कीवर्डहरू -

ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने

ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा सन्देश पठाउन मिल्ने नयाँ सुविधा ल्याएको छ । यस सुविधामार्फत प्रयोगकर्ताले व्यक्तिगत तथा समूह च्याटमा सन्देश पठाउने समय पहिले नै निर्धारण गर्न सक्नेछन् ।

समय निर्धारण गरिसकेपछि प्रयोगकर्ता अनलाइन नभए पनि तोकिएको समयमा सन्देश स्वत: पठाइनेछ । यसका लागि अन्य एप वा रिमाइन्डरको सहयोग लिनुपर्ने छैन ।

ह्वाट्सएपले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा परीक्षण गरेपछि नोभेम्बर २५ मा आफ्नो आधिकारिक एक्स (X) खातामार्फत यस सुविधाको घोषणा गरेको हो । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले सम्बन्धित च्याट खोलेर सन्देश लेख्नुपर्नेछ । त्यसपछि पठाउने बटन केही समय थिचेर राखी आफूले चाहेको मिति र समय छनोट गर्न सक्नेछन् ।

यस सुविधामार्फत १० मिनेटदेखि दुई सातासम्मका लागि टेक्स्ट सन्देश, लिंक, फोटो तथा भिडियो पठाउने समय निर्धारण गर्न सकिनेछ । निर्धारित समयमा सन्देश स्वत: पठाइनेछ । यसका लागि पठाउने समयमा फोनमा इन्टरनेट जडान भइरहनुपर्ने छैन ।

प्रयोगकर्ताले पठाउन बाँकी रहेका निर्धारित सन्देशहरू हेर्न र आवश्यक परे हटाउन पनि सक्नेछन् । सन्देश हटाउँदा च्याटमा रहेको अर्को व्यक्तिलाई कुनै सूचना जाने छैन । समूह च्याटमा सन्देश पठाउने समय निर्धारण गर्दा तोकिएको समयमा समूहमा रहेका सदस्यले मात्र उक्त सन्देश प्राप्त गर्नेछन् । पछि समूहमा जोडिने नयाँ सदस्यले भने पहिले नै निर्धारित गरिएको सन्देश प्राप्त गर्ने छैनन् ।

यो सुविधा हाल केही प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । ह्वाट्सएपले क्रमश: सबै प्रयोगकर्तामाझ विस्तार गरिरहेको छ । त्यसैले आफ्नो एपमा यो सुविधा उपलब्ध नभए केही समय पर्खनुपर्ने हुन सक्छ ।