काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनौट भएका छन् । यसअघि छनौट भएका उत्कृष्ट १५ राइजिङ स्टार इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।
अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।
आफूलाई मन परेको उत्कष्ट ५ राइजिङ स्टार इन्नोभेसन मध्येबाट एउटालाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ ।
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । स्कुल तथा कलेजमा पढ्दै गरेका विद्यार्थीले बनाएका परियोजनालाई प्रोत्साहन र प्रवर्द्धन गर्न राइजिङ स्टार इन्नोभेसन अवार्ड प्रदान गरिन्छ ।
यस्ता छन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन

१. इभो-मो : औषधि प्रतिरोधी सूक्ष्मजीवको पूर्वानुमान गर्ने एआई प्रणाली
स्वास्थ्य क्षेत्रमा देखिएको गम्भीर चुनौतीमध्ये एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् सूक्ष्मजीवमा औषधि प्रतिरोध क्षमता विकास हुनु पनि एक हो । कुनै रोग लाग्दा प्रयोग गरिने औषधिले अपेक्षित रूपमा काम नगर्ने अवस्था सिर्जना हुँदा बिरामीको उपचार जटिल बन्न सक्छ । विशेष गरी एन्टिबायोटिकको प्रभावकारिता घट्दै जानु विश्व स्वास्थ्य प्रणालीका लागि चुनौती बन्दै गएको छ ।
यही समस्यालाई प्रविधिको माध्यमबाट सम्बोधन गर्ने उद्देश्यले इभो–मो विकास भइरहेको छ । यो कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वानुमान प्रणाली हो, जसले विभिन्न रोगजनक सूक्ष्मजीवले कुन औषधिप्रति प्रतिरोध क्षमता विकास गर्न सक्छन् भन्ने अनुमान गर्न खोज्छ । यसले आगामी १२ महिनासम्मको औषधि प्रतिरोधसम्बन्धी प्रवृत्ति पूर्वानुमान गर्ने लक्ष्य राखेको छ ।
यसका लागि प्रणालीले सूक्ष्मजीवको आनुवंशिक विवरण, बिरामीको चिकित्सकीय विवरण, प्रयोगशालाबाट प्राप्त तथ्याङ्क र महामारीसम्बन्धी सूचनालाई एकीकृत रूपमा विश्लेषण गर्छ । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कलाई एकै ठाउँमा ल्याएर विश्लेषण गर्दा कुन औषधि प्रभावकारी हुन सक्छ भन्ने विषयमा स्वास्थ्यकर्मीलाई निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ ।
इभो-मोको अर्को महत्त्वपूर्ण पक्ष स्रोत साधन सीमित भएका स्वास्थ्य प्रणालीलाई सहयोग पुर्याउनु हो । विशेष गरी नेपालजस्ता देशमा औषधि प्रतिरोधसम्बन्धी तथ्याङ्कको व्यवस्थित विश्लेषण र पूर्वानुमानले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सक्ने सम्भावना छ । यस परियोजनाले नेपालका चिकित्सा अनुसन्धानकर्तासँग सहकार्य गर्दै बहुआयामिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकास गरिरहेको छ ।
हाल यसको तथ्याङ्क एकीकरण तथा विश्लेषण गर्ने प्रणाली निर्माणको काम अघि बढिरहेको छ । दीर्घकालमा यसले नेपालसँगै दक्षिण एसियामा औषधि प्रतिरोधको निगरानी र नियन्त्रणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
