कीवर्डहरू -

एप्पलले खरिद गर्‍यो एआई स्टार्टअप डार्विन एआई, के छ आगामी योजना ?

एप्पलले खरिद गर्‍यो एआई स्टार्टअप डार्विन एआई, के छ आगामी योजना ?

विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलले क्यानेडियन एआई कम्पनी डार्विनएआई खरिद गरेको छ । सन् २०२४ को सुरूवतामा एप्पलले डार्विनएआई प्राप्ति गरेको हो । 

पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनीहरू एआईको दौडमा छन् । माइक्रोसफ्ट, गूगल, मेटा एआईको दौडमा धेरै अगाडि बढिसकेका छन् । तर एप्पल भने अझै पनि अन्य कम्पनीको तुलनामा एआईको दौडमा पछाडि छ । 

अब एप्पल पनि एआईको दौडमा अगाडि बढ्ने योजना बनाएको छ । त्यसैअनुसार प्रणालीलाई सानो र छरितो बनाउने परिचत डार्विनएआई कम्पनी प्राप्ति गरेको हो । बुलुमबर्गका अनुसार एप्पलले यस अगाडि नै सहसंस्थापक अलेकजेन्डर वोङ्गसहित दर्जनौं डार्विनएआई कम्पनीका कर्मचारीलाई कम्पनीमा एकीकृत गरिसकेको छ । 

एप्पलले डार्विनएआई खरिद गरेको घोषणा गरेको छैन । तर बुलुमबर्गलाई साना साना कम्पनी समय समयमै खरिद गरिरहने बताइएको छ । यस बाहेक डार्विनएआई बिक्री भएको केही संकेत पाउन सकिन्छ । डार्विनएआईको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल अकाउन्ट बन्द गरिएको छ । 

यस्तै सहसंस्थापक वोङ्गले पनि लिंक्डइनमा सन् २०२४ जनवरीदेखि एप्पलमा मेसिन लर्निङ निर्देशकको रूपमा राखेका छन । 

के छ अब एप्पलको योजना ? 

एप्पलले डार्विनएआई खरिद गरेपछि अब के गर्ने योजना छ ? भन्ने प्रश्न उब्जिएको छ । म्यारूमरका अनुसार सन २०२३ मा एप्पलले ३२ स्टार्टअप खरिद गरेको थियो । यो सूचीमा अब डार्विनएआई समेत थपिएको छ । 

अहिले एप्पलले भिजन प्रो, आईओएस १७ मा केही एआई सुविधा छन् । डार्विनएआई खरिद गरेसँगै आईओएस १८ मा थप नयाँ एआई सुविधाहरू देख्न सकिने अनुमान गरिएको छ ।

एप्पलका सीईओ टिम कुकले आईओएस १८ मा धेरैभन्दा धेरै एआई फिचरहरू सिर्जना गर्न इन्जिनियरलाई निर्देशन दिएको समेत हल्ला बाहिरिएको थियो । सन् २०२४ मा एआईमा एप्पलले केही महत्त्वपूर्ण कामहरू घोषणा गर्न सक्ने छ ।