कीवर्डहरू -

‘एआईको युग सुरू भएको छ, कार्यान्वयनको खाँचो छ’

‘एआईले नेपालको डिजिटल भविष्यको सपना पूरा गरिदिन सक्छ’

‘एआईको युग सुरू भएको छ, कार्यान्वयनको खाँचो छ’
पराग श्रेष्ठ

च्याटजीपीटी सार्वजनिक भएपछि विश्वभर आर्टिफिसयल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम बौद्धिकताको चर्चा व्यापक भइरहेको छ । नेपालमा पनि एआईको चर्चा हुन थालेको छ । पछिल्लो समय हरेक क्षेत्रलाई नै एआईले असर गर्न थालेको छ ।

डिजिटल प्रविधि प्रयोग गर्ने युवा पुस्ताहरूले कतै न कतै एआईको प्रयोग गरिरहेका छन् । अबको दिनमा एआई प्रविधि हाम्रो दैनिकीसँगै जोडिनेवाला छ ।

यसै सन्दर्भमा विगत एक दशकदेखि एआईको क्षेत्रमा काम गरिरहेको नेपाली कम्पनी फ्युजमसिन्सका दक्षिण एशिया प्रबन्ध निर्देशक पराग श्रेष्ठ सँग एआईका विविध विषयमा आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः


एआई भनेको के हो ? यसले कसरी काम गर्छ ?

एआई भनेको आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) हो । कुरा सुरू गरौं इन्टेलिजेन्सबाट । हरेक जीवित वस्तुमा इन्टेलिजेन्स हुन्छ । जनावरमा पनि हुन्छ । प्रकृतिमा पनि हुन्छ । हामी कसरी कुराकानी गर्छौं ? कसरी ज्ञान लिन्छौं ? कसरी अनुभूति गर्छौं ? कसरी देख्छौं ? यो सबै कुरालाई लिएर हाम्रो बौद्धिकता विकास भएको हुन्छ ।

आर्टिफिसियल तरिकाले मसिनलाई दिने इन्टेलिजेन्सलाई आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ । सबैले बुझ्ने गरीभन्दा, एआई भनेको हाम्रो इन्टेलिजेन्सलाई मसिनमा दिने प्रक्रिया हो ।

विश्वमा एआई प्रविधिको क्षेत्रमा कस्ता-कस्ता विकास भएका छन् ?

अहिलेसम्म एआईको क्षेत्रमा धेरै विकास भएको छ । हामी धेरैले स्मार्टफोन चलाउँछौं, इन्टरनेटमा हुन्छौं । त्यस हिसाबले एआईसँग एकतर्फि अन्तर्क्रिया गरिसकेका छौं ।

टिकटक, फेसबुकमा स्क्रोल गरिरहेको बेला कुनै राम्रो लागेको विषयवस्तु बारे पढ्नु भयो वा हेर्नु भयो भने तपाईलाई अरू दिन पनि त्यस्तै किसिमका सामग्रीहरू आउँछन् । त्यो सबै एआईले गर्छ ।

केही समय अगाडिसम्म एआईलाई गाह्रो विषयवस्तुका रूपमा लिइन्थ्यो । तर च्याटजीपीटी सार्वजनिक भएपछि यसलाई फरक रूपमा बुझ्न थालियो ।

अर्को चरणको एआई विकास गर्न यसले धेरै सहयोग गर्नेछ । एआईसँग धेरै अन्तर्क्रिया गर्न थाल्यौ भने त्यसको प्रयोग पनि बढ्दै जान्छ । त्यसले धेरै प्रभाव पनि ल्याउनेवाला छ ।

एआई प्रविधिमा नेपाल कहाँ छ ? विश्व विकासभन्दा कति पछाडि छौं ?

