कीवर्डहरू -

अमेरिकी वायुसेनाको संवेदनशील क्लाउड प्रणालीमा ह्याकरको प्रवेश, सैन्य तथ्याङ्क जोखिममा

अमेरिकी वायुसेनाको संवेदनशील क्लाउड प्रणालीमा ह्याकरको प्रवेश, सैन्य तथ्याङ्क जोखिममा

काठमाडौं । अमेरिकी वायुसेनाले सैन्य तथा प्रशासनिक कामका लागि प्रयोग गर्दै आएको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन् । साइबर आक्रमणपछि अमेरिकी सेनाका संवेदनशील सूचना, कर्मचारीका विवरण तथा सैन्य सामाग्री व्यवस्थापनसम्बन्धी तथ्याङ्क जोखिममा परेको आशंका गरिएको छ ।

यस घटनाबारे जानकार तीन व्यक्तिले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार प्रणालीमा भएको घुसपैठ करिब एक महिनाअघि पत्ता लागेको थियो । प्रणाली स्तरोन्नति गर्ने क्रममा अनधिकृत पहुँचको संकेत फेला परेपछि सुरक्षा अनुसन्धान अघि बढाइएको हो ।

आक्रमणकारी को हुन्, उनीहरूले कुन उद्देश्यले प्रणालीमा प्रवेश गरेका थिए र कति सूचना प्रभावित भए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन । तथ्याङ्क चोरी भएको हो वा होइन भन्नेबारे पनि यकिन भइसकेको छैन । तर, घटनापछि क्लाउड वनका नियमित गतिविधिमा अवरोध आएको स्रोतहरूले बताएका छन् ।

अमेरिकी वायुसेनाले भने आफ्नो नेटवर्कको सुरक्षा अवस्था र सञ्चालनसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्न अस्वीकार गरेको छ । रोयटर्सलाई दिएको प्रतिक्रियामा वायुसेनाले आफ्ना सूचना प्रणाली र सैन्य अभियान सञ्चालन क्षमताको सुरक्षाका लागि निरन्तर आवश्यक कदम चालिरहेको जनाएको छ ।

सैन्यदेखि प्रशासनिक कामसम्म एउटै प्रणालीमा निर्भरता
सन् २०१७ मा स्थापना गरिएको क्लाउड वन अमेरिकी वायुसेनाका विभिन्न सूचना प्रविधि प्रणालीलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने उद्देश्यले विकास गरिएको थियो । यसमा माइक्रोसफ्ट, अमेजन, ओराकल र अल्फाबेटजस्ता ठूला प्रविधि कम्पनीका क्लाउड स्रोतहरू समेटिएका छन् ।

यस प्लेटफर्मबाट कर्मचारी व्यवस्थापन, तलब भुक्तानी, सैन्य बन्दोबस्ती, उपकरण मर्मतसम्भारलगायत दर्जनौँ महत्वपूर्ण प्रणाली सञ्चालन हुँदै आएका छन् । त्यसैले यसमा भएको सुरक्षा उल्लङ्घनले प्रशासनिक काममा मात्र नभई सैन्य सञ्चालनसँग सम्बन्धित सूचनामा समेत जोखिम उत्पन्न गर्न सक्ने देखिएको छ ।

क्लाउड वनमा अमेरिकी वायुसेनाको क्लाउडमा आधारित ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणाली पनि सञ्चालनमा छ । यसले उत्तर अमेरिकाका विभिन्न स्थानमा रहेका हवाई रक्षा राडार तथा अन्य स्रोतबाट सूचना सङ्कलन गर्छ ।

त्यस्तै, विश्वभरका २०० भन्दा बढी अमेरिकी वायुसेना अड्डामा रहेका बम तथा क्षेप्यास्त्रको निगरानी र व्यवस्थापन गर्ने ‘थिएटर इन्टिग्रेटेड कम्ब्याट म्युनिसन्स सिस्टम’ पनि यही प्लेटफर्ममा आधारित छ ।

यसको मुख्य ठेकेदारका रूपमा पहिले एसएआईसीले काम गरेको थियो भने पछि लिडोसले जिम्मेवारी सम्हालेको थियो । घटनाबारे एसएआईसीले कुनै प्रतिक्रिया दिएको छैन । लिडोसले भने यस विषयमा अमेरिकी वायुसेनासँग जानकारी लिन आग्रह गरेको छ ।

साइबर कमाण्डलाई अनुसन्धानको जिम्मा
क्लाउड वन अमेरिकी सेनाका सबैभन्दा ठूला क्लाउड पूर्वाधारमध्ये एक भएकाले यसमा भएको घुसपैठलाई गम्भीर घटनाका रूपमा हेरिएको छ । घटनाबारे जानकारी राख्ने एक स्रोतले रोयटर्ससँग यसलाई निकै ठूलो साइबर सुरक्षा चुनौतीका रूपमा व्याख्या गरेका छन् ।

अमेरिकी सेनाको साइबर सुरक्षा निकाय ‘साइबर कमाण्ड’लाई समेत अनुसन्धानमा सहभागी गराइएको स्रोतहरूले बताएका छन् । अनुसन्धानकर्ताहरूले प्रणालीमा भएको क्षतिको दायरा र आक्रमणको प्रकृति पत्ता लगाउने प्रयास गरिरहेका छन् । यद्यपि, साइबर कमाण्डले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

