कीवर्डहरू -

१५ दिनपछि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन नचल्ने, यस्तो छ दर्ता गर्ने तरिका

१५ दिनपछि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन नचल्ने, यस्तो छ दर्ता गर्ने तरिका

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा १५ दिनभित्र आफ्नो फोन दर्ता गर्न आग्रह गरेको छ । 

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै नेपालको दूरसञ्चार सेवा प्रदायकहरूको नेटवर्कमा आवद्ध भई दर्ता नभएका मोबाईल ह्यान्डसेटहरू विधिपूर्वक १५ दिन भित्र एमडीएमएस प्रणालीमा दर्ता गराउनु आग्रह गरेको हो ।

यदि १५ दिन भित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाईल ह्यान्डसेटहरूमा नियमानुसार मोबाईलमा दूरसञ्चार सेवा अवरुद्ध हुने चेतावनी प्राधिकरणले दिएको छ । 

सरकारले आर्थिक विधेयकमार्फत गत जेठ १५ गतेसम्म नेपालमा आएका तर एमडीएमएसमा दर्ता नभएका मोबाइललाई एकमुस्ट शुल्क तिरेर असारसम्म दर्ता गर्ने अन्तिम समय दिएको थियो । तर उक्त समयमा थोरै मात्रै मोबाइल फोन एमडीएमएसमा दर्ता भएपछि प्राधिकरणले सो समय लम्ब्याएको थियो । फेरि पनि प्राधिकरणले १५ दिनको समय दिएको छ । 

विधेयकमा एक लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका लागि लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफोन बाहेकका मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको थियो । उक्त शुल्क अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरिएको छ । 

तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधी विदेशमा बसी फर्केका नेपाली नागरिकले सोको प्रमाण पेश गरेमा त्यस्ता व्यक्तिले २ थान सेलुलर मोबाइल फोन प्रणालीमा निःशुल्क दर्ता गर्न सक्ने छन् ।

आर्थिक विधेयक २०८० को दफा २४ अनुसार शुल्क तिरेर ग्रे डेटाबेसमा भएका मोबाइललाई मात्रै दर्ता गर्न सकिने छ । पैसा तिरेर ग्रे लिस्टमा भएको फोन दर्ता गर्न कम्तिमा पनि एउटा आईएमईआई नम्बर उक्त सूचीमा हुनुपर्नेछ ।

एमडीएमएसमा कसरी गर्ने दर्ता ?

आर्थिक विधेयक २०८० को दफा २४ ले २०७९ भाद्र ३० देखि २०८० जेष्ठ १५ सम्म नेपालमा सञ्चालनमा आएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलहरूलाई तोकिएको राजश्व तिरी उक्त मोबाईलहरू दर्ता गर्न सकिने व्यवस्था गरेको छ । राजश्व अनलाईननै तिर्न सकिने छ ।

ग्रे मोबाल दर्ताका लागि सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यहाँ आफ्नो मोबाइलको आईएमईआई लगायत अन्य आवश्यक व्यक्तिगत विवरण भरीसकेपछि तिर्नुपर्ने राजश्व स्वतः प्रणालीले नै देखाउछँ।

भुक्तानीका लागि कनेक्ट आईपीएस छनौट पश्चातः देखिने क्युआर कोडलाई स्क्यान गरी कुनै भुक्तानी सेवाप्रदायकको एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सकिनेछ। भुक्तानी सफल भएको एक घण्टा भित्र उक्त मोबाइल दर्ता हुनेछ ।

आफ्नो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ/छैन कसरी चेक गर्ने ?

सुरूमा नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टल mdms.nta.gov.np मा गई बायाँ तर्फको ‘आफ्नो मोबाईलको आईएमईआई एमडीएमएसमा दर्ता भए/नभएको हेर्नुहोस’ भन्ने बक्समा आफ्नो मोबाईलको आईएमईआई नम्बर प्रविष्ट गरी उक्त मोबाइल दर्ता भए नभएको जाँच गर्न सकिन्छ ।