कीवर्डहरू -

शुक्रबार र शनिबार पोखरामा वर्डक्याम्प नेपाल

शुक्रबार र शनिबार पोखरामा वर्डक्याम्प नेपाल

शुक्रबार र शनिबार वर्डक्याम्प नेपालको छैठौँ संस्करण बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ । 

पछिल्लो पटक सन् २०२२ मा भरतपुरमा भएको वर्डक्याम्प नेपाल यस पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध समुदाय उत्साहित छन्।  कार्यक्रममा १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । 

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ । 

यसमा बिहान देखि बेलुका सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिने छन् । कार्यक्रममा वर्डप्रेस र सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले वेभ डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ्ग, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन (SEO), मेसिन लर्निङ, आर्टिफिशियल इन्टेलिजेन्स, वर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरुमा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधीका नविन आयामहरु बारे जानकारी प्रदान गर्नेछन् । 

हालसम्म बंगलादेशबाट ४ जना, भारत बाट ६ जना, जर्मनी बाट १ जना, स्विजरल्याण्ड बाट १ जना, अमेरिका बाट १ जना र नेपाल बाट ३० जना गरी ४३ जना वक्ताहरूले विभिन्न सत्रहरूमा प्रस्तुत गर्नेछन् । नेपाली वक्ताहरूमा डा. महावीर पुन समेत सहभागी हुनेछन् । 

यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पोखरा र नेपालकै सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यक्ति तथा कम्पनीहरूलाई आपसी सहयोग, सहकार्य तथा नेपालको अन्तर्राष्ट्रिय सूचना-प्रविधि बजारमा प्रचार हुने विश्वास गरिएको आयोजकको भनाइ छ ।