कीवर्डहरू -

बीआईटीको डबल डिग्री कोर्ष सञ्चालन गर्दै केयु, २ वर्ष नेपाल र २ वर्ष अष्ट्रेलियामा पढ्न पाइने

बीआईटीको डबल डिग्री कोर्ष सञ्चालन गर्दै केयु, २ वर्ष नेपाल र २ वर्ष अष्ट्रेलियामा पढ्न पाइने

काठमाडौं विश्वविद्यालयले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को डबल डिग्री सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालय र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसनबीच सम्झौता भएको हो । 

चारवर्षे डबल डिग्री बिआईटी कोर्ष पहिलो २ वर्ष काठमाडौं विश्वविद्यालय र बाँकी २ वर्ष अष्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसनमा पढ्न सक्ने छन् । यस कोर्षका लागि १ पटकमा बढीमा ३० जना विद्यार्थी भर्ना गरिने छ । बीआईटी कोर्समा भर्ना हुन इच्छुक विद्यार्थीले कक्षा १२ मा विज्ञान अध्ययन गरी अन्तिम नतिजामा न्यूनतम ५० प्रतिशत वा २.० सीजीपीए ल्याएको हुनुपर्ने छ ।

भर्नाका लागि आवेदन दिने समय फेब्रुअरी ७ सम्म रहेको छ । प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जनालाई काठमाडौं विश्वविद्यालयले पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ । यस्तै दोस्रोलाई ५० र तेस्रोलाई २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुने विश्वविद्यालयले जनाएको छ ।

यस बाहेक अष्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसन ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने विश्वविद्यालयको भनाइ छ ।  विद्यार्थीहरूले तेस्रो वर्ष र चौथो वर्षको पढाइ पनि नेपालमै जारी राख्न वा अष्ट्रेलियाको भिसा प्राप्त नभएमा सोही वर्षदेखि काठमाडौंको विश्वविद्यालयको ब्याचलर अफ कम्प्युर साइन्स वा एआई बिना कुनै झन्झट अध्ययन गर्न पाउने छन् । 

तर यदी ५० प्रतिशतभन्दा बढी विद्यार्थीले यस्तो चुनौती सामना गरेमा विश्वविद्यालयले बाँकी २ वर्ष पनि बिआईटी कोर्ष आफैले सञ्चालन गर्ने जनाएको छ । 

डबल डिग्री बिआईटी कोर्षको शुल्क प्रति सेमेस्टर ट्युसन शुल्क ९ हजार अष्ट्रेलियन डलर तोकिए पनि क्राउन इन्स्टिच्युटले छुट मूल्यमा ७२०० अष्ट्रेलियन डलरमा उपलब्ध हुनेछ । सुरूको २ वर्ष काठमाडौं विश्वविद्यालयले भने ब्याचलर अफ कम्प्युटर साइन्समा लिदै आएको शुल्क नै लिनेछ ।