कीवर्डहरू -

चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण

चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ का लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउने भएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले इच्छुक फर्महरूलाई आवेदन दिन आग्रह गरेको हो ।

इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर सेक्युरिटी फर्मले आवश्यक डकुमेन्टसहित आवेदन पेश गर्न सक्ने छन् । आवेदन प्राधिकरणको कार्यालय बुझाउन वा [email protected] मा पनि इमेल गर्न सकिने छ ।

आवेदन दिनका लागि साइबर सुरक्षा विनियमावली २०७७ मा तोकिएको योग्यता पूरा गरेको हुनुपर्नेछ । आवेदन दिने फर्मले सम्बन्धित देशमा दर्ता भएको, भ्याट/प्यानमा दर्ता भएको र कर चुक्ता गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तै विदेशी फर्मले गत ३ वर्षमा वार्षिक ५ मिलियन अमेरिकी डलर आम्दानी गरेको हुनुपर्ने र नेपाली कम्पनीले ३० लाख रूपैयाँ वार्षिक आम्दानी गरेको हुनुपर्नेछ । साथै गत ३ वर्षको वित्तिय अडिट प्रतिवेदन पनि पेश गर्नुपर्नेछ ।

फर्म कम्तिमा पनि ३ वर्ष आईसिटी कम्पनीको रूपमा दर्ता भएको र २ वर्ष साइबर सुरक्षाको क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । आवेदन दिने फर्मले २ वर्षमा कम्तिमा ३ वटा परियोजना सम्पन्न गरेको हुनुपर्नेछ । फर्ममा काम गर्ने कम्तिमा ३ जना विशेषज्ञ हुनुपर्नेछ, जोसँग साइबर सेक्युरिटीसँग सम्बन्धित प्रमाणपत्रहरू समेत हुनुपर्नेछ ।

त्यसपछि आवेदकका कागजात अध्ययन गरेर प्राधिकरणले सूची सार्वजनिक गर्नेछ । उक्त सूचीमा परेका कुनै अडिटर फर्मबाट मोबाइल सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक लगायत दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएका दूर सञ्चार सेवा प्रदायकले आफ्नो कम्पनीको साइबर अडिट गर्नुपर्नेछ ।