काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले रणनीतिक सम्झौता भएको छ ।
सम्झौताअनुसार दुवै संस्थाले कार्ड पोर्टफोलियो विस्तार, भुक्तानी प्रणालीको पहुँच वृद्धि तथा नयाँ डिजिटल सेवाको विकासमा सहकार्य गर्नेछन् । यसबाट सिद्धार्थ बैंकका ग्राहकलाई थप सहज, सुरक्षित र गुणस्तरीय भुक्तानी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
सम्झौताबारे प्रतिक्रिया दिँदै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले सहकार्यले बैंकको भिसा कार्ड व्यवसायलाई थप विस्तार र सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनका अनुसार यस साझेदारीमार्फत भिसा कार्डको पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि र कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । साथै, यसले मुलुकको डिजिटल भुक्तानी प्रणालीको विकासमा समेत योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे ।
त्यसैगरी, भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले नेपालको डिजिटल भुक्तानी क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको सहकार्य महत्त्वपूर्ण रहेको बताए ।
उनले यस साझेदारीले नेपालभर सुरक्षित, विश्वसनीय र नवीनतम भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप मजबुत बनाउने उल्लेख गरे ।
सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले ग्राहकका लागि सुरक्षित र सहज डिजिटल भुक्तानी समाधान विस्तार गर्नुका साथै थप आकर्षक सुविधा तथा विशेष अफरहरू ल्याउने योजना बनाएको छ ।
बैंकका अनुसार यस सहकार्यले नेपालको विस्तारोन्मुख कार्ड तथा डिजिटल भुक्तानी बजारमा सिद्धार्थ बैंकको उपस्थिति थप बलियो बनाउन सहयोग पुग्नेछ ।
आईसीटी समाचार