२. लाइफलाइन् : मोबाइल नेटवर्क नपुग्ने हिमाली क्षेत्रमा आपत्कालीन सञ्चार
नेपालका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा प्राकृतिक विपद्, दुर्घटना वा स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्था आइपर्दा समयमै सूचना आदानप्रदान गर्न कठिन हुन सक्छ । कतिपय स्थानमा मोबाइल नेटवर्क उपलब्ध नहुने वा इन्टरनेट सेवा नपुग्ने भएकाले बिरामी, दुर्घटनामा परेका व्यक्ति वा जोखिममा रहेका समुदायले तत्काल सहायता माग्न सक्दैनन् । यस्तो अवस्थामा सञ्चारको वैकल्पिक व्यवस्था आवश्यक हुन्छ ।
यही समस्या समाधान गर्ने उद्देश्यले लाइफलाइन् नामक आपत्कालीन सञ्चार प्रणाली विकास भइरहेको छ । यो मोबाइल नेटवर्क र इन्टरनेटको पहुँच नभएका स्थानमा पनि काम गर्न सक्ने कम लागतको सञ्चार प्रणाली हो । यसले लामो दूरीसम्म रेडियो सङ्केत पठाउन सक्ने लोरा प्रविधिको प्रयोग गर्छ ।
लाइफलाइन्मार्फत दुर्गम क्षेत्रका स्थानीय बासिन्दाले स्वास्थ्य चौकी, स्थानीय प्रशासन तथा आपत्कालीन उद्धार टोलीलाई सूचना पठाउन सक्छन् । कुनै व्यक्ति बिरामी परेमा, दुर्घटनामा परेमा वा अन्य आपत्कालीन अवस्था सिर्जना भएमा प्रणालीमार्फत चेतावनी सन्देश पठाउन सकिन्छ । सन्देश प्राप्त भएको पुष्टि हुने दुईतर्फी सञ्चार सुविधाले सूचना सम्बन्धित निकायसम्म पुगेको छ कि छैन भन्ने थाहा पाउन पनि सहयोग गर्छ ।
यस प्रणालीको उपयोगिता विशेष गरी हिमाली क्षेत्रका त्यस्ता बस्तीमा हुन सक्छ, जहाँ सडक, मोबाइल नेटवर्क र अन्य सञ्चार पूर्वाधार पर्याप्त छैनन् । लाइफलाइन्ले आपत्कालीन अवस्थाको सूचना छिटो पुर्याएर उद्धार तथा उपचार प्रक्रिया अघि बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।
हाल यो परियोजना कार्यशील नमुना विकासको चरणमा छ । भविष्यमा रेडियो, मोबाइल नेटवर्क र भूउपग्रहमा आधारित सञ्चारलाई एकीकृत गर्ने मिश्रित सञ्जाल निर्माण गर्ने यसको योजना छ । यसबाट दुर्गम समुदायका लागि भरपर्दो र विस्तार गर्न सकिने आपत्कालीन सञ्चार प्रणाली उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
३. प्रेडिक्सन अफ प्रेडिक्सन : एआईले दिने गलत जानकारी पहिचान गर्ने प्रणाली
कृत्रिम बुद्धिमत्तामा आधारित भाषा मोडलको प्रयोग बढेसँगै यसले दिने जानकारीको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न थालेको छ । यस्ता प्रणालीले कहिले काहीँ तथ्यमा आधारित नभएका जानकारी आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्छन् । यसरी वास्तविकतासँग मेल नखाने वा आधारहीन जानकारी सिर्जना गर्ने समस्यालाई एआई हलुसिनेसन भनिन्छ । त्यस्तै, उत्तरभित्रै तार्किक असङ्गति देखिने समस्या पनि भाषा मोडलमा हुन सक्छ ।