स्रोतहरूका अनुसार अनधिकृत पहुँच पत्ता लागेपछि क्लाउड वनमा सञ्चालन भइरहेका केही काम रोकिएका छन् । प्रशासनिक एप्लिकेसनहरूलाई यो प्लेटफर्ममा स्थानान्तरण गर्ने दीर्घकालीन योजना तत्कालका लागि स्थगित गरिएको छ ।

पहिलेदेखि सञ्चालनमा रहेका एप्लिकेसनहरू अद्यावधिक गर्ने कामसमेत प्रभावित भएको छ । यसले नयाँ सफ्टवेयर कमजोरी सार्वजनिक हुँदा तत्काल समाधान गर्ने क्षमतामा असर पारेको छ । एक स्रोतका अनुसार केही प्रयोगकर्ताको व्यवस्थापकीय पहुँचसमेत हटाइएको छ ।

मुख्य नियन्त्रण प्रणालीसम्मै पुगेको आशंका
घटनाबारे जानकारी राख्ने एक स्रोतका अनुसार आक्रमणकारीहरूले सफ्टवेयरको कमजोरी उपयोग गर्दै क्लाउड वनको मुख्य नियन्त्रण प्रणाली अर्थात् ‘कन्ट्रोल प्लेन’ सम्म पहुँच बनाएका थिए ।

क्लाउड प्रणालीमा कन्ट्रोल प्लेनलाई सम्पूर्ण पूर्वाधार नियन्त्रण गर्ने केन्द्रीय संयन्त्रका रूपमा बुझिन्छ । स्रोतले यसलाई एउटा ‘युनिभर्सल रिमोट’ सँग तुलना गरेका छन्, जसले प्रणालीका विभिन्न गतिविधि नियन्त्रण गर्ने क्षमता राख्छ ।

यस तहसम्म पहुँच पुगेको अवस्थामा ह्याकरहरूले सैन्य विमानको सञ्चालन अवस्थादेखि आवश्यक स्पेयर पार्ट्सको ढुवानीसम्बन्धी विवरणसम्म हेर्न सक्ने सम्भावना रहन्छ । यद्यपि, यस घटनामा उनीहरूले त्यस्ता विवरणमा पहुँच बनाए वा बनाएनन् भन्ने पुष्टि भएको छैन ।

आक्रमणकारीहरूले कुन सफ्टवेयर कमजोरी प्रयोग गरेका थिए भन्ने विषय पनि अझै खुल्न सकेको छैन । रोयटर्सले समेत आक्रमणमा प्रयोग भएको प्राविधिक कमजोरी पहिचान गर्न सकेको छैन ।

अमेरिकी सरकारी निकायमा साइबर आक्रमणको दबाब
अमेरिकी वायुसेनाको यो घटनाले सरकारी तथा सैन्य पूर्वाधारको साइबर सुरक्षामाथि पुनः प्रश्न उठाएको छ । विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट साइबर आक्रमण गर्ने क्षमता विस्तार हुँदै जाँदा क्लाउड प्रणाली थप जोखिममा पर्न सक्ने चिन्ता बढेको छ ।

एआईमा आधारित मोडलहरूले नेटवर्क तथा सफ्टवेयरका कमजोरी छिटो पहिचान गर्न सक्ने भएकाले संवेदनशील क्लाउड पूर्वाधारको सुरक्षामा चुनौती थपिएको छ । अमेरिकी सरकारले पछिल्लो समय विभिन्न सरकारी तथा सुरक्षा निकायलाई लक्षित कम्तीमा अन्य ६ वटा साइबर आक्रमणको सामना गरिरहेको छ ।

ती घटनामा संघीय अनुसन्धान ब्युरो (एफबीआई) का दुई प्रणाली, पेन्टागनको तथ्याङ्क, आन्तरिक सुरक्षा विभागका कर्मचारीको विवरण, कम्तीमा दुई गुप्तचर निकाय र अर्थ मन्त्रालयका प्रणाली प्रभावित भएको विवरण सार्वजनिक भएका छन् ।

क्लाउड वन पनि यसअघि पटक–पटक ह्याकरहरूको निशानामा परेको थियो । सन् २०२३ मा अनलाइन प्रकाशन ‘फेडस्कुप’ मा प्रकाशित एक लेखमा यसका तत्कालीन नेतृत्वकर्ताहरूले प्रणालीमा घुसपैठका अनगिन्ती प्रयास असफल बनाएको दाबी गरेका थिए ।

उनीहरूले त्यसबेला सुरक्षाका मामिलामा कुनै पनि गल्ती स्वीकार्य नहुने उल्लेख गर्दै आफ्नो सुरक्षा व्यवस्थालाई शतप्रतिशत सफल भएको बताएका थिए । तर, अहिले त्यही प्रणालीमा अनधिकृत पहुँच भएको घटना सार्वजनिक भएपछि अमेरिकी वायुसेनाको डिजिटल पूर्वाधारको सुरक्षा क्षमतामाथि नयाँ बहस सुरु भएको छ ।