त्यो हिसाबले बेञ्चमार्क गर्दा हामीले भर्खर सुरू गरेका छौं । तर अवयेरनेस राम्रो छ । कुनै पनि प्रविधिलाई आत्मसात गर्न सुरूमा त्यसको जानकारी, ज्ञान र चेतना चाहिन्छ । अवयेरनेसको स्तरमा नेपाल धेरै अगाडि छ।

नेपालमा फ्युजमेसिनले एआईको क्षेत्रमा काम गरिरहेको एक दशक भइसकेको छ । सांस्कृतिक रूपमा नेपालीहरूमा उत्सुकता बढी छ । च्याटजीपीटी आउँदा प्रयोगकर्ताको हिसाबले नेपाल दोस्रो नम्बरमा थियो । त्यसले नेपालीको उत्सकुता देखाउँछ ।

\"\"

अब नेपाल एआई प्रविधिमा जान धेरै बाधा हुँदैन जस्तो लाग्छ । किनकी युवा पुस्ता एआई बारे अवगत छन् । पूर्वाधारमा काम गर्नुपर्नेछ ।

एआईको विकास र प्रयोगमा सरकारको तयारी कस्तो देख्नु भएको छ ?

मेरो अनुभवमा सरकारी स्तरमा पनि एआईको अवयेरनेस राम्रो छ । राजनैतिक नेतृत्व, कर्मचारीलगायतलाई भेट्दा एआई भनेको के हो ? भनेर सोध्नु भएको छैन । अब एआई आउँदै छ, हामी के गर्नुपर्छ भनेर भन्नुहुन्छ ।

नेतृत्वको र सरकारी स्तरमा एआई प्रविधिको अवयेरनेस आउँदै छ । केही योजना पनि तयार भएका छन् । डिजिटल नेपाल फ्रेमवर्क जस्तो एउटा राम्रो योजना छ । फ्रेमवर्कको बारेमा सुनेको धेरै समय भइसकेको छ, अब कार्यान्वयनमा जानुपर्छ ।

डिजिटल नेपाल फ्रेमवर्कले एआईलाई कत्तिको समेटेको छ ?

फ्रमेवर्कमा पनि एआईका धेरै तत्वहरू छन् । होलिस्टिक रूपमा सोचेर फ्रेमवर्क बनाइएको छ । फ्रेमवर्क, नीति भनेको स्थायी होइनन् परिमार्जन गर्न सकिन्छ र गरिरहनु पर्छ । तर एउटा बेसलाइन बनाउन जरुरी छ । फ्रेमवर्क
राम्रो बेसलाइन हो ।

एआईले कुन-कुन क्षेत्रलाई असर गरिरहेको छ ? कुन कुन क्षेत्रलाई असर गर्ने छ ?

अब हरेक क्षेत्रमा एआईको प्रयोग हुनेवाला छ । हरेक क्षेत्रमा डेटामा उत्पादन भइरहेको छ । जहाँ-जहाँ डेटा उत्पादन हुन्छ, त्यहाँ त्यहाँ एआईको प्रयोग हुन्छ ।

नेपालमा शिक्षा, कृषि, स्वास्थ्य, वित्तीय क्षेत्र एआई प्रयोगका लागि तयारी अवस्थामा छन् । तर त्यसका लागि पूर्वाधार र डेटाको काम बाँकी नै छ । यी क्षेत्रमा एआईको प्रयोग भयो भने फाइदा लिन सकिन्छ ।

एआईको विकासका लागि सरकारले के के गर्नुपर्ला ? राज्यले एआईलाई कसरी प्रयोग गर्न सक्छ ?

एआईको विकासका तपाई, हामी सबैको भूमिका उत्तिकै छ । अबको भविष्य प्रविधिमा छ । नेपालमा एआईको विकासका लागि सरकारले ग्राउण्ड लेभलमा गएर काम गर्नु पर्दैन् । अन्य देशको हेरे पुग्छ । कुनै ठूलो रकेट साइन्स छैन् । विकसित देशमा भएका एआई सम्बन्धि नीतिहरूबाट प्रेरित भएर बनाउन सक्छौं ।

चीनमा एउटा भनाइ छ, विकास र प्रगति ल्याउने हो भने बाटो बनाउनुपर्छ । बाटो भनेको आधारभूत ढाँचा हो, जसले सबैलाई सहभागी गर्न दिन्छ । बाटो भयो भने कनेक्टिभिटी पुग्छ, उत्पादनको बजारीकरण गर्न सकिन्छ । अर्थतन्त्रलाई चलायमान गराउन पनि बाटो चाहिन्छ ।

डिजिटल प्रविधिको बाटो भनेको इन्टरनेट हो । त्यो बाटोमा चल्ने गाडी भनेको डिभाइसहरू हो । बाटो नै छैन भने त सुरू कसरी गर्ने ? त्यसकारण एआईको विकासका लागि सुरूमा सरकारले इन्टरनेट गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ । राज्यले डिभाइसहरूमा सहजीकरण गर्नुपर्छ ।

