कीवर्डहरू -

गल्ली म्याप्सले जित्यो एनवाईईएफ स्टार्टअप अवार्ड्स

गल्ली म्याप्सले जित्यो एनवाईईएफ स्टार्टअप अवार्ड्स

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवार्ड्समा नेपालको आफ्नै म्यापिङ एप गल्ली म्याप्स विजेता बन्न सफल भएको छ । 

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको एनवाईईएफ स्टार्टअप अवार्ड्सको फिनाले कार्यक्रममा गल्ली म्याप्स विजेता बन्न सफल भएको हो । 

यस्तै पेटमामा र क्विकफक्स कन्सल्टिङ उपविजेता भएका छन् भने सोसल इन्टरप्राइज अवार्ड, दूरशिक्षा र अडियन्स स्पीक अवार्ड, पेट मामाले जित्न सफल भएका छन् । 

शुक्रबार भएको तेस्रो संस्करणको एनवाईईएफ स्टार्टअप अवार्ड्समा ट्रफीसहित विजेताले ४ लाख, उपविजेताले २ लाख, सोसियल इन्टरप्राइज र अडियन्स स्पीक अवार्ड विजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

अवार्डको ग्राण्ड फिनालेमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल र विशिष्ट अतिथिको रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको उपस्थिति थियो । कार्यक्रममा लगानीकर्ता तथा विभिन्न क्षेत्रका युवा उद्यमीहरूको सहभागीता रहेको थियो । 

विगत २ वर्षदेखि एनवाईईएफ काठमाडौंले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्समा यस वर्षदेखि एनवाईईएफका सबै च्याप्टर तथा गभर्निङ काउन्सिलको समेत सहकार्य रहेको थियो ।

यस वर्षको स्टार्टअप अवार्ड्समा देशभरबाट १५० आवेदन प्राप्त भएका थियो । प्राप्त आवेदन मध्येबाट उत्कृष्ट २० हुँदै उत्कृष्ट ७ स्टार्टअपसम्म छनौट गरिएको थियो । उत्कृष्ट ७ स्टार्टअपमा गल्ली म्याप्स, पेट मामा, ब्ल्यांकसर, बीबाबो, दूरशिक्षा, क्विकफक्स कन्सल्टिङ र भूमिथान रहेका थिए । 

उत्कृष्ट ७ स्टार्टअपले शुक्रबार नै आफ्नो आइडिया पिच गरेका थिए । सो पिचङका आधारमा ३ स्टार्टअपलाई अवार्ड्स प्रदान गरिएको हो । यसअघि स्टार्टअप अवार्ड्सले उत्कृष्ट २० स्टार्टअपलाई ६ वटा एक्सपर्ट सेसन सञ्चालन गरेको थियो । त्यसपछि उत्कृष्ट २० स्टार्टअपले गरेको पिचिङका आधारमा उत्कृष्ट ७ स्टार्टअप छनौट भएका थिए ।