कीवर्डहरू -

अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने

अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताका लागि आवाजसहितका एनिमेटेड स्टिकर बनाउने र पठाउने सुविधा विस्तार गर्न थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले भिडियो, अडियो प्रभाव, गीत वा आफ्नै आवाज समावेश गरेर आकर्षक स्टिकर तयार पार्न सक्नेछन् ।

यो फिचर पहिलोपटक गत अक्टोबरमा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको थियो । त्यसबेला परीक्षणकै चरणमा रहेको यो सुविधा अहिले ह्वाट्सएपको संस्करण २.२६.४७.१ मार्फत सीमित प्रयोगकर्तामाझ उपलब्ध गराउन थालिएको हो ।

नयाँ सुविधाअनुसार प्रयोगकर्ताले स्टिकर किबोर्डमा रहेको ‘क्रिएट स्टिकर’ विकल्पबाट आफ्नो मोबाइलको ग्यालरीमा सुरक्षित भिडियो छनोट गर्न सक्नेछन् । छनोट गरिएको भिडियोलाई ह्वाट्सएपले स्वत: एनिमेटेड स्टिकरमा रूपान्तरण गर्नेछ ।

स्टिकर तयार गर्ने क्रममा सम्पादन विकल्पको माथिल्लो भागमा नयाँ अडियो बटन पनि उपलब्ध हुनेछ । यसमा थिचेर प्रयोगकर्ताले स्टिकरसँग बज्ने आवाज थप्न सक्नेछन् । भिडियोमा रेकर्ड भएको मूल ध्वनि कायम राख्नुका साथै एपमा उपलब्ध साउन्ड इफेक्ट प्रयोग गर्न, फाइल म्यानेजरबाट अडियो फाइल छनोट गर्न वा आफ्नै आवाज रेकर्ड गरेर राख्न सकिनेछ ।

यसरी तयार पारिएको स्टिकर च्याटमा पठाउँदा त्यसको छेउमा अडियो संकेत देखिनेछ । प्राप्तकर्ताले उक्त संकेतमा थिचेपछि मात्र स्टिकरसँग जोडिएको आवाज सुन्न सक्नेछन् ।

अडियो लगातार तीनपटक बजेपछि स्वत: बन्द हुने व्यवस्था गरिएको छ । गोपनीयतालाई ध्यानमा राख्दै ह्वाट्सएपले स्टिकर र त्यसमा समावेश गरिएको अडियो दुवैलाई इन्ड-टु-इन्ड इन्क्रिप्सनमार्फत सुरक्षित राखिने जनाएको छ ।

द टेलिग्राफका अनुसार यो सुविधा हाल एन्ड्रोइड बिटा कार्यक्रममा सहभागी सबै प्रयोगकर्ताले एकैपटक पाउने छैनन् । आगामी केही सातामा चरणबद्ध रूपमा थप परीक्षणकर्तामाझ विस्तार गरिने अपेक्षा गरिएको छ ।

एन्ड्रोइडसँगै आईओएस प्रयोगकर्ताका लागि पनि यो फिचर देखिन थालेको छ । टेस्टफ्लाइटमार्फत ह्वाट्सएपको परीक्षण संस्करण प्रयोग गरिरहेका केही व्यक्ति तथा एप स्टोरबाट डाउनलोड गरिएको नियमित संस्करण चलाउने सीमित प्रयोगकर्ताले समेत यो सुविधा पाउन थालेका छन् ।

यद्यपि, आवाजसहितका एनिमेटेड स्टिकर सबै प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुन्छन् भन्नेबारे कम्पनीले आधिकारिक मिति सार्वजनिक गरेको छैन ।