रिफ्रबिस डिभाइस पनि प्रयोग गर्न सकिन्छ । काम त हुन्छ, हामीलाई मर्सिडिज बेञ्च नै चाहिएको होइन, सामान्य गाडी भए पनि पुग्छ । त्यसपछि इन्नोभेसन हुन्छ । यसका लागि निजी क्षेत्रले समेत सरकारलाई सहयोग गर्नुपर्छ ।

एआई प्रविधिको विकासका लागि निजी क्षेत्रहरूले कसरी काम गरिरहेका छन् ?

कुनै पनि चीज राष्ट्रकै स्तरमा गर्ने हो भने धेरै चरणहरू हुन्छ । घर बनाउन पनि सुरूमा जग बनाउनु पर्‍यो । त्यसपछि तला थप्नु पर्‍यो । एआईको जग भनेको ज्ञान, अवयेरनेस हो । अवेयरनेसपछि विज्ञता हो ।

विज्ञताका लागि एआई पढाउनु पर्‍यो । विज्ञता भएपछि मात्रै एआई बनाउन थाल्छौं । गाडी चलाउन अघि सिक्नु त पर्छ । त्यसको काम निजी क्षेत्रले गरिरहेको छ ।

प्राविधिक विज्ञता दिने, इन्नोभेसन गरेर सेवा र वस्तु बनाउने तथा सरकारसँग सहकार्य गरेर बलियो बनाउने काम निजी क्षेत्रले गरिरहेको छ । अझै यसमा धेरै गर्नु पनि जरूरी छ ।

विश्वका ठूला-ठूला कम्पनीले एआई प्रयोग गर्न थालेपछि केही कर्मचारीहरू कटोती पनि गर्न सुरू गरेका छन् । यसको असर निकट भविष्यमा  नेपालमा कस्तो देखिएला ?

भविष्यमा अनुमान लगाउनु गाह्रो छ । मेरो विचारमा एआईको भविष्य थाहा छैन । अनुमान गर्ने प्रयास पनि गर्दिन। मानव जातिको इतिहासमा धेरै रूपान्तरण भएको छ । जंगलबाट यहाँसम्म आउँदा आमुल रूपान्तरण भएको छ । त्यसैअनुसार प्रविधि पनि गतिशिल छ ।

\"\"

मानिसको सहजताका लागि प्रविधिको विकास गरिएको हो । तर प्रविधिको सदुपयोग गर्ने की दूरूपयोग गर्ने, त्यो त हाम्रै हातमा छ । न्युक्लियर प्रविधि एउटा उत्कृष्ट प्रविधि हो । त्यसको सही प्रयोग गरेको भए वातावरणीय इस्यु यति ठूलो हुने थिएन । तर, गएर एटम बम बन्यो ।

अल्टिमेट्ली प्रविधि भनेको मानवीय प्रकृतिसँग जोडिएको छ । हामी जहिले पनि प्रगति गर्छौं । यसलाई कुन हिसाबमा लैजाने भन्ने कुरा भर पर्छ ।

एआईको प्रयोग धेरै ठाउँमा गर्न सकिन्छ । त्यसले जनताको जीवन सजिलो बनाउनु पर्‍यो । हरेक नयाँ प्रविधि आउँदा जब डिस्प्लेसमेन्ट भएकै छ । कृषिबाट औद्योगिक क्रान्तिमा आउँदा सबैले अब जब जाने भयो भनेर सोचेका थियौं । तर त्यो भएन ।

उद्योगमा आउँदा धेरै नयाँ प्रकृतिका जबहरू सिर्जना भए । एआईले कतिपय जब खान सक्छ । किनभने मानिसको भन्दा कतिपय काम मसिनले राम्रो गर्छ । मसिनले राम्रो गर्ने काम मसिनलाई दिएर उच्चस्तरको काम मानवले गर्दै जानुपर्छ । त्यसकारण मानिसले अब आफूलाई लगातार ‘अप स्केलिङ’ गर्दै अगाडि बढ्नुपर्छ ।

