कीवर्डहरू -

क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एपको जानकारी दिन प्राधिकरणको अनुरोध 

क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एपको जानकारी दिन प्राधिकरणको अनुरोध 

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवासँग सम्बन्धित वेबसाइट तथा एपको जानकारी दिन अनुरोध गरेको छ ।

प्राधिकरणले सोमबार एक सूचना प्रकाशित गर्दै क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवा नेपालमा अवैध रहेको र त्यससँग सम्बन्धित कुनै वेबसाइट, एप तथा सामाजिक सञ्जाल भए जानकारी दिन अनुरोध गरेको हो ।

उक्त सूचनामा भनिएको छ, ‘नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप र अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल तथा कालो सूचीमा राख्न आवश्यक देखिएकोले वेबसाइट, एप वा अनलाइन सञ्जालको नाम वा सोसँग सम्बन्धित कुनै जानकारी उपलब्ध छ भने प्राधिकरणको तल उल्लेखित इमेल ठेगानामा जानकारी गराउन सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

अनलाइन प्रविधि तथा भर्चुअल माध्यमहरुबाट हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित गतिविधिहरु गैरकानूनी तथा अपराधजन्य क्रियाकलाप भएकोले यस प्रकारका कार्यहरु नगर्न तथा नगराउन समेत प्राधिकरणले सबैलाई जानकारी गराएको छ ।

साथै कसैले यस्ता क्रियाकलापहरु गरेको वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी प्राधिकरणले दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत फागुन ३० गते सबै इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै अनलाइनबाट हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका साइट तथा एपमाथि रोक लगाउन निर्देशन पनि दिएको थियो ।