यस्ता त्रुटि प्रयोगकर्तासम्म पुग्नुअघि नै पहिचान गर्ने उद्देश्यले प्रेडिक्सन अफ प्रेडिक्सन नामक परियोजना विकास गरिएको हो । यसलाई संक्षेपमा पीओपी भनिन्छ । यो विभिन्न भाषा मोडलसँग काम गर्न सक्ने हलुका एआई प्रमाणीकरण प्रणाली हो । यसको उद्देश्य भाषा मोडलले तयार पारेको उत्तरमा तथ्यगत त्रुटि वा तार्किक असङ्गति छ कि छैन भन्ने जाँच गर्नु हो ।
पीओपीले प्राकृतिक भाषा निष्कर्ष प्रविधिको प्रयोग गरेर मोडलबाट प्राप्त उत्तरको विश्लेषण गर्छ । यसले मूल भाषा मोडललाई पुनः प्रशिक्षण दिनुपर्ने आवश्यकता नराखी त्यसबाट उत्पन्न सामाग्रीको विश्वसनीयता जाँच गर्ने लक्ष्य राखेको छ । यसरी भाषा मोडलले तयार पारेको जवाफ अन्तिम प्रयोगकर्तासम्म पुग्नुअघि नै सम्भावित त्रुटि पहिचान गर्न सकिने यसको अवधारणा छ ।
यो प्रणाली विभिन्न प्रकारका भाषा मोडलसँग प्रयोग गर्न सकिने भएकाले यसको उपयोगिता फराकिलो हुन सक्छ । विशेष गरी कम्पनी, संस्था र व्यावसायिक सेवामा एआईको प्रयोग गर्दा गलत जानकारीका कारण उत्पन्न हुन सक्ने जोखिम कम गर्न यसले सहयोग पुर्याउन सक्छ ।
यस परियोजनाको प्रारम्भिक अनुसन्धान सार्वजनिक अनुसन्धान प्रकाशन मञ्च आर्काइभमा प्रकाशित भइसकेको छ । हाल यसको दोस्रो संस्करण विकास र सीमित परीक्षण वातावरणमा प्रयोग गर्ने काम भइरहेको छ ।
आगामी चरणमा एपीआई गेटवे र संस्थागत आवश्यकताअनुसार प्रयोग गर्न सकिने एआई सुरक्षा समाधान सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । यसका लागि परियोजनाले इमर्जेन्ट भेन्चर्सको अनुदानसमेत प्राप्त गरेको विवरण दिएको छ ।
४. सिन्याप्टिक : बालबालिकाको भाषा सिकाइमा संवर्धित वास्तविकताको प्रयोग
बोल्न वा मौखिक रूपमा आफ्नो विचार व्यक्त गर्न कठिनाइ भएका विकासात्मक भिन्नता भएका बालबालिकालाई नयाँ शब्द सिकाउनु र दैनिक सञ्चारमा सहयोग पुर्याउनु विशेष चुनौतीपूर्ण हुन सक्छ । विशेष गरी अटिजम भएका बालबालिकाका लागि उपयुक्त सिकाइ सामाग्री र संवादका उपकरणको आवश्यकता पर्छ । नेपालमा स्थानीय भाषासँग मेल खाने यस्ता सहायक सञ्चार उपकरण सीमित रहेकाले यो क्षेत्रमा थप प्रविधिगत समाधान आवश्यक देखिन्छ ।
यही आवश्यकतालाई ध्यानमा राखेर सिन्याप्टिक नामक संवर्धित वास्तविकतामा आधारित भाषा सिकाइ एप्लिकेसन विकास गरिएको हो । यसले भौतिक सिकाइ कार्ड र डिजिटल प्रविधिलाई एकीकृत गरेर बालबालिकालाई नयाँ शब्द तथा वस्तु पहिचान गर्न सहयोग गर्छ ।
यस प्रणालीमा वास्तविक सिकाइ कार्डलाई मोबाइल उपकरणको क्यामेरामार्फत हेर्दा त्यससँग सम्बन्धित त्रिआयामिक आकृति तथा डिजिटल सामाग्री देख्न सकिने सुविधा छ । अन्तरक्रियात्मक प्रतिक्रिया र नेपाली तथा अंग्रेजी दुवै भाषामा उपलब्ध अडियोले बालबालिकालाई शब्दको अर्थ बुझ्न तथा उच्चारणसँग परिचित हुन सहयोग गर्छ ।