एआईले काम गर्न थाले पनि मान्छेको इन्पुट नचाहिने भन्ने होइन । त्यो सिस्टम व्यवस्थापन गर्न पनि मान्छे चाहिन्छ ।

अहिलेसम्म काम गरेर मात्रै जीवन बितारहेका छौं । काम गर्‍यो गर्‍यो अवकाश लियो, सकियो । भविष्यमा युनिभर्सनल बेसिक इनकमको कुरा आइरहेको छ । यसमा आधारभूत आवश्यकता पूर्तिका लागि राज्यले पैसा दिन्छ । ‍आधारभूत आवश्यकताभन्दा अरू सुविधा चाहियो भने काम गरेर जोहो गर्नुपर्छ ।

अहिले हप्तामा ४ दिन काम गर्ने र ३ दिन छुट्टी हुने अवधारणाको परीक्षण भइरहेको छ । किनभने मसिन गर्दा मानवले त्यत्ति काम गर्नु परेन । थोरै काम गरेर धेरै पैसा पाएर राम्रो जीवन बिताउन सकियो । त्यो भएपछि सबैलाई राम्रो भयो । रोजगारी गुम्नेभन्दा पनि एआईको उत्पादकत्व (प्रडक्टिभिटी)ले हामीलाई फाइदा हुन्छ भनेर सोच्नु पर्‍यो । हामीले धेरै समय पाउँछौं ।

त्यो समय अरू काममा खर्च गर्न सकिन्छ । हामी अझै उत्कृष्ट जीवन जिउन पाउँछौं जस्तो मलाई लाग्छ । त्यो भनेको मान्छेको इन्पुट नचाहिने भनेको होइन् । त्यो सिस्टम व्यवस्थापन गर्न पनि मान्छे चाहिन्छ । एआईले डेटा इन्ट्री, रेकर्ड राख्नेजस्ता रोजगारी खान सक्छ । त्यस्ता काम एआईले राम्रोसँग गर्न सक्छ । त्यसमा थोरै थोरै मान्छे चाहिन्छ ।

त्यसो भए मानिसले आफूलाई अपस्केलिङ कसरी गर्ने ?

सुरूमा विश्व कतातिर गइरहेको छ र कतातिर जाँदै छ भन्ने कुरा बुझ्नुपर्छ । हरेक क्षेत्रमा प्रविधिले उथलपुथल ल्याउँदै छ । अब हरेकले प्रविधि के हो ? भनेर जान्न आवश्यक छ ।

नयाँ नयाँ प्रविधि सिक्न कलेज नै जानु पर्छ भन्ने छैन। अनलाइनबाट सिक्न सकिन्छ । सिक्नलाई पैसा तिर्नु पर्छ भन्ने छैन। धेरै कुरा निःशुल्क नै सिक्न सकिन्छ । प्रोग्रामिङ, डेटा साइन्स, एआईजस्ता सीप सिक्न जरूरी छ ।

\"\"

तपाई सूचना प्रविधि पढ्नु भएको छैन तर कम्प्युटर साइन्सलाई इलेक्टिभको रूपमा लिन सकिन्छ भने लिनुहोस् । तर यदि तपाई हार्डकोर एआई गर्न चाहनुहुन्छ भने गणित आउन जरूरी छ ।

मानिसले बनाएको एआई भविष्यमा मानिसका लागि खतरा हुन सक्ने कुरा आइरहेको छ । भविष्यमा के साच्चिकै एआई मानिसका लागि खतरानाक नै हुनेवाला छ ?

सबैको राम्रा र नराम्रा पक्ष छन् । मानिसले विकास गरेको न्युक्लियर प्रविधि आज मानिसहरूका लागि नै खतरा भएको छ । न्युक्लियरको विकास राम्रा कामका लागि भएको थियो, तर त्यसको गलत प्रयोग हुँदा मानव अस्तित्व नै संकटमा पर्ने हो की भन्ने चिन्ता छ ।

एआईका पनि राम्रा, नराम्रा पक्ष छन् । यसलाई राम्रो काममा प्रयोग गर्नेकी नराम्रो काममा प्रयोग गर्ने यो पनि हाम्रै हातमा छ । एआईलाई नकारात्मक रूपमाभन्दा पनि सकारात्मक रूपमा हेर्नुपर्छ भन्ने मलाइ लाग्छ ।

सकारात्मक रूपमा प्रयोग गर्दा यसको आउट पुट पनि राम्रै हुन्छ । नराम्रो काममा पनि एआईको प्रयोग हुन सक्छ, त्यो सम्भावना छ । भविष्यमा यसको आउटकम कस्तो ल्याउने त्यो तपाई, हामीमै निर्भर रहन्छ ।

कुनै दिन एआईले आफै एआई बनाउन सक्ने कुरा पनि आइरहेको छ । यस्तो अवस्थामा एआईलाई नियमन गर्नु पर्छ की पर्दैन ?

