कीवर्डहरू -

५३ खर्बमा एलन मस्कले खरिद गरे ट्वीटर, कस्तो होला परिवर्तन ?

५३ खर्बमा एलन मस्कले खरिद गरे ट्वीटर, कस्तो होला परिवर्तन ?

विश्वकै धनी व्यक्ति एलन मस्कले लोकप्रिय सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् । ४४ बिलियन डलर अर्थात ५३ खर्ब ८९ अर्ब रूपैयाँमा ट्वीटर खरिद गर्ने सम्झौता भएको हो ।

१४ अप्रिलमा मस्कले ट्वीटरको पूरै स्वामित्व खरिद गर्ने प्रस्ताव राखेका थिए । उनको उक्त अफर अहिले ट्विटरको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

यसका लागि उनले विभिन्न सेयरहोल्डरसँग बेग्लाबेग्लै छलफल पनि थिए र अफर छिटै स्वीकृत हुनका लागि विभिन्न भिडियो कलहरु प्नि सेयरहोल्डरसँग गरेका थिए ।

विभिन्न नव प्रविधिहरुमा लाखौँ लगानी गर्ने एलन मस्कले किन अचानक एक सामाजिक सञ्जाल खरिद गर्ने विचार गरे त ? यो लेखमा सोही कारण खोतल्ने प्रयास गर्दैछौं ।

मस्कले किन खरिद गरे ट्वीटर ?

एलन मस्कले पहिले देखि नै स्वतन्त्र अभिव्यक्तिको वकालत गर्दै आएका थिए । उनले ट्वीटरलाई डिजिटल टाउन स्क्वायर मान्ने गर्दछन्, जहाँ मानवताको भविष्यका विषयहरु छलफल हुने गर्दछ । मानिसको विकास र समोन्नतीको कुरा गर्ने सामाजिक सञ्जालले पक्कै पनि राम्रो प्रभाव पार्छ भन्ने उनको विश्वास रहेको छ ।

उनले ट्वीटरलाई पहिलेको भन्दा परिमार्जित गर्ने अवधारणा पनि अगाडि सारेका छन् र यसका लागि उनले एपमा नयाँ नयाँ फिचरहरु ल्याउने बताएका छन् ।

मस्कका अनुसार ट्वीटर एक प्राइभेट कम्पनी नभएसम्म अगाडि पनि बढ्न सक्दैन र चाहे जस्तो सेवा दिन पनि सक्दैन । त्यस कारण पनि उनले कम्पनी खरिद गर्ने विचार गरेका हुन् ।

ट्वीटरसँग असिमित क्षमता रहेको र एक महत्वपूर्ण सामाजिक सञ्जालको रुपमा स्थापित गरिसकेको एपसँग मिलेर काम गर्ने मौका पाएका कारण आफू निकै खुशी रहेको पनि उनले बताएका छन् ।

ट्वीटरलाई पैसा कमाउने बाटो भन्दा पनि अभिव्यक्ति स्वतन्त्रता बचाउने प्लेटफर्मका रूपमा विकास गर्ने मस्क बताउँछन् ।

ट्वीटरले उनको प्रस्ताव स्वीकार नगरेको भए उनले अभिव्यक्ति स्वतन्त्रताका लागि आफ्नै नयाँ सामाजिक सञ्जाल खोल्ने योजना बनाएका थिए ।

ट्वीटरमा कस्तो परिवर्तन आउँला ?

