कीवर्डहरू -

नागरिक अधिकार र डिजिटल सुरक्षाबारे धनुषाका ९० युवालाई तालिम

नागरिक अधिकार र डिजिटल सुरक्षाबारे धनुषाका ९० युवालाई तालिम

जनकपुरधाम । नागरिक अधिकारको संरक्षण, उपयोग र डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनुषाका ९० जना युवा युवतीलाई एकदिने तालिम प्रदान गरिएको छ ।

जनचेतना अभियान नेपालले ओक्सफेन नोभिबको सहयोगमा शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा तालिम आयोजना गरेको हो । धनुषा, महोत्तरी र सिरहा जिल्लामा सञ्चालित ‘भयरहित आवाज परियोजना’ अन्तर्गत युवाहरूलाई नागरिक अधिकार र डिजिटल सुरक्षाका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक सुनिल यादवले संविधान जारी भएपछि मुलुकमा राजनीतिक तथा संरचनात्मक परिवर्तन भएपनि नागरिकले आफ्ना मौलिक अधिकार र स्वतन्त्रताको पूर्ण उपयोग गर्न अझै विभिन्न चुनौती सामना गरिरहेको बताउनुभयो ।

नागरिक अधिकारबारे जानकारी अभिवृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि युवाहरूलाई सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

तालिममा सहभागी ९० जनामध्ये ३० जनाको छुट्टै समूह गठन गरी समुदायस्तरमा नागरिक अधिकारबारे सचेतना फैलाउने र अधिकारको सुनिश्चितताका लागि पैरवी गर्ने योजना रहेको यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा पर्याप्त जानकारीको अभावमा युवाहरू विभिन्न प्रकारका अनलाइन ठगी तथा साइबर जोखिममा पर्ने गरेका छन् । यस्ता जोखिम पहिचान गर्न र सुरक्षित डिजिटल अभ्यास अपनाउन युवाहरूलाई सक्षम बनाउने उद्देश्यले पनि तालिमलाई प्राथमिकता दिइएको हो ।

मानव अधिकार रक्षक, युवा अभियन्ता, पत्रकार तथा सीमान्तकृत समुदायका नागरिकले प्रशासनिक अवरोध, कानुनी जटिलता, डिजिटल असुरक्षा र भ्रामक सूचनाजस्ता समस्याको सामना गरिरहेको उल्लेख गर्दै यादवले तालिमले यस्ता चुनौतीसँग जुध्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ‘भयरहित आवाज परियोजना’ले समस्या उत्पन्न भएपछि मात्रै प्रतिक्रिया जनाउने परम्परागत अभ्यासभन्दा अघि बढेर जोखिम न्यूनीकरण, पूर्वतयारी, रोकथाम र मानव अधिकारमा आधारित रणनीतिलाई प्राथमिकता दिएको पनि बताउनुभयो ।

तालिमका प्रशिक्षक प्रविण कुमार यादवले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विभिन्न प्रकारका विकृति र नकारात्मक गतिविधि बढाइरहेको बताउनुभयो । 

सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, गलत सूचनाको पहिचान र डिजिटल सुरक्षासम्बन्धी ज्ञानले युवाहरूलाई यस्ता गतिविधि नियन्त्रण तथा न्यूनीकरणमा सकारात्मक भूमिका निर्वाह गर्न सहयोग पुग्ने उहाँको धारणा थियो ।