कीवर्डहरू -

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ : दुई घण्टाभित्र समस्या समाधान नभए ४८ घण्टा इन्टरनेट नि:शुल्क

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ : दुई घण्टाभित्र समस्या समाधान नभए ४८ घण्टा इन्टरनेट नि:शुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई केन्द्रमा राख्दै ‘ढुक्कको कनेक्सन’ सेवा तथा अभियान सुरू गरेको जनाएको छ ।

सेवाको गुणस्तर र ग्राहकप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने उद्देश्यसहित कम्पनीले ‘तुरुन्तै’, ‘फ्रि वर्ल्डलिंक वाइफाइ’ (Free WorldLink Wi-Fi) र ‘टाइम ब्याक’ (Time Back) गरी तीन प्रमुख प्रतिबद्धता सार्वजनिक गरेको हो ।

कम्पनीले अघि सारेको पहिलो प्रतिबद्धता ‘तुरुन्तै’ अन्तर्गत इन्टरनेट नचलेको गुनासो दर्ता गराएको समयदेखि दुई घण्टाभित्रै प्राविधिक समस्या समाधान गर्ने लक्ष्य राखिएको छ । तोकिएको समयभित्र समाधान हुन नसकेमा ग्राहकलाई क्षतिपूर्तिस्वरूप दुई दिनको इन्टरनेट सेवा नि:शुल्क प्रदान गरिनेछ ।

यद्यपि, यो सुविधा २०० एमबीपीएस वा सोभन्दा माथिका प्याकेज प्रयोग गर्ने ग्राहकका लागि मात्र लागू हुनेछ । साथै, वर्षाका कारण मर्मत कार्य रोकिनुपरेमा वर्षा रोकिएलगत्तै प्रक्रिया अघि बढाइने र कार्यालय समय अपराह्न ४ बजेपछि दर्ता भएका गुनासोका हकमा भोलिपल्ट बिहान ७ बजेदेखि दुई घण्टे समयसीमा लागू हुने कम्पनीले स्पष्ट पारेको छ ।

त्यसैगरी, दोस्रो प्रतिबद्धता ‘फ्रि वर्ल्डलिंक वाइफाइ’ मार्फत ग्राहकले घरबाहिर हुँदा पनि सहज रूपमा नि:शुल्क इन्टरनेट प्रयोग गर्न सक्नेछन् । अब वर्ल्डलिंकका सबै ग्राहकले ‘माई वर्ल्डलिंक’ (myWorldLink) एपबाटै एक ट्यापमा वाइफाइ हटस्पटमा जोडिन सक्ने व्यवस्था मिलाइएको छ । वर्ल्डलिंकका अनुसार यो अनलिमिटेड सेवा सबै ग्राहकले कुनै बन्देजविना प्रयोग गर्न पाउनेछन् ।

तेस्रो प्रतिबद्धता ‘टाइम ब्याक’ अन्तर्गत एकैपटक धेरै ग्राहक प्रभावित हुने गरी व्यापक रूपमा सेवा अवरुद्ध भई त्यसको अवधि तोकिएको सीमाभन्दा लामो भएमा सबै प्रभावित ग्राहकलाई क्षतिपूर्तिस्वरूप एक दिनको इन्टरनेट सेवा थप गरिनेछ ।

क्षतिपूर्ति प्राप्त गर्न ग्राहकले माई वर्ल्डलिंक एपमार्फत आफैँ ‘कम्पेन्सेसन रिक्वेस्ट’ (Compensation Request) दर्ता गर्न वा नजिकैको वर्ल्डलिंक शाखामा सम्पर्क गर्न सक्नेछन् ।

‘अब ढुक्क हुनुहोस्, तपाईंको कनेक्सनको जिम्मेवारी हाम्रो’ भन्ने मूल सन्देशसहित सुरु गरिएको यस अभियानले इन्टरनेटको गतिसँगै ग्राहक सेवा र प्राविधिक सहयोगलाई उत्तिकै प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।

कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) रविन्द्र महर्जनले यी तीन प्रतिबद्धताले घरभित्र र बाहिर दुवै ठाउँमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नुका साथै ग्राहकलाई वर्ल्डलिंक रोजेकोमा ढुक्क बनाउने विश्वास व्यक्त गरे ।

सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंकले हाल देशका ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीसँग हाल ११ लाखभन्दा बढी फाइबर (एफटीटीएच) ग्राहक र करिब ३५ प्रतिशत बजार हिस्सा रहेको छ ।