कीवर्डहरू -

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । 

नव नियुक्त भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका विज्ञ सल्लाहकारका रुपमा कार्यरत थिए ।

केही समय अगाडि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । सो पदमा सरकारले दूरसञ्चार क्षेत्रमा देश देखि विदेशसम्मको अनुभव संगालेका भण्डारीलाई नियुक्त गरेको हो । 

को हुन् भण्डारी ? 

विसं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेर भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन गरेका छन् । 

बैंकिङ क्षेत्रमा कुशल नेतृत्वको भूमिका निर्वाह गरिसकेका भण्डारी २०६४ देखि दूरसञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । तत्कालीन स्पाइस नेपाल प्रालिमा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा काम गरेका उनले वि.स. २०६४ मा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।  भण्डारीले विसं २०७२ सालसम्म आठ वर्ष सोही कम्पनीमा सीईओको रूपमा काम गरेका थिए ।  

विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमु्ख कार्यकारी अधिकृतको रुपमा नेतृत्व सम्हालेका भण्डारी सोही वर्षको अन्तिमतिर पुनः बुरुण्डी मोबाइल नेटवर्क कम्पनी लासेलको कन्सल्ट्यान्टको भूमिकामा काम गरेका थिए । 

त्यसपछि २०७४ सालमा उनी नेपाल फर्किए । नेपाल फर्केपछि उनले फिनटेक कम्पनी पे नेप प्रालिबाट मोरू वालेट सञ्चालनमा ल्याएका थिए । 

२०८० जेठ  सम्म (छ वर्ष) पे नेपमा अध्यक्षको रूपमा काम गरेका भण्डारी गत असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए । 

दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अब्बल भण्डारी मन्त्रालयमा प्रवेश गरेपछि सञ्चार मन्त्रालयका प्राथमिकता नै बदलिएको बताइन्छ । 

टेरामक्स, एमडिएमएस जस्ता प्रविधि जडानको बेलामा भएका भनिएका अनयिमतिताको गहिरो अध्ययन तथा प्रतिवेदन तयार, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, इन्टरनेट सेवा प्रदायकबाट भएका भनिएका कर छलि र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।