कीवर्डहरू -

अन्ततः इन्कग्निटो मोडमा डेटा संकलन गर्ने गरेको गूगलद्वारा स्वीकार, डिस्क्लेमर पनि परिवर्तन

अन्ततः इन्कग्निटो मोडमा डेटा संकलन गर्ने गरेको गूगलद्वारा स्वीकार, डिस्क्लेमर पनि परिवर्तन
Photo Credit: MSPowerUser

अन्ततः गूगलले क्रोमको इन्कग्निटो मोडमा पनि डेटा संकलन गर्ने गरेको स्वीकार गरेको छ । इन्कग्निटो मोडको डिस्क्लेमर परिमार्जित गर्दै गूगलले इन्कग्निटो मोडमा पनि डेटा संकलन गर्ने गरेको स्वीकार गरेको हो । 

गूगलले इन्कग्निटो मोडमा पनि प्रयोगकर्तालाई ट्रयाक गरेको भन्दै सन् २०२० मा मुद्दा परेको थियो । गत महिना गूगल गोपनीयता सम्बन्धि उक्त मुद्दा सुल्झाउन ५ अर्ब अमेरिकी डलर तिर्न तयार भएसँगै डिस्क्लेमर पनि अपडेट गरेको छ । 

एमएस पावर युजरका अनुसार सो मुद्दालाई सुल्झाउन सम्झौतालाई अन्तिम रूप दिने काम भइरहेको छ । नयाँ डिस्क्लेमर अहिलेसम्म विन्डोज, एन्ड्रोडइ र अन्य डिभाइसको क्यानरी (अर्लि एक्सेस)  भर्सन मात्रै देखिएको छ । 

अहिलेसम्म क्रोमको इन्कग्निटो मोडको डिस्क्लेमरमा भनिएको छ, ‘तपाई निजी रूपमा ब्राउज गर्न सक्नुहुन्छ । यो डिभाइस प्रयोग गर्ने अन्य व्यक्तिहरूले तपाईको गतिविधि देख्ने छैनन् । यद्यपी डाउनलोड, बुकमार्क, रिडिङ लिष्ट आईटम सेभ हुनेछन् ।’

तर आउन लागेको नयाँ डिस्क्लेमर अपडेटमा भनिएको छ, ‘यो डिभाइस प्रयोग गर्ने अन्यले तपाईको गतिविधि देख्ने छैनन्, त्यसैले तपाई निजी रूपमा थप ब्राउज गर्न सक्नुहुन्छ । यसले गूगलसहित तपाईले भिजिट गर्ने वेबसाइट र प्रयोग गर्ने सेवाहरूबाट डेटा संकलन गर्ने तरिकालाई परिवर्तन गर्ने छैन् । डाउनलोड, बुकमार्क, रिडिङ लिष्ट आईटम सेभ हुनेछन् ।’

Photo Credit: MSPowerUser

सन् २०२० मा प्रयोगकर्ताको डेटा संलकन नगर्ने डिस्क्लेमर राखेर प्रयोगकर्ताको डेटा संकलन गर्ने गरेको पाइएपछि गूगलविरूद्ध ५ अर्ब डलर क्षतिपूर्ति दाबीसहित मुद्दा परेको थियो । उक्त मुद्दामा गूगलले इन्कग्निटो मोडमा ब्राउजिङ हिस्ट्री, डिभाइस डेटा, आईपी एड्रेस लगायतका विवरण संकलन गर्ने गरेको आरोप लागेको थियो । 

गूगलले सुरूमा आरोपको खण्डन गर्दै इन्कग्निटो मोडमा गतिविधि ट्रयाक गर्न सक्ने बारे यसको चेतावनी भनेको प्रयोगकर्ताले केही डेटा संकलनमा सहमति जनाएको भन्ने तर्क गरेको थियो ।
तर एक न्यायधिशले गूगलको उक्त तर्कमा असहमति जनाउँदै गूगलले प्रयोगकर्तालाई निरन्तर डेटा संकलन बारे प्रयोगकर्तालाई कहिले पनि सूचित नगरेको बताएका थिए । 

त्यसपछि सो मुद्दालाई सुल्झाउन ५ अर्ब डलर दिन गूगल तयार भएपछि सन् २०२४ फेब्रुअरी २४ सम्ममा अदालतको स्वीकृतिका लागि औपचारिक सम्झौता पेश हुने अनुमान गरिएको छ ।सम्झौताका शर्तहरू सार्वजनिक नभएपनि संलग्न वकिलहरूको मध्यस्थता मार्फत सहमतिमा पुगेको पुष्टि गरेका छन् ।