एलन मस्कले ट्वीटरको अल्गोरिदम ओपन सोर्स हुनुपर्ने बताएका छन् । कानूनले नबाधिँकन बोल्न पाउने प्लेटफर्म हुन ट्वीटरको अल्गारिदम ओपन सोर्स हुनुपर्ने एलनको तर्क छ ।

आफ्नो ट्वीटहरुलाई एपले कुन प्रकारले सञ्चालन गरिरहेको छ भनेर थाहा पाउन अल्गारिदममा रहेको कोड जिट हबमा उपलब्ध रहनुपर्ने उनको भनाइ छ । यसले गर्दा कोडहरुको विश्लेषण प्रयोगकर्ताहरुले आफै गर्न पाउने छन् ।

मस्कको विचारमा कन्टेन्ट मोर्डेसन पनि धेरै गरिनु हुँदैन् र मान्छेको अभिव्यक्ति स्वतन्त्रतालाई एपले हनन गर्नु हुँदैन् । स्थायी रुपमा कसैको पनि अकाउन्टलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइदिने काम पनि गर्नुहुँदैन् भन्ने मस्कको धारणा रहेको छ । मस्कले स्पाम बोट हटाउनका निम्ति पनि काम गर्ने बताएका छन् ।

ओपन सोर्स एप भएपछि प्रयोगकर्ताको गोपनीयता सुरक्षामा पनि यसले ठूलो योगदान पुर्याउने छ । मस्कले सामाजिक सञ्जाल खरिद गर्नु लगत्तै बिहान ट्वीटहरु जिटहब रिपोजटरीमा आईसकेको थियो, जुन अहिले हटाइएको छ ।

त्यस्तै ट्विटरमा अब एडिट फिचर उपलब्ध हुने भएको छ । केही समय अघि मात्रै ट्विटरको ९.२ प्रतिशत शेयर खरिद गरेपछि मस्कले ट्विटरमा के तपाई एडिट बटन चाहनुहुन्छ ? भन्दै पोल बनाएका थिए ।

अब सामाजिक सञ्जालनै खरिद गरेपछि पक्कै पनि यो फिचर चाँडै नै सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ ।  त्यसो त ट्विटरले यसअघि नै गत वर्षदेखि नै एडिट फिचरमा ट्विटरले काम गरिरहेको जनाएको थियो ।

सब्सिक्रिप्सन मोडेलमा जाने

अहिलेसम्म ट्वीटरको करिब ९० प्रतिशत आम्दानी सबै विज्ञापनबाट आउने गर्दथ्यो तर कम्पनीले विज्ञापनदाता पाउन भने समस्या भोगिरहेको थियो ।

अब कम्पनी प्राईभेट भएपछि सेयरहोल्डरहरुले विज्ञापन ल्याउनलाई दवाव दिने छैनन् । मस्कले अबको आम्दानी सब्सिक्रिप्सन मोडेलबाट गर्नुपर्ने धारणा राखेका छन् ।

ट्वीटरले गत वर्ष ट्वीटर ब्लु भन्ने प्रिमियम सेवा सार्वजनिक गरेर यस क्षेत्रमा केही हदसम्म काम गरिसकेको छ । मस्कले त्यो प्रिमियम सेवालाई अझै सस्तो बनाएर भुक्तानी डोजक्वाइनबाट पनि गर्न मिल्ने व्यवस्था बनाउनुपर्ने बताएका छन् ।

के अब ट्रम्पले पुनः एपमा मौका पाउँलान ?

ट्वीटरले डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरेको थियो । ट्रम्पले यसअघि हिंसा भड्काउने काम गरेपछि ट्रम्पको अकाउन्ट स्थायी रुपमा बन्द गर्ने निर्णय लिइएको थियो ।

तर अब मस्क आएपछि ट्रम्प पनि एपमा आउन पाउँला त ? भन्ने प्रश्न उब्जिएकोछ । ट्रम्पलाई यस विषयमा सोध्दा मस्कले ट्वीटर खरिद गरेकोमा उनी एकदमै खुसी रहेको बताएका छन् तर उनी एपमा नफर्किने र आफ्नै सामाजिक सञ्जालमा ध्यान दिने बताएका छन् । यस बारे मस्कले कस्तो निर्णय गर्नेछन् त्यस सम्बन्धमा भने उनले कुनै जानकारी दिएका छैनन्।