काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ स्टार्टअप छनौट भएका छन् । यसअघि छनौट भएका उत्कष्ट १० स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।
अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ स्टार्टअप छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।
आफूलाई मन परेको उत्कष्ट ५ स्टार्टअप मध्येबाट एउटा स्टार्टअपलाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ ।
स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।
यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट स्टार्टअपः

१. एक्सेलेरेटेड कम्प्युटिङ : कृत्रिम बुद्धिमत्ताबाट इन्जिनियरिङ र उत्पादन प्रक्रियामा नवीनता
एक्सेलेरेटेड कम्प्युटिङ अर्थात् एन्के इन्जिनियरिङ, उत्पादन तथा औद्योगिक क्षेत्रका लागि कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधि, सिमुलेसन र क्लाउड कम्प्युटिङ सेवा विकास गर्ने कम्पनी हो । विशेष गरी उत्पादन उद्योग तथा इन्जिनियरिङ क्षेत्रमा जटिल प्राविधिक प्रक्रिया सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यसहित कम्पनीले विभिन्न सफ्टवेयर तथा प्रविधिमा काम गरिरहेको छ । यसले भौतिक विज्ञानमा आधारित कृत्रिम बुद्धिमत्ता मोडेलको विकासदेखि कम्प्युटरको सहायताबाट डिजाइन, इन्जिनियरिङ विश्लेषण तथा उत्पादन प्रक्रियासम्मका समाधान उपलब्ध गराउँछ ।

कम्पनीले इन्जिनियरिङ क्षेत्रमा प्रयोग हुने कम्प्युटर सहयोगी डिजाइन, कम्प्युटर सहयोगी इन्जिनियरिङ र कम्प्युटर सहयोगी उत्पादन प्रणालीलाई कृत्रिम बुद्धिमत्तासँग जोडेर काम गरिरहेको छ । त्यसका साथै सीमित तत्व विश्लेषण, कम्प्युटेसनल फ्लुइड डाइनामिक्स तथा विभिन्न इन्जिनियरिङ समस्याको सिमुलेसनसम्बन्धी परामर्श सेवा पनि प्रदान गर्दै आएको छ । यस प्रकारका प्रविधिले कुनै वस्तु वा संरचना वास्तविक रूपमा निर्माण गर्नुअघि नै त्यसको बनावट, क्षमता, कार्यसम्पादन र सम्भावित समस्याबारे कम्प्युटरमै परीक्षण गर्न सहयोग गर्छन् ।
एक्सेलेरेटेड कम्प्युटिङका प्रमुख उत्पादनमध्ये ‘मेडा’ एक हो । यसले प्राविधिक रेखाचित्र वा लिखित निर्देशनका आधारमा त्रिआयामिक नमुना तयार गर्न सहयोग गर्छ । त्यसैगरी, ‘सीएई एजेन्ट’ले सवारी साधनको अगाडिको सिसाको आकार निर्माणसम्बन्धी जटिल सिमुलेसन प्रक्रिया स्वचालित बनाउन मद्दत गर्छ ।
‘एक्सल’ भौतिक विज्ञानमा आधारित कृत्रिम बुद्धिमत्ता मोडेलको प्रशिक्षणका लागि विकास गरिएको उत्पादन हो भने ‘नोडुलर’ले आवश्यकता अनुसार जीपीयू, सीपीयू तथा भण्डारण क्षमता भाडामा उपलब्ध गराउने सेवा प्रदान गर्छ । नोडुलरमा स्थानीय मुद्राबाट भुक्तानी गर्न सकिने सुविधासमेत रहेको छ ।
कम्पनीले मुख्यतः उत्पादन तथा इन्जिनियरिङ सफ्टवेयरसँग सम्बन्धित व्यवसायलाई लक्षित गरेको छ । यद्यपि, नोडुलर सेवामार्फत स्टार्टअप, स्वतन्त्र अनुसन्धानकर्ता तथा विद्यार्थीलाई पनि आवश्यक कम्प्युटिङ क्षमता उपयोग गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ ।
डिजिटल माध्यमबाट समन्वय हुने व्यवस्थित टोलीमार्फत काम गर्दै आएको कम्पनीले इन्जिनियरिङ क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग विस्तार गरी अनुसन्धान, डिजाइन र उत्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