सिन्याप्टिकले बालबालिकालाई केवल शब्द कण्ठ गराउनेभन्दा पनि दृश्य, आवाज र अन्तरक्रियाको माध्यमबाट सिकाइ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यसका साथै अभिभावक तथा हेरचाहकर्ताले बालबालिकाको सिकाइ प्रगति हेर्न सक्ने सुविधा पनि विकास गर्ने उद्देश्य राखिएको छ ।
यस परियोजनाको अर्को महत्त्वपूर्ण पक्ष नेपालमा स्थानीय आवश्यकताअनुसार तयार पारिएका वैकल्पिक तथा सहायक सञ्चार सामाग्रीको अभावलाई सम्बोधन गर्नु हो । हाल सिन्याप्टिक गुगल प्लेमा बिटा संस्करणका रूपमा उपलब्ध छ ।
परियोजनाले होप सेन्टर फर चाइल्ड डेभलपमेन्ट, नयाँ आशा विद्यालय, काठमाडौं विश्वविद्यालयको हेल्थ इन्फर्मेटिक्स ल्याब तथा त्रिभुवन विश्वविद्यालयको कग्निटिभ साइन्स एन्ड साइकोलिङ्ग्विस्टिक्स ल्याबसँग सहकार्य गर्दै परीक्षण तथा पाइलट कार्यक्रम अघि बढाइरहेको छ ।
५. ट्राफिक आई : नेपाली सवारी नम्बर प्लेट पहिचान गर्ने एआई प्रणाली
नेपालका सडकमा सवारी साधनको सङ्ख्या बढ्दै जाँदा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको चुनौती पनि बढिरहेको छ । कुनै दुर्घटना, नियम उल्लङ्घन वा अन्य आपराधिक घटनाको अनुसन्धान गर्दा सीसीटीभी फुटेज हेरेर सवारी साधन पहिचान गर्नुपर्ने हुन्छ । तर लामो समयको भिडियो सामाग्री म्यानुअल रूपमा हेरेर आवश्यक विवरण खोज्नु झन्झटिलो र समय लाग्ने प्रक्रिया हो ।
यस्तो कामलाई छिटो र प्रभावकारी बनाउन ट्राफिक आई नामक कृत्रिम बुद्धिमत्तामा आधारित ट्राफिक निगरानी तथा नम्बर प्लेट पहिचान प्रणाली विकास गरिएको हो । यसले सीसीटीभी क्यामेराबाट प्राप्त दृश्यलाई खोज्न र विश्लेषण गर्न सकिने डिजिटल अभिलेखमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
यस प्रणालीले भिडियोमा देखिएका सवारी साधन पहिचान गर्ने, नम्बर प्लेट पढ्ने, ट्राफिकको गतिविधि विश्लेषण गर्ने र केही निश्चित नियम उल्लङ्घन समेत पत्ता लगाउने सुविधा दिन्छ । उदाहरणका लागि हेल्मेट नलगाई मोटरसाइकल चलाएको जस्ता गतिविधि पहिचान गर्न यसलाई प्रयोग गर्न सकिन्छ ।
ट्राफिक आईको मुख्य विशेषता नेपाली सवारी नम्बर प्लेटका विभिन्न ढाँचा र स्थानीय सडकको अवस्थालाई ध्यानमा राखेर प्रणाली विकास गर्नु हो । अन्य देशका लागि बनाइएका नम्बर प्लेट पहिचान प्रणालीले नेपाली नम्बर प्लेटका फरक स्वरूपलाई सही रूपमा पढ्न नसक्ने सम्भावना हुन्छ । त्यसैले स्थानीय आवश्यकता र सवारी नम्बर प्लेटको ढाँचाअनुसार काम गर्ने प्रणाली निर्माण गर्नु यसको महत्त्वपूर्ण पक्ष हो ।
यसले नेपाल प्रहरीको ट्राफिक शाखा, सुरक्षा निकाय तथा आधिकारिक अनुसन्धानकर्तालाई भिडियो विश्लेषण र घटनाको अनुसन्धानमा सहयोग पुर्याउने लक्ष्य राखेको छ । हाल यो न्यूनतम कार्यशील उत्पादन तथा अवधारणाको प्रमाण प्रस्तुत गर्ने चरणमा छ । परियोजनाले प्रहरी अधिकारीहरूसमक्ष यसको प्रदर्शन गरिसकेको र वास्तविक परिस्थितिमा एउटा क्यामेराबाट परीक्षण गर्ने तयारी गरिरहेको जनाएको छ ।
स्नेहा झा