कीवर्डहरू -

टेलिकमका समस्या समाधान गर्न मन्त्री सक्रिय, सेवा अवरुद्ध हुन नदिन निर्देशन

टेलिकमका समस्या समाधान गर्न मन्त्री सक्रिय, सेवा अवरुद्ध हुन नदिन निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवामा देखिएका समस्या तत्काल समाधान गरी गुणस्तर सुधार गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

बुधबार दूरसञ्चार कार्यालय बनेपाको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले सेवाग्राहीका गुनासालाई प्राथमिकतामा राखेर परिणाम देखिने गरी काम गर्न कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिएका हुन् ।

उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्न र तत्काल समाधान गर्न नसकिने विषयमा निरन्तर पहल तथा अनुगमन गर्न आग्रह गरे । नागरिकका गुनासा सरकारको प्राथमिकतामा पर्ने भएकाले समाधानका लागि निश्चित समयसीमा निर्धारण गरेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले देशभर दूरसञ्चार सञ्जाल विस्तार भइरहे पनि विभिन्न क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने तथा सेवा अवरुद्ध हुने समस्या कायमै रहेको बताए । उनले यस्ता समस्या अन्त्य गर्दै दूरसञ्चार सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

ग्राहकको सङ्ख्या र सेवाको माग बढ्दै गएको अवस्थामा टावरको क्षमता विस्तार तथा नेटवर्क सुधारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले आवश्यक स्रोत साधनको अभाव हुन नदिन नेपाल टेलिकमलाई निर्देशन दिइसकेको जानकारी दिए । सेवा सुधारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि उनले बताए ।

नेपाल टेलिकमले हाल देशभर करिब पाँच हजार टावरमार्फत सेवा प्रदान गर्दै आएको छ । सेवा गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि चालु आर्थिक वर्षमा थप एक हजार ६०० टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै, मन्त्री तिमिल्सिनाले राउटर अभाव, फाइबर केबलमा हुने क्षति तथा अन्य प्राविधिक र व्यवस्थापकीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिए । उपभोक्ताले गुणस्तरीय दूरसञ्चार सेवा प्राप्त गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न टेलिकमले प्रभावकारी रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो ।