कीवर्डहरू -

बैंक खाताको पासवर्ड र इमेल कब्जामा लिएर १० लाख रूपैयाँ अर्कैको खातामा ट्रान्सफर

बैंक खाताको पासवर्ड र इमेल कब्जामा लिएर १० लाख रूपैयाँ अर्कैको खातामा ट्रान्सफर

पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ । मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, डिजिटल वालेट लगायतका डिजिटल प्रणालीबाट कारोबार हुन्छ । 

यसले मानिसको दैनिकी सहज बनाएको छ । कारोबारका लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताको अन्त्य गरेको छ । तर अनलाइन प्रणाली ह्याक गरी अवैध रूपमा रकम ट्रान्सफर गर्ने प्रवृति समेत बढ्दै गएको छ ।

यस्तै एउटा घटना सुनसरीमा भएको पाएको छ । पासवर्ड आईडी र इमेल कब्जामा लिएर १० लाख रूपैयाँ गैरकानुनी रूपमा अन्य बैंक खातामा ट्रान्सफर गरिएको छ । 

सुनसरीको इनरूवा नगरपालिका २ का वडा नं. २ का शिव नन्दन मेहता र उनकी आमा रूसनीदेवी मेहताको बैंक खाता ह्याक गरी १० लाख रूपैयाँ अर्कै खातामा ट्रान्सफर भएको छ ।

शिव नन्दन मेहताको सानिमा बैंक इनरूवा शाखामा रहेको बैंक खाताबाट माघ १० गते बुधबार बिहान सवा दश बजे ९ लाख रूपैयाँ र रूसनीदेवी मेहताको लुम्बिनी विकास बैंक इनरूवा शाखामा रहेको बैंक खाताबाट माघ ९ गते मंगलबार दिउँसो सवा एकबजे १ लाख १० हजार बैंक खाता ह्याक गरी अनलाइन माध्यमबाट अन्य बैंकमा गैरकानुनी रूपमा रकम ट्रान्सफर भएको हो । 

ह्याक गरिएको ९ लाख रूपैयाँ एनआईसी एसिया बैंक बुद्ध चोक शाखामा रहेको खातावाहक पराश्वर थापा क्षेत्रीको खातामा रकमान्तर गरिएको छ भने १ लाख रूपैयाँ सिद्धार्थ बैंक कपन शाखामा रहेको खाता वाहक अफसोर सफ्ट टेक प्रालिको खातामा रकम ट्रान्सफर गरिएको छ । 

शिव नन्दन मेहताको खाताबाट ९ लाख रूपैयाँ र उनकी आमाको खाताबाट १ लाख १० हजार नगद काटिएको म्यासेज आएपछि सम्बन्धित बैंकमा बुझ्दा बैंकले पासवर्ड आईडी र इमेल सिस्टम ह्याक गरी रकम ट्रान्सफर भएको जानकारी दिएको थियो ।

सानिमा र एनआईसी बैंकमा जानकारी गराउँदा पनि रकम होल्ड नभएको पीडीतको गुनासो छ । 

बैंक खाता ह्याक गरी १० लाख रूपैयाँ अन्य बैंकमा ट्रान्सफर भएको विषयमा पीडीतले माघ ११ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएका थिए । तर जाहेरी दिएको ३ दिन हुँदा पनि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन् । यस बारे पीडीतले राष्ट्र बैंकमा समेत जानकारी गराइसकेका छन् ।