एमआईटी कलेज बागबजारमा हल्ट प्राइजको आईओई पुल्चोक क्याम्पस सेमिफाइनल प्रतियोगिता सम्पन्न भएको छ । ‘अनलिमिटेड’ भन्ने थिमका साथ आयोजित यस प्रतियोगितामा २५ उत्कृष्ट सेमिफाइनलिस्ट टोलीहरूले आफ्नो नवप्रवर्तनशील विचार प्रस्तुत गरेका थिए ।
यी टोलीहरूको उद्देश्य संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (SDGs) सँग समन्वय गर्दै विश्वका गम्भीर चुनौतीहरूको समाधान गर्नु थियो ।
यस प्रतियोगिताको निर्णायक मण्डलमा बिजनेस स्ट्राटेजिस्ट निकिता बज्राचार्य, सफ्टवेयर विकास विज्ञ उज्ज्योल सिंह, मिस नेपाल वर्ल्ड २०१५ तथा सामाजिक अभियन्ता एभाना मानन्धर, वातावरण अधिवक्ता राजन थापा, र स्टार्टअप प्रणालीका नेता सतीश खड्का रहेका थिए ।
सहभागी टोलीहरूले नवीकरणीय ऊर्जा उपयोगदेखि लिएर जलवायु परिवर्तन नियन्त्रणसम्म र प्रविधिको माध्यमबाट पहुँचको पुनःपरिभाषासम्मका विचार प्रस्तुत गरेका थिए ।
निर्णायकहरूको मूल्याङ्कनपछि प्रगतिशील, पावर अप्टिमाइजर्स, व्हेटुगो, क्रियोभेटिभ, इन्द्रिय, लिपसिंक, इनभेसिभ इन्जिनियर्स, स्वास्थ्य एआई, अंकुर, क्लोजएआई र फार्मइजी फाइनमा प्रवेश गरेका छन् ।