कीवर्डहरू -

इन्टरनेट नभएपनि मोबाइल बैंकिङबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउँदै छौः दिवस सापकोटा

इन्टरनेट नभएपनि मोबाइल बैंकिङबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउँदै छौः दिवस सापकोटा

नेपालकाे अग्रणी फिनेटेक कम्पनी फोनपेले गत माघमा इन्टरनेट नभएपनि भुक्तानी गर्न मिल्ने अफलाइन भुक्तानी सुविधा ल्यायो । यो नेपाली फिनेटक क्षेत्रका लागि आफैमा नयाँ प्रविधि थियो ।

नयाँ र इन्नोभेटिभ सेवा ल्याउँदै आएको फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्था हो ।

नेपालमा पछिल्लो इन्टरनेटको पेनिट्रेसन बढ्दै गएको छ । तर पनि डेटा शुल्क महंगो छ, जसले गर्दा सबैले डेटाको प्रयोग गरेर डिजिटल भुक्तानी गर्न सक्दैनन् । सबै ठाउँमा वाईफाई पनि उपलब्ध हुँदैन् ।

यस्तो अवस्थामा धेरै जनसंख्या डिजिटल भुक्तानीमा जोडिएको छैन् । त्यसकारण सबैलाई डिजिटल भुक्तानीको पहुँच प्रदान गर्न फोनपेले अफलाइन पेमेन्ट सार्वजनिक गरेको हो ।

यस सन्दर्भमा फोनको अफलाइन भुक्तानी प्रविधि के हो ? कसरी काम गर्छ ? फाइदा र वेफाइदा के के छन् ? लगायतका वियषमा फोनपेका सीईओ दिवस सापकोटा सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः


फोनपेले २ महिना अगाडि इन्टरनेट नभएपनि भुक्तानी गर्न सकिने सेवा सार्वजनिक गरेको थियो । के हो फोनपेको अफलाइन भुक्तानी सेवा ?

अफलाइन पेमेन्ट सेवा २ महिना अघि सुरू भएको हो । फोनपेले विगत ३ वर्षदेखि क्युआर पेमेन्ट, इन्टर बैंक फन्ड ट्रान्फर लगायतका सेवा प्रदान गर्दै आएको थियो ।

क्युआर पेमेन्टमा ग्राहक र मर्चेन्ट दुवै इन्टरनेटमा जोडिनु पर्छ । त्यसपछि मात्रै क्युआर स्क्यान गरेर पैसा भुक्तानी गर्न सकिन्छ । नेपालमा डेटा शुल्क महंगो छ । डेटा खोलेर जहाँ पनि पेमेन्ट गर्न सहज छैन्  । त्यसकारण यो समस्यालाई समाधान अफलाइन भुक्तानी सेवा आएको हो ।

अफलाइन भुक्तानीमा २ वटा प्रविधि छ । एउटा फोन ट्याग (ट्याप एण्ड गो) र अर्को कस्टुमर प्रजेन्टेड (सीपी) क्युआर । पहिला पहिला मर्चेन्ट प्रजेन्ट क्युआर हुन्थ्यो, मर्चेन्टले कस्टुमरलाई क्युआर देखाउथे र भुक्तानी हुन्थ्यो ।

अब अफलाइन पेमेन्ट अन्तर्गत ग्राहकले क्युआर देखाउछन् र मर्चेन्टले क्युआर स्क्यान गरेर भुक्तानी लिनुहुन्छ । त्यस्तै फोन ट्याग नियर फिल्ड कम्युनिकेसन (एनएफसी) प्रविधिमा आधारित छ ।

यसमा ग्राहकले ट्याप गरेर भुक्तानी गर्न सक्छन् । फोन ट्याग प्रयोग गर्ने ग्राहकले पहिलो पटक रजिष्ट्रेसन गर्दा इन्टरनेटमा हुनुपर्छ । त्यसपछि इन्टरनेट चाहिँदैन् ।

एकातिर देशमा इन्टरनेटको पेनिट्रेसन बढ्दै छ । अर्को तर्फ तपाईहरूले अफलाइन भुक्तानी सेवा सार्वजनिक गर्नुभएको छ । यस्तो अवस्थामा अफलाइन भुक्तानीको आवश्यकता थियो ?

विगत १-२ वर्षदेखि इन्टरनेटको पेनिट्रेसन बढिरहेको छ । पेनिट्रेसन बढेपनि इन्टरनेट सस्तो भने छैन् । वाईफाई तुलानात्मक रूपमा सस्तो भएपनि डेटा महंगो छ ।

घरभन्दा बाहिर गएर भुक्तानी गर्ने चलन हाम्रोमा छैन् । डेटा महंगो भएकै कारण त्यो चलन नभएको हो । भारतमा एकदमै सस्तो डेटा छ । भारतमा मोबाइल जहिले पनि डेटामै जोडिएको हुन्छ ।

नेपालमा डेटा सस्तो हुन अझै समय लाग्छ । त्यसकारण डिजिटल भुक्तानीको इकोसिस्टमलाई प्रवर्द्धन गर्न अफलाइन भुक्तानीले सहयोग गर्नेछ । अर्को कुरा छिटो भुक्तानीको दृष्टिकोणबाट पनि हेर्नुपर्छ । ट्याप एन्ड पेबाट छिटो भुक्तानी हुन्छ । यो प्रविधि अफ्रिकन, यूरोपियन, अमेरिकन बजारमा लोकप्रिय छ ।

अन्य भुक्तानीको माध्यमको तुलनामा आधा समयमै ट्याप एण्ड पेबाट भुक्तानी गर्न सकिन्छ । त्यसकारण सान्दर्भिकता छ जस्तो लाग्छ ।

\"\"

डिजिटल भुक्तानीमा शतप्रतिशत समावेशीता ल्याउन अफलाइन भुक्तानी प्रविधि ल्याएका हौं । कसैलाई डिजिटल भुक्तानीमा अप्ठ्यारो परिरहेको छ भने त्यसलाई सहज बनाउने काम पनि हाम्रो हो ।

अफलाइन भुक्तानीमा २ वटा प्रविधि ल्याउनु भएको छ । यी प्रविधिले कसरी काम गर्छन् ?

हामीसँग एउटा एनएफसी प्रविधिमा आधारित फोन ट्याग छ भने अर्को सीपी क्युआर छ ।  एनएफसी प्रविधि प्रयोग गर्न केही पूर्व सर्तहरू समेत छन् । बजारमा एनएफसी सपोर्ट गर्ने फोन महंगो छ ।

एनएफसी प्रविधिलाई स्वीकार्ने माध्यम पनि महंगो छ । भाटभटेनी, बिगमार्ट, रेष्टुरेन्ट, होटलहरूमा देखिने पस मेसिन जस्तै टर्मिनल आवश्यक पर्छ, जुन महंगो हुन्छ । क्युआर ग्रो हुनु र पस नहुनुमा मूल्य प्रमुख कारण हो । एउटै पस मेसिनलाई ३०-४० हजार रूपैयाँ पर्छ ।

एनएफसी भएको फोनलाई पनि २५-३० हजार पर्छ । तर मोबाइलको पेनिट्रेसन पनि बढिरहेको छ र डिभाइसको कस्ट समेत कम भइरहेको छ । सबै क्षेत्रलाई यसले सहयोग नपुर्‍याए पनि निश्चित क्षेत्रलाई भने सहयोग पुर्‍याउँछ ।

बसको भाडा तिर्न, पेट्रोल पम्पमा पैसा तिर्न र जहाँ इन्टरनेटको पहुँच छैन् त्यहाँ ट्याप एण्ड पे प्रविधिले सहयोग गर्छ । डेटा नभएको ठाउँमा पसलेको वाईफाई मागेर, कनेक्ट गरेर पैसा तिर्न त्यति फिजिबल देखिदैन् ।

यसले भुक्तानी गर्ने प्रक्रिया लामो हुन्छ । यसका लागि हामीले एनएफसी र टोकनाइजेसन प्रविधिमा आधारित फोन ट्याग विकास गरेका हौं । त्यस्तै अर्को कस्टुमर प्रेजेन्टेड क्युआर चाहिँ मर्चेन्टले ग्राहकको क्युआर स्क्यान गरेर भुक्तानी लिन्छन् ।

पहिला पहिला पसमा कार्ड राखेर पैसा भुक्तानी हुन्थ्यो । भुक्तानीको राशि पनि मर्चेन्ट आफैले राख्थे । अहिले त्यही प्रविधि फोनमा आएको हो । अफलाइन भनेको ग्राहकलाई हो, मर्चेन्टलाई होइन् । मर्चेन्ट भने इन्टरनेटमा जोडिनु पर्छ । यसका साथै फोनपेले पस मेसिन दिने होइन् । बैंकहरूले दिने हो । फोनपले प्रविधि मात्रै तयार गरेको हो ।

मर्चेन्टले ग्राहकको पैसा तान्दा फ्रड गर्ने चान्स हुन्छ की हुँदैन् ?

फ्रड गर्ने चान्स त हुन्छ । तर यो नेपालमा नयाँ होइन् । विगत १५-२० वर्षदेखि पस मेसिन नेपालमा प्रयोग भइरहेको छ । बजारले स्वीकारेको प्रविधि हो । फ्रड हुने खतरा भएपनि हामीले त्यसको इन्टेनसिटी कम गर्ने हो । त्यसका लागि २-३ वटा कुरा हुन्छ ।

एउटा कुरा सबै मर्चेन्टले यो प्रविधि उपयोग गर्न सक्दैनन् । बैंकले पनि मर्चेन्टलाई अनबोर्