२. गरुडएक्स मल्टिपर्पज : नेपालमै ड्रोन प्रविधिको डिजाइन र उत्पादनमा केन्द्रित
मानवरहित हवाई उपकरण अर्थात् ड्रोन प्रविधिको प्रयोग विश्वभर विभिन्न क्षेत्रमा विस्तार भइरहेको छ । सर्वेक्षण, औद्योगिक निरीक्षण, विपद् व्यवस्थापन, खोज तथा उद्धार र सुरक्षासम्बन्धी काममा ड्रोनको उपयोग बढ्दै गएको अवस्थामा गरुडएक्स मल्टिपर्पज नेपालमै ड्रोनको डिजाइन, विकास तथा उत्पादनमा केन्द्रित कम्पनीका रूपमा अघि बढिरहेको छ । कम्पनीले आफूलाई नेपालको पहिलो एफपीभी ड्रोन कम्पनीका रूपमा चिनाउँदै आएको छ ।

गरुडएक्सले आफ्नै प्रविधि र अनुसन्धान तथा विकास क्षमताको प्रयोग गरी विभिन्न प्रकारका मानवरहित हवाई उपकरण विकास तथा निर्माण गर्दै आएको छ । कम्पनीको उत्पादन पोर्टफोलियोमा ‘स्काइरिपर’, ‘जीएक्स८ पाइरो’, ‘स्काइड्रप’ र ‘हेलियन थर्मल’ रहेका छन् । फरक–फरक आवश्यकताका लागि विकास गरिएका यी उत्पादनले नेपालमा ड्रोन प्रविधिको स्थानीय विकास र उत्पादनको सम्भावना देखाएका छन् । विदेशी उत्पादनमा मात्रै निर्भर रहनुपर्ने अवस्थालाई कम गर्दै स्थानीय आवश्यकता र भौगोलिक परिस्थितिअनुसार प्रविधि विकास गर्नु कम्पनीको महत्वपूर्ण पक्ष हो ।
ड्रोन उत्पादनसँगै कम्पनीले लाइडार सर्वेक्षण, फोटोग्रामेट्री, आवश्यकताअनुसार विशेष ड्रोन विकास, ड्रोन उडाउने तालिम तथा हवाई दृश्य छायाङ्कन सेवा पनि प्रदान गर्दै आएको छ । लाइडार तथा फोटोग्रामेट्री प्रविधिले कुनै क्षेत्रको भौगोलिक अवस्था, उचाइ, बनावट र संरचनासम्बन्धी विवरण संकलन गर्न सहयोग गर्छन् । यस प्रकारका सेवा पूर्वाधार विकास, निर्माण, नक्साङ्कन तथा औद्योगिक निरीक्षणमा उपयोगी हुन सक्छन् ।
गरुडएक्सका ड्रोन प्रविधि सार्वजनिक सुरक्षा, खोज तथा उद्धार, विपद् प्रतिकार्य र विभिन्न औद्योगिक प्रयोजनमा उपयोग गर्ने सम्भावना छ । कम्पनीले नेपालमा ड्रोनसम्बन्धी सीप, प्रतिस्पर्धा र प्रविधिको वातावरण विकास गर्न ‘नेपाल ड्रोन रेसिङ लिग’ पनि प्रवर्द्धन गरिरहेको छ । आफ्नै आम्दानीलाई पुनः अनुसन्धान तथा विकासमा लगानी गर्दै नवीन र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने ड्रोन प्रविधि निर्माण गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
३. गोमाइगो बुकिङ्स : यात्रु र यातायात व्यवसायीलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्दै
नेपालमा आन्तरिक पर्यटन, सार्वजनिक यातायात तथा यात्रासम्बन्धी सेवाको माग बढ्दै जाँदा यात्राको योजना बनाउनेदेखि टिकट बुकिङ र सवारी साधन व्यवस्थापनसम्म डिजिटल प्रणालीको आवश्यकता पनि बढिरहेको छ । यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित गोमाइगो बुकिङ्सले प्रविधिमा आधारित यात्रा तथा यातायात सेवा प्लेटफर्म सञ्चालन गरिरहेको छ । यसले यात्रु, यातायात सञ्चालक तथा ट्राभल एजेन्सीलाई एउटै डिजिटल प्रणालीमा जोडेर यात्रा खोज्ने, सेवा छनोट गर्ने र बुकिङ गर्ने प्रक्रिया सहज बनाउने काम गर्छ ।