हो, एआईले भविष्यमा कतिपय कुरा आफै बनाउन पनि थाल्छ । तर त्यसको फ्रेमवर्क के हुने ? प्लेइङ फिल्ड कस्तो हुने ? त्यो चाहिँ निर्धारण हुन जरूरी छ । ताकी हामी सबै त्यसमा सहभागी हुन पाइयोस् । ताकी यो चाहिँ मानव
जातिका लागि राम्रो यो चाहिँ होइन भन्ने मिलोस् ।

एआईलाई नियमन हुनुपर्छ । गर्दै, नगर्ने भन्ने होइन् । तर कुन हदसम्म गर्ने भन्ने हुन्छ । कसरी नागरिकलाई फाइदा हुन्छ त्यसको मूल्यांकन गर्दै अगाडि बढ्नुपर्छ ।

एआईबाट लाभ लिन नेपाल कहाँनेर चुकेको छ ?

एआईको लाभ लिन एक स्तरको पूर्वाधार चाहिन्छ । पूर्वाधार नभए काम फाटफुट रूपमा मात्रै हुन्छ । तर संमग्र रूपमा लाभ पुग्दैन। एआईबाट देशले फाइदा लिन गाउँगाउँसम्म कनेक्टिभिटी, एक्सेसिबिलिटीलगायत सुविधा अनिवार्य हुनुपर्‍यो ।

भविष्यमा नेपालले पनि एआईबाट फाइदा लिने हो भने इन्टनरेट, डिभाइसलगायत यसको इकोसिस्टम विकास हुनुपर्छ ।

एआई सम्बन्धि विदेशमा कस्ता-कस्ता नीति छन् । नेपालले नीतिगत स्तरमा एआईलाई कसरी समेट्न सक्छ ?

नेपाललाई एकदमै सजिलो छ । किनभने एआई सम्बन्धि कानुन विदेशमा तयार भइसकेका छन् । अरू देशको आफ्नै फ्रेमवर्क छ । नियमन छ । कानुन छ । संयुक्त अरब इमिरेट्स (युएई)मा मन्त्री नै एआई नियुक्त भइसकेको छ ।

नेपालमा भर्खर सुरू हुँदै छ । अरू देश धेरै अगाडि बढिसकेका छन् । हामीले कुनै चिन आविष्कार पनि गर्नु पर्दैन । नयाँ कुरा पनि सोच्नु पर्दैन। बाहिर गरेको कुरा ल्याएर कार्यान्वयन गरे पुग्छ । चाँडो कार्यान्वयन गरे नेपालले लाभ लिन सक्छ । नेपालमै बसेर युवा पुस्ताले काम गर्न सक्छन्। यसमा ठूलो अवसर छ, त्यसलाई समात्न सक्नुपर्छ ।

तपाईले अघिदेखि नै कानुन कार्यान्वयनलाई विशेष जोड दिइरहनु भएको छ । नेपाल कानुन कार्यान्वयनको पाटोमा किन कमजोर छ ?

कुरा मात्रै गरेर भएन काम गर्नुपर्‍यो । हामी कुरा त गर्छौं तर काम गर्दैनौं । जब हामीलाई के गर्नुपर्छ भन्ने थाहा छ । जब हामीलाई थाहा छ, नयाँ चिज केही सोच्नु पनि पर्दैन, भइरहेकै चीजलाई ल्याएर कार्यान्वयन गर्नुपर्छ ।

अब ‘एक्सन’ अर्थात कार्यान्वयनको समय आएको छ । म राजनीतिक नेतृत्व, कमर्चारी र सरोकारवालाई अब के चाहिन्छ भनेर नसोध्न अनुरोध गर्छु । अब के गर्नुपर्छ, कसरी गर्नुपर्छ भनेर कुरा गरौं । सार्वजनिक निजी साझेदारीको अनुरूप अगाडि बढ्नु पर्छ ।

हाम्रा पाठकलाई कुनै एआई टुल सिफारिस गर्न चाहनुहुन्छ ?

