कीवर्डहरू -

ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई १.४ मिलियन अमेरिकी डलर जरिवाना

ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई १.४ मिलियन अमेरिकी डलर जरिवाना

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डी मोरेसले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) लाई  ८.१ मिलियन ब्राजिलियन रियल (झन्डै १.४ मिलियन अमेरिकी डलर) जरिवाना तिराएको छ ।

एक्सले अदालतको आदेशको उल्लंघन गर्दै एलन डस सान्टोसको प्रोफाइलसँग सम्बन्धित पञ्जीकरण डेटा प्रदान गर्न अस्वीकार गर्दै ब्राजिलको सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । 

डी मोरेसले जुलाई २०२४ मा आदेश जारी गर्दै एक्स र मेटालाई सान्टोसको एकाउन्ट ब्लक गर्न, प्रतिबन्ध लगाउन र त्यसको डेटा अदालतलाई प्रदान गर्न निर्देशन दिएका थिए ।

एक्सले अकाउन्ट त ब्लक गर्यो तर प्रयोगकर्ताको डेटा नभएको दाबी गरेको थियो । किनभने त्यो डेटा सङ्कलन गरिएको थिएन र प्रयोगकर्ताको ब्राजिलसँग कुनै प्राविधिक सम्बन्ध पनि थिएन । तर न्यायाधीश डी मोरेसले यो तर्क अस्वीकार गर्दै डेटा नदिएको कारण उसलाई दैनिक १००,००० ब्राजिलियन रियल (झन्डै १७,५०० अमेरिकी डलर) जरिवाना गरिएको छ ।

अक्टोबरसम्म यो जरिवाना ८.१ मिलियन ब्राजिलियन रियल पुगेको थियो । एक्सले यो जरिवानाविरुद्ध अपिल गरेको थियो, तर पछि कम्पनीले अदालतलाई जरिवाना तिर्न तयार रहेको जानकारी दिएको थियो ।


बुधबारको निर्णयमा, अदालतले एक्सलाई तुरुन्तै पूरा रकम तिर्न आदेश दिएको थियो । तर एक्सले अझै पनि अदालतको अनुरोधअनुसार पञ्जीकरण डेटा उपलब्ध गराएको छ या छैन भन्ने कुरा स्पष्ट छैन् ।

डी मोरेस र एलन मस्कबीचको विवाद

गत वर्ष, डी मोरेसले एक्सविरुद्ध अर्को कदम चालेका थिए, जब कम्पनीले ब्राजिलमा आफ्ना सबै कर्मचारी हटाउने योजना बनाएको थियो। त्यसबेला उनले ब्राजिलमा एक्सका कानुनी प्रतिनिधिलाई पक्राउ गर्ने धम्की दिएका थिए।

ब्राजिलको कानून अनुसार, विदेशी कम्पनीहरूले देशभित्रै कानुनी प्रतिनिधि नियुक्त गर्नुपर्छ, ताकि अदालतका आदेशहरू पालना गरियोस्। एलन मस्क र न्यायाधीश डी मोरेसबीच अभिव्यक्ति स्वतन्त्रता, दक्षिणपन्थी विचारधाराका खाता तथा गलत सूचनासम्बन्धी विवाद चलेको थियो।

मस्कले डी मोरेसलाई अभिव्यक्ति स्वतन्त्रताको शत्रु तथा अपराधी भनेका थिए। तर डी मोरेसका निर्णयहरू बारम्बार उनका सहकर्मीहरूले समर्थन गरेका छन्, जसमा एक्सलाई राष्ट्रव्यापी बन्द गर्ने र जरिवाना लगाउने आदेशहरू पनि समावेश छन्।