गोमाइगोमार्फत यात्रुहरूले अनलाइन बस टिकट बुकिङ, डिजिटल भुक्तानी, सवारी साधन भाडामा लिने तथा अन्य यात्रासम्बन्धी सेवा प्राप्त गर्न सक्छन् । एउटै प्लेटफर्मबाट विभिन्न यातायात तथा यात्रा सेवाको जानकारी र विकल्प उपलब्ध गराउने भएकाले यात्रुहरूलाई सेवा खोज्न तथा बुकिङ गर्न सहज हुन्छ । विशेष गरी यात्रा गर्नुअघि टिकट तथा सवारी साधनको उपलब्धता बुझ्न र भुक्तानी प्रक्रिया पूरा गर्न डिजिटल माध्यम उपलब्ध गराउनु यसको महत्वपूर्ण पक्ष हो ।
गोमाइगोले यात्रुलाई सेवा उपलब्ध गराउने मात्र नभई यातायात सञ्चालक तथा ट्राभल एजेन्सीका लागि पनि डिजिटल उपकरण प्रदान गर्छ । यसको माध्यमबाट व्यवसायीले टिकट बुकिङ, उपलब्ध सिट तथा सवारी साधनको विवरण, ग्राहक व्यवस्थापन र दैनिक सञ्चालनसम्बन्धी काम व्यवस्थित गर्न सक्छन् । यसले परम्परागत रूपमा म्यानुअल प्रक्रियाबाट सञ्चालन हुँदै आएका यातायात सेवामा डिजिटल प्रणालीको प्रयोग बढाउन सहयोग पुर्याउने उद्देश्य राखेको छ ।
बजारमा सेवा प्रदायक र सेवाग्राहीलाई जोड्ने मध्यस्थ प्लेटफर्मको अवधारणामा आधारित गोमाइगोले टिकट बुकिङबाट प्राप्त हुने कमिसन तथा विभिन्न सेवा शुल्कमार्फत आम्दानी गर्छ । कम्पनीले यातायात र यात्रा सेवाका विभिन्न पक्षलाई एउटै प्रणालीमा समेट्दै नेपालमा एकीकृत डिजिटल यात्रा प्रणाली विकास गर्ने लक्ष्य राखेको छ । यसले यात्रुका लागि यात्रा योजना र बुकिङ सहज बनाउनुका साथै यातायात व्यवसायीलाई आफ्नो सेवा डिजिटल माध्यमबाट विस्तार गर्ने अवसर प्रदान गर्न सक्छ ।
४. लुमिनो टेक्नोलोजी : आफ्नै आम्दानीबाट प्रविधि उत्पादन विकास गर्दै अन्तर्राष्ट्रिय बजारतर्फ
लुमिनो टेक्नोलोजी नेपालमा स्थापना भएर स्वदेश तथा अन्तर्राष्ट्रिय बजारका लागि सफ्टवेयर उत्पादन र डिजिटल समाधान विकास गर्दै आएको प्रविधि कम्पनी हो । कम्पनीले व्यवसायको आवश्यकता अनुसार विस्तार गर्न सकिने क्लाउडमा आधारित सफ्टवेयर उत्पादन निर्माण तथा सेवा प्रदान गर्दै आएको छ । विशेष गरी व्यवसाय सञ्चालन, मानव संसाधन व्यवस्थापन, वेबसाइट निर्माण, आतिथ्य सेवा तथा डिजिटल सञ्चारसम्बन्धी क्षेत्रमा कम्पनीका उत्पादन र सेवाहरू केन्द्रित छन् ।

कम्पनीको उत्पादन पोर्टफोलियोमा लुमिनो एचआरएमएस, सामाग्री व्यवस्थापन तथा वेबसाइट निर्माण प्लेटफर्म, सामूहिक एसएमएस सेवा र आतिथ्य व्यवस्थापन प्रणाली रहेका छन् । यसबाहेक कम्पनीले ‘ग्लोबल लुडो’ र ‘गोलआइक्यू’ जस्ता मोबाइल खेल समेत विकास गरेको छ । विभिन्न प्रकृतिका व्यवसायलाई एउटै प्रविधि प्रदायकबाट आवश्यक डिजिटल समाधान उपलब्ध गराउने उद्देश्यले कम्पनीले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै आएको देखिन्छ ।
लुमिनो टेक्नोलोजीले आफ्नै उत्पादन विकाससँगै ग्राहकको आवश्यकता अनुसार सफ्टवेयर निर्माण, वेब तथा मोबाइल एप्लिकेसन विकास, सफ्टवेयर सेवा, प्रयोगकर्ता अन्तरमुख डिजाइन, डिजिटल बजारीकरण, सर्च इन्जिन अप्टिमाइजेसन तथा सूचना प्रविधिसम्बन्धी परामर्श सेवा प्रदान गर्छ । यसरी सफ्टवेयर सेवा र आफ्नै उत्पादन दुवै क्षेत्रमा काम गर्दा कम्पनीले विभिन्न बजारको आवश्यकता बुझ्ने तथा नयाँ उत्पादन विकासका लागि आवश्यक अनुभव र स्रोत जुटाउने अवसर पाएको छ ।