धेरै एआई टुलहरू छन् । प्रत्येक दिन नयाँ नयाँ टुल आइरहेका हुन्छन् । पछिल्लो केही महिनामा एआईको क्षेत्रको कुनै ठूलो विकास भएको छ भने त्यो च्याटजीपीटी हो ।

अब सर्च गर्नेभन्दा पनि च्याटजीपीटी चलाएर जे जे सूचना चाहिन्छ त्यहाँबाट लिन थाल्नुहोस् । यो एकदमै शक्तिशाली टुल हो । म आफै दैनिक हजार पटक प्रयोग गर्छु ।

पहिले कुनै सूचना लिन धेरै वेबसाइटमा जानुपर्थ्यौं । त्यसको सारांश निकाल्न समय लाग्थ्यो । तर च्याटजीपीटीले इन्टरनेटमा भएको सबै डेटा हेरेर तपाईलाई एकै छिनमा सारांश दिन्छ । यसले तपाईको उत्पादकत्त्व बढाउँछ । तपाईको जीवन नै रूपान्तरण हुन सक्छ ।

तपाईको विचारमा एआईका फाइदा र बेफाइदा के-के हुन सक्छन् ?

कम्तिमा पनि अहिलेको समयमा त्यस्तो बेफाइदा भन्ने चीज म देख्दिनँ । नयाँ चीज सिकेको हो । यसमा त फाइदै फाइदा छ । अहिले धेरैको हातमा स्मार्टफोन र इन्टरनेट छ ।

तपाई यसबाट जति सूचना लिन सक्नुहुन्छ, त्यत्ति अगाडि बढ्नुहुन्छ । प्रत्येक दिन खाना खान्छौं । विद्यालय जान्छौं । काम गर्छौं । समाचार पढ्छौं । त्यस्तै च्याटजीपीटी, बार्ड, बिग जेनेरेटिभ एआई सिस्टमसँग प्रत्येक दिन अन्तर्क्रिया गर्नुपर्छ ।

च्याटजीपीटीलाई नेपाली भाषामा सोध्यौं भने केही कुराको जवाफ गलत पाइन्छ । यसलाई कसरी सच्याउन सकिन्छ ?

यो एआई सिस्टम आफै सोचेर नयाँ चीज बनाएको होइन । जवाफ गलत पाउने की सही पाउने तपाई हामीमै निर्भर छ । जति हामीले नेपाली भाषामा अन्तर्क्रिया गर्‍यौं ।

गलत जवाफलाई सच्यायौं । जति हामीले त्यसलाई सूचना दियौं । त्यही अनुसार उसले सिक्छ र त्यसपछि जवाफ दिन्छ । एआईको सिक्ने पक्रिया पनि मानिसको जस्तै जस्तै हुन्छ ।

हामीले एआईलाई यो गलत हो भनेर भन्यौ भने यो गलत रहेछ भनेर थाहा पाउँछ । यो सही हो भनेर भन्यौं भने सही हो भन्ने कुरा थाहा पाउँछ ।

फ्युजमसिन्सले विगत एक दशकदेखि एआईको क्षेत्रमा काम गर्दै आइरहेको छ । हाल के के गर्दै हुनुहुन्छ ?

हाम्रो धेरै ठूलो योजना छ । अहिले हामी केही एआई प्रडक्टमा काम गरिरहेका छौं । एआई शिक्षामा पनि काम गरिरहेका छौं । हाम्रो बिजनेस मोडलको आधारभूत पाटो नै शिक्षा हो ।

एआईको दक्ष जनशक्ति विकासमा पनि काम गरिरहेका छौं । नेपालमै बसेर हामीले उच्चस्तरको एआई इन्जिनियर उत्पादन गरेका छौं ।

हाम्रो अरू देशमा पनि कार्यालय छ । धेरै समय हाम्रा ग्राहकहरूले नेपाली इन्जिनियर नै माग्छन् । किनभने नेपालमा पनि त्यो दक्षता छ । एआईको युग सुरू भएको छ । हामी उत्साहित छौं ।

नेपालमा एआई ट्यालेन्टको अवस्था कस्तो छ ?

नेपालमा एआईका अरू चीजमा भर्खर सुरूवात भएपनि ट्यालेन्टको हिसाबमा एक कदम अगाडि छौं ।

फ्युजमसिन्सले पनि विगतदेखि नै एआई शिक्षा, एआई फ्लोशिप, एआई एक्सपो, एआई ह्याकाथन काम गर्दै आएको छ । यस्ता कार्यक्रमले एआईको ज्ञान बढाउनुका साथै पहुँच र अवयेरनेस पनि दिन्छ । च्याटजीपीटी प्रयोग गर्नेको विश्वको दोस्रो नम्बरमा पर्नु पनि त्यसैको प्रतिफल हो ।

कोर्सेराले सार्वजनिक गरेको डेटा एण्ड एआईको क्षेत्रमा सम्भावना बोकेका १० देशमध्ये नेपालको पनि नाम छ । अब यसलाई राष्ट्रव्यापी अगाडि लैजानुपर्छ ।

\"\"

एआई ट्यालेन्ट उत्पादनका लागि विश्वविद्यालय र कलेजसँग सहकार्य गरेका छौं । नेपालमै एआई पढाइ पनि हुन थालेको छ । अझै विश्वविद्यालयहरू एग्रेसिभ हुनुपर्छ । कम्प्युटर साइन्स, इन्जिनियरिङ पढ्नका लागि कोटा तोकिएको छ ।

त्यसलाई बदल्नु पर्छ । किनभने हामीलाई वर्षमा लाखौ लाख ग्राजुएट चाहिएको छ । ५-१० वर्षमा डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधि पढेका लाखौं मान्छे चाहिन्छ ।

पढ्ने इच्छा भएका सबैले पढ्न पाउनुपर्छ । कोटा सिस्टम भएकै कारण पढ्नबाट बञ्चित बनाउनु हुँदैन । त्यसका लागि विश्वविद्यालयलाई म आग्रह गर्न चाहन्छु । यसका साथै अपटुडेट पाठ्यक्रममा विद्यार्थीलाई अध्ययन गराउनुपर्छ ।

कुराकानीको अन्त्यमा मैले सोध्न छुटाएको केही छ भने भन्न सक्नुहुन्छ ?

अब एआईको युग सुरू भएको छ । पहिलाको प्रविधिभन्दा एआई फरक छ । किनकी एआईसँग आफै सिक्ने क्षमता छ । यो निरन्तर सिक्दै सुधार्दै थप परिस्कृत हुँदै जान्छ । यसको असर धेरै पर्नेवाला छ । यो उत्साहजनक समय हो ।

एआईका लागि ठूलो पूर्वाधारमा भर पर्नु पर्दैन । नेपाल भूपरिवेष्ठित राष्ट्र हो । यस्तो अवस्था नेपालले डिजिटल प्रविधिबाट फाइदा लिन सक्छ ।

हामीले जुन डिजिटल भविष्यको कल्पना गरेका छौं, त्यसलाई एआईले सुपरचार्ज गर्ने अवसर आएको छ । त्यसलाई समात्न सरकारले पूर्वाधारमा काम गर्नुपर्‍यो ।

शैक्षिक संस्थाले पाठ्यक्रमलगातार अपडेट गरिरहनु पर्‍यो । जति सक्यो धेरै विद्यार्थीलाई डेटा, एआई अध्ययन गराउनु पर्‍यो । अन्य संस्थाले पनि डिजिटल पूर्वाधार निर्माणमा सघाउनु पर्‍यो ।

साथसाथै निजी क्षेत्रले पनि सबै सरोकारवालासँग सहकार्य गर्दै बजारमा सेवा र प्रडक्ट ल्याइदिनु पर्‍यो । नागरिकले एआईलाई बुझ्ने र सिक्ने प्रयास गर्नुपर्छ ।

एआईको प्रयोगले घरमै बसेर सबै सरकारी सेवा लिन पाइयोस् । नेपालमै बसेर राम्रो आम्दानी गर्न सकियोस् । यो सबै सम्भव छ । तर, त्यसका लागि आजैबाट नीति र राजनृतिक तवरबाट कार्यान्वयनमा जानुपर्छ । कर्मचारीले आनाकानी गर्नु भएन ।