कीवर्डहरू -

वनपासवर्डमा साइबर आक्रमण : ग्राहकका व्यक्तिगत विवरण चोरी, पासवर्ड भल्ट भने सुरक्षित

वनपासवर्डमा साइबर आक्रमण : ग्राहकका व्यक्तिगत विवरण चोरी, पासवर्ड भल्ट भने सुरक्षित

काठमाडौं । पासवर्ड सुरक्षित राख्ने लोकप्रिय सेवा वनपासवर्ड साइबर आक्रमणको निशानामा परेको छ । आक्रमणकारीले कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएर केही ग्राहकका व्यक्तिगत विवरण र कम्पनीको स्रोत कोड चोरी गरेको पुष्टि भएको छ । यद्यपि, प्रयोगकर्ताका पासवर्ड तथा भल्टमा सुरक्षित सामाग्रीमा कुनै असर नपरेको कम्पनीले दाबी गरेको छ ।

कम्पनीले नोभेम्बर १९ मा आफ्नो एक कर्मचारीको कर्पोरेट गिटहब खातामा अनधिकृत पहुँच भएको शंका गरेपछि घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धानबाट ह्याकरले उक्त खाताको दुरुपयोग गर्दै कम्पनीको स्रोत कोडसम्म पहुँच बनाएको र ब्याकइन्ड प्रणालीमा दुर्भावनापूर्ण कोड राखेको खुलेको हो ।

यस आक्रमणबाट ग्राहकका नाम, इमेल ठेगाना, खाता सिर्जना गरिएको मिति र अन्तिम पटक लगइन गरेको समयजस्ता विवरण प्रभावित भएका छन् । साथै, प्रयोगकर्ताका सार्वजनिक कुञ्जी पनि आक्रमणकारीको हातमा पुगेका छन् । कम्पनीले स्रोत कोडसमेत चोरी भएको पुष्टि गरेपनि त्यसमा ग्राहकका व्यक्तिगत विवरण नरहेको जनाएको छ ।

वनपासवर्डका अनुसार आक्रमणकारीले प्रयोगकर्ताको भल्टमा सुरक्षित गरिएका पासवर्ड, अन्य गोप्य सामाग्री वा तिनको सुरक्षाका लागि प्रयोग हुने कुञ्जीमा पहुँच बनाउन सकेका छैनन् ।

कम्पनीले प्रयोगकर्तालाई आश्वस्त पार्दै भल्टमा रहेका सबै सामग्री र तिनलाई सुरक्षित राख्ने कुञ्जी यस घटनाबाट अप्रभावित रहेको बताएको छ । वनपासवर्डसँग प्रयोगकर्ताका वास्तविक पासवर्ड, खाता पुन:प्राप्तिका लागि आवश्यक गोप्य कुञ्जी तथा भल्ट अनलक गर्ने संवेदनशील विवरणको पहुँच नहुने भएकाले ती जानकारी चोरी हुन नसकेको कम्पनीको भनाइ छ ।

इन्ग्याजेटका अनुसार घटनाबारे जानकारी पाएलगत्तै कम्पनीले आक्रमणमा प्रयोग भएको टोकन रद्द गरेको र प्रभावित गिटहब खाता निष्क्रिय पारेको थियो । भविष्यमा यस्ता गतिविधि समयमै पत्ता लगाउन थप निगरानी प्रणालीसमेत स्थापना गरिएको कम्पनीले जनाएको छ ।

तर, पासवर्ड भल्ट सुरक्षित रहेको दाबीका बाबजुद ग्राहकका इमेल ठेगाना चोरी हुनु अर्को सुरक्षा चुनौती बन्न सक्ने देखिएको छ । साइबर अपराधीले प्राप्त इमेल ठेगानाको प्रयोग गरी वनपासवर्डकै नाममा नक्कली सन्देश पठाउन वा खाता पुन:प्राप्तिको बहाना बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने जोखिम छ ।

त्यसैले कम्पनीले प्रयोगकर्तालाई शंकास्पद इमेल, नक्कली निमन्त्रणा तथा खाता पुन:प्राप्तिका नाममा पठाइएका सन्देशप्रति विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विशेष गरी इमेलमार्फत प्राप्त हुने अनपेक्षित लिंक नखोल्न र व्यक्तिगत लगइन विवरण माग्ने सन्देशमा विश्वास नगर्न कम्पनीले सुझाव दिएको छ ।