कम्पनीको महत्वपूर्ण विशेषता यसको व्यावसायिक मोडेल हो । बाह्य लगानीमा पूर्ण रूपमा निर्भर नभई आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको र नाफा कमाउँदै आएको कम्पनीले प्रविधि सेवाबाट प्राप्त आम्दानीलाई नयाँ उत्पादन विकासमा पुनः लगानी गर्ने रणनीति अपनाएको छ ।
सेवा प्रदान गरेर आम्दानी गर्ने र त्यसैलाई विस्तारै आफ्नै उत्पादन निर्माणमा उपयोग गर्ने यस मोडेललाई कम्पनीले आफ्नो विकासको आधार बनाएको छ । पाँचभन्दा बढी देशका ग्राहकसँग काम गरिसकेको लुमिनो टेक्नोलोजीले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्दै उत्पादनमा आधारित व्यवसायलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ ।
५. योद्धा ल्याब : नेपाली संस्थाका लागि मानव संसाधन तथा तलब व्यवस्थापनमा डिजिटल समाधान
कुनै पनि संस्थाको सफल सञ्चालनमा कर्मचारी व्यवस्थापन, हाजिरी, बिदा, कार्यसम्पादन र तलब व्यवस्थापन महत्वपूर्ण हुन्छन् । तर धेरै संस्थामा यस्ता काम अझै पनि परम्परागत तथा छुट्टाछुट्टै प्रणालीबाट सञ्चालन भइरहेका छन् । यही प्रक्रियालाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यसहित काठमाडौंमा आधारित योद्धा ल्याब प्रा. लि. ले ‘नेपाल एचआरएम’ नामक क्लाउडमा आधारित मानव संसाधन व्यवस्थापन तथा तलब प्रणाली विकास गरेको छ ।

नेपाल एचआरएमले कर्मचारीको विवरण व्यवस्थापन, हाजिरी, बिदा, नयाँ कर्मचारी छनोट तथा भर्ना, कार्यसम्पादन मूल्याङ्कन, कर्मचारी ऋण, खर्च र तलब व्यवस्थापनलगायतका काम एउटै डिजिटल प्लेटफर्मबाट गर्न सकिने सुविधा उपलब्ध गराउँछ । यसले संस्थालाई कर्मचारीसम्बन्धी विवरण सुरक्षित रूपमा राख्न, आवश्यक जानकारी सहजै प्राप्त गर्न तथा नियमित प्रशासनिक कामलाई व्यवस्थित गर्न सहयोग पुर्याउँछ ।
यसको अर्को महत्वपूर्ण पक्ष नेपालको कानुनी तथा प्रशासनिक व्यवस्थाअनुसार तलबसम्बन्धी गणना गर्न मिल्ने सुविधा हो । नेपालमा प्रचलित सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा आयकरसम्बन्धी व्यवस्थालाई ध्यानमा राखेर प्रणालीमा आवश्यक गणना सुविधा समावेश गरिएको छ । यसले संस्थालाई कर्मचारीको तलब तयार गर्दा आवश्यक योगदान, कट्टी तथा करसम्बन्धी विवरण व्यवस्थापन गर्न सहज बनाउँछ ।
नेपाल एचआरएमले जेडकेटेको तथा हिकभिजनका बायोमेट्रिक हाजिरी उपकरणसँग एकीकरणको सुविधा पनि उपलब्ध गराएको छ । यसका साथै आइओएस तथा एन्ड्रोइड मोबाइल एप, कृत्रिम बुद्धिमत्तामा आधारित मानव संसाधन सहायक र विभिन्न निःशुल्क मानव संसाधन उपकरणसमेत उपलब्ध छन् । यसले कार्यालयमा मात्र सीमित नभई मोबाइलमार्फत पनि कर्मचारी तथा व्यवस्थापकलाई आवश्यक विवरण प्रयोग गर्न सहयोग गर्छ ।
सदस्यता शुल्कमा आधारित सफ्टवेयर सेवा मोडेल अपनाएको कम्पनीले १० जनासम्म कर्मचारी भएका संस्थाका लागि निःशुल्क योजना पनि उपलब्ध गराएको छ । साना तथा मझौला व्यवसायले ठूलो खर्च नगरी मानव संसाधन व्यवस्थापनलाई स्वचालित र व्यवस्थित बनाउन सकून् भन्ने उद्देश्य यसमा देखिन्छ । नेपाली संस्थाको आवश्यकता र कानुनी व्यवस्थाअनुसार तयार गरिएको प्रणालीमार्फत मानव संसाधन व्यवस्थापनलाई सहज, किफायती र विश्वसनीय बनाउने लक्ष्य योद्धा ल्याबले राखेको छ ।
स्नेहा झा