सामान्यतया फोटो खिच्दा लोकेसन वा जीपीएस सेटिङ बन्द गरेपछि आफू सुरक्षित भएको धेरैको धारणा हुन्छ। तर ‘जियोस्पाई एआई’ नामक नयाँ उपकरणले यो सोचलाई चुनौती दिएको छ।
भिजुअल जियोलोकेसन प्रविधिमा आधारित यस प्रणालीले फोटोमा देखिएका ल्यान्डमार्क, वास्तुकला शैली, रुख–बिरुवा, सडक संरचना, यहाँसम्म कि बिजुलीका खम्बाको डिजाइनसम्म विश्लेषण गरेर केही क्षणमै तस्बिर विश्वको कुन भागमा खिचिएको हो भन्ने अनुमान गर्न सक्छ।
जियोस्पाई एआईले उन्नत भिजुअल पहिचान (Visual Recognition) र मेशिन लर्निङ मोडेल प्रयोग गर्छ। लाखौँ सार्वजनिक तस्बिरबाट प्रशिक्षित यस प्रणालीले फोटोको पृष्ठभूमिमा देखिने ढाँचा र संकेतलाई आफ्नो विशाल डाटाबेससँग तुलना गर्छ। वास्तुकला, वातावरणीय बनावट र क्षेत्रीय संकेतका आधारमा स्थान अनुमान गरिन्छ। विशेष कुरा के भने, यसलाई मेटाडाटा वा जीपीएस जानकारीको आवश्यकता पर्दैन।
यो प्रविधि एकाएक आएको होइन। सुरुआतमा अनुसन्धान र कानुन कार्यान्वयन निकायको सहयोगका लागि विकास गरिएको थियो। कम्पनीका अनुसार विभिन्न अनुसन्धान एजेन्सी र प्रहरी निकायले यसको प्रयोग गर्दै आएका छन् र यसको सहयोगमा १० हजारभन्दा बढी जटिल मुद्दा समाधान भइसकेका छन्। विशेषगरी त्यस्ता घटनामा, जहाँ प्रमाणका रूपमा केवल तस्बिर मात्र उपलब्ध थियो र स्थानबारे स्पष्ट सुराग थिएन।
फाइदासँगै बढ्दो जोखिम
यद्यपि प्रविधिको उपयोगितासँगै गम्भीर गोपनीयता जोखिम पनि जोडिएको छ। यदि यस्तो उपकरण सर्वसाधारणको पहुँचमा आयो भने दुरुपयोगको सम्भावना बढ्न सक्ने विज्ञहरूको चेतावनी छ।
- सामाजिक सञ्जालबाट फोटो लिएर कसैको स्थान पत्ता लगाउन सकिने
- पछ्याउने (stalking) वा उत्पीडनका घटनामा प्रयोग हुन सक्ने
- चर्चित व्यक्ति मात्र होइन, सामान्य प्रयोगकर्ताको पनि गोपनीयता जोखिममा पर्ने
- घर वा नियमित बसोबासको स्थान पहिचान हुन सक्ने
विशेषज्ञहरूका अनुसार, यो दृश्य माध्यमबाट हुने गोपनीयता उल्लंघनको नयाँ रूप बन्न सक्छ।
आफूलाई कसरी जोगाउने?
विज्ञहरूले सावधानी अपनाएर जोखिम कम गर्न सकिने बताएका छन्।
पृष्ठभूमिमा ध्यान दिनुहोस्: घर वा निजी स्थानमा फोटो खिच्दा झ्याल बाहिरको दृश्य वा पहिचान हुने वस्तु नदेखिने गरी खिच्नुहोस्।
पृष्ठभूमि धमिलो बनाउनुहोस्: फोटो सेयर गर्नु अघि पृष्ठभूमि हल्का ब्लर गर्दा चिनारी हुने संकेतहरू पहिचान गर्न गाह्रो हुन्छ।
ढिलाइ गरेर पोस्ट गर्नुहोस्: वास्तविक समयमा नभई, त्यहाँबाट निस्किएपछि मात्र फोटो अपलोड गर्नुहोस्।
डिजिटल युगमा प्रविधि जति शक्तिशाली बन्दैछ, त्यति नै सावधानी पनि आवश्यक हुँदै गएको विज्ञहरूको भनाइ छ।
आईसीटी समाचार