काठमाडौं । नेपालका प्रविधि तथा प्रविधिमा आधारित साना तथा मझौला उद्यम (एसएमई) लाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सहज बनाउने उद्देश्यले ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक गरिएको छ ।
नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट कम्युनिटी २ (NIIC 2) ले स्विस सरकारको विकास सहयोग नियोग (Swiss Agency for Development and Cooperation – SDC) को सहयोगमा तथा वान टु वाच (One to Watch) को कार्यान्वयनमा उक्त म्यानुअल सार्वजनिक गरेको हो । नोभेम्बर २६, २०२६ मा आयोजित विशेष कार्यक्रममार्फत म्यानुअल सार्वजनिक गरिएको हो ।

राष्ट्रिय बैंकिङ इन्स्टिच्युट (NBI) सँगको सहकार्यमा तयार पारिएको ‘प्रडक्ट पेपर एन्ड लेन्डिङ म्यानुअल फर टेक एन्ड टेक-इनेबल्ड बिजनेस’ बैंक तथा वित्तीय संस्थाका लागि तयार पारिएको मार्गदर्शन पुस्तिका हो । यसले प्रविधि तथा प्रविधिमा आधारित व्यवसायको वित्तीय अवस्था, व्यावसायिक मोडेल र कर्जा भुक्तानी क्षमता मूल्यांकन गरी कर्जा प्रवाह गर्न बैंकहरूलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
परम्परागत बैंकिङ प्रणालीमा कर्जा प्रवाह गर्दा जग्गा, घर तथा अन्य भौतिक सम्पत्तिलाई धितोका रूपमा प्राथमिकता दिइन्छ । तर प्रविधिमा आधारित व्यवसायसँग पर्याप्त भौतिक सम्पत्ति नहुन सक्ने भएकाले यस्ता उद्यमले बैंकिङ कर्जा प्राप्त गर्न कठिनाइ भोग्दै आएका छन् ।

नयाँ म्यानुअलले भने परम्परागत धितोमा मात्र निर्भर नभई व्यवसायको नगद प्रवाह (Cash Flow), व्यावसायिक मोडेल (Business Model) तथा ऋण भुक्तानी क्षमता (Repayment Capacity) का आधारमा मूल्यांकन गर्न बैंक तथा वित्तीय संस्थालाई मार्गदर्शन गर्नेछ ।
म्यानुअलसँगै स्क्रिनिङ तथा मूल्यांकन टुलकिट समेत उपलब्ध गराइएको छ । यसले प्रविधि तथा प्रविधिमा आधारित एसएमईको व्यावसायिक सम्भावना र वित्तीय जोखिम पहिचान गर्न कर्जा प्रदायक संस्थालाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था, प्रविधि तथा प्रविधिमा आधारित उद्यम, विकास साझेदार र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालको प्रविधि क्षेत्रको विकासका लागि वित्तीय पहुँच विस्तार गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका र प्रविधि उद्यमलाई कर्जा प्रवाह गर्ने सम्भावनाबारे छलफल गरिएको थियो ।
यस पहलले नेपालका प्रविधि उद्यमलाई आवश्यक पूँजी उपलब्ध गराउन, बैंक तथा वित्तीय संस्थाको प्रविधि क्षेत्रप्रतिको बुझाइ विस्तार गर्न र नवप्रवर्तनमा आधारित व्यवसायको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार