कीवर्डहरू -

नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले केयूमा २ दिने ‘आविष्कार २४’ आयोजना हुँदै

नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले केयूमा २ दिने ‘आविष्कार २४’ आयोजना हुँदै

काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब (KURC) ले रोबोटिक्स क्षेत्रमा भएका नयाँ प्रगतिहरूबारे विद्यार्थी र पेशाकर्मीहरूका बीचमा नवप्रवर्तनलाई बढावा दिने उद्देश्य दुई दिने कार्यक्रम ‘आविष्कार २४’ आयोजना गर्ने भएको छ । 

आगामी मार्च १२ र १३ मा काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेल काभ्रेमा आविष्कार २०२४ आयोजना हुनेछ । यसमा ३ सय बढी उत्साही प्रतियोगी, ४० बढी नवीन परियोजना प्रदर्शन, ३० भन्दा बढी विद्यालय र कलेजका प्रतिनिधि ४ हजार बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

आविष्कार २०२४ मा एक्वाबट, आईडियसन, हार्डवेयर ह्याकाथन, प्रोजेक्ट पदर्शनी, रोबो रेस र इन्नोभेसन नेक्सस जस्ता कार्यक्रम हुनेछन् । कार्यक्रम रोबोटिक्सको भविष्यप्रति रुचि राख्ने जो कोहीका आकर्षक हुने विश्वास गरिएको छ । 

null

एक्वाबट सरसफाइ रोबोट प्रतियोगिता हो । यस प्रतियोगिताको मुख्य उद्देश्य ताल वा खोला जस्ता जलाशयमा रहेको फोहोर सफा गर्नु हो । यस प्रतियोगितामा सहभागी हुने रोबोटले पानीको सतहबाट फोहोर निकालेर फाल्नुपर्ने हुन्छ ।

यस्तै आईडियसन, आइडियामा आधारित प्रतियोगिता हो । यसले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई एउटा टेबलमा ल्याई आपसी छलफलबाट समाधान समाधानको मस्यौदा तयार गर्नेछ । यो कार्यक्रम विभिन्न समस्याहरुमाथि छलफल गरी निर्णय लिन छलफलमा सहभागीहरुलाई मार्गदर्शन गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

यसैगरी हार्डवेयर ह्याकाथनमा सहभागीले सकेसम्म चाँडो पूर्ण रूपमा नयाँ र अद्वितीय कुराहरू सिर्जना गर्ने प्रयास गर्ने छन् भने प्रोजेक्ट प्रदर्शनीमा विभिन्न प्रोजेक्टहरू राखिने छ । सहभागीहरूले आफ्ना परियोजनाहरू निर्णायक र दर्शकका अगाडि प्रदर्शन गर्नुपर्नेछ र निर्णायक तथा अवलोकनकर्ता दर्शकको मतबाट विजेता चयन गरिने छ ।

कार्यक्रममा हुने रोबो रेसमा वायरलेस रोबोटहरूबीच प्रतिस्पर्धा हुनेछ, जहाँ अवरोधहरू भएको ट्रयाकमा रोबोटहरु दौडिने छन् । अवरोधहरुमा भूलभुलैया, झोलुङ्गे पुल, बालुवा, डाँडा, खोल्सा लगायत हुनेछन् । अधिकतम् अंकसहित ट्रयाक दौड पुरा गर्ने शीर्ष ६ वटा रोबोट अन्तिम दौडका लागि योग्य हुनेछ भने अन्तिम दौडमा सर्वाधिक अंक प्राप्त गर्ने रोबोटलाई विजेता घोषणा गरिने छ ।

null

काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब आविष्कार २०२४ आयोजना गर्नुअगाडि विभिन्न कार्यशाला, फोटोग्राफी तथा गेमिङ प्रतियोगिता, नयाँ प्रविधिको बारे लेक्चर शृखलाहरू गर्ने जनाएको छ । 

आविष्कार २४ मा केयुआरसीले आफ्नो वार्षिक पत्रिका सोचको पनि विमोचन गर्ने छ । उक्त पत्रिकामा रोबोटिक्स टेक्नोलोजीमा भएका नवीनतम् विकास तथा केयुआरसी सदस्यहरूका कामलाई प्रष्ट्याईएको हुने छ ।

आविष्कार २४ एउटा कार्यक्रम मात्र नभएर परिवर्तनका लागि उत्प्रेरक, एउटै सोच भएका व्यक्तिहरूसँग जोडिने र भविष्यमा योगदान गर्ने अवसर भएको बताइएको छ ।