानकारी पाउन सहज बनाउनेछ । यसले प्रत्येक दिनको छुट्टाछुट्टै कार्यक्रम, घुम्ने ठाउँ र उपयोगी सुझाव नक्सासहित देखाउनेछ । तयार भएको योजना साथीभाइसँग साझा गर्न वा गुगल डक्समा पठाउन पनि सकिनेछ ।
यात्राका क्रममा ट्राफिक, सडकको अवस्था, पसल तथा रेस्टुरेन्ट खुल्ने समयजस्ता जानकारी वास्तविक समयमा प्राप्त गर्न सकिनेछ । आवश्यक परे यात्राको बीचमा घुम्ने ठाउँ वा खाना खाने स्थान थप्न पनि सकिनेछ ।
प्रविधि कम्पनीहरूले दैनिक काम सहज बनाउन एआई एजेन्ट विकास गरिरहेका छन् । अब प्रयोगकर्ताले गुगल म्याप्समा सुरक्षित गरेका स्थानमध्ये पाँच जनाका लागि आगामी ३० मिनेटभित्र ठाउँ उपलब्ध हुने स्थान पनि खोज्न सक्नेछन् ।
गुगलका अनुसार यी सुविधा एन्ड्रोइड र आईओएसमा विस्तार हुँदैछन् । साथै, ‘आस्क म्याप्स’ सेवा स्पेन, जर्मनी र बेलायतसहित युरोपका ३० देशमा पनि विस्तार गरिँदैछ ।
आईसीटी समाचार