कीवर्डहरू -

नागरिकको एउटै विवरण एक पटक भन्दा बढी लिन नपाइने व्यवस्था कानुनमै गर्छौः सीईओ विष्ट

नागरिकको एउटै विवरण एक पटक भन्दा बढी लिन नपाइने व्यवस्था कानुनमै गर्छौः सीईओ विष्ट

विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्टले नागरिकले एउटै विवरण पटक पटक दिनुपर्ने समस्या हटाउने बताएका छन् । 

बिहीबार क्यान इन्फोटेकको उद्घाटन शत्रमा बोल्दै विष्टले विद्युतीय सुशासन विधेयकमा नागरिकको एउटै विवरण एक पटक भन्दा बढी लिन नपाइने व्यवस्था गर्ने बताएका हुन् । 

‘विद्युतीय सुशासन विधेयकमा नागरिकको उही डेटा एक पटक मात्रै संकलन गर्न पाउने व्यवस्था गर्नेछौं,’ उनले भने, ‘अहिले सेवाग्राहीले एउटै बायोमेट्रिक धेरै ठाउँमा दिनुपर्ने अवस्था छ । कानुनमा व्यवस्था नगरेसम्म यो दुखबाट मुक्त हुन सकिदैन् ।’

माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धानिक स्वीकृत समेत दिइसकेको छ । अब आयोगले विद्युतीय सुशासन सम्बन्धि  विधेयकको मस्यौदा तयार गर्नेछ । 

डिजिटल लिडरसीप तयार पार्न ई-गभर्नेन्स च्याम्पियन गर्न लागेको जानकारी दिदै उनले अब ‘प्रो एक्टिभ’ सरकारको रूपमा अगाडि बढ्नु पर्ने बताए । 

‘अब नागरिक सरकारकोमा सेवा लिन जाने होइन । सरकार नागरिककोमा सेवा दिन जाने हो । त्यो भनेको ‘प्रो एक्टिभ’ सरकारको अवधारणा हो,’ विष्टले भने, ‘यो तबमात्र सम्भव छ । जब हाम्रा सबै सिस्टम एक अर्कासँग अन्तरआवद्धता हुन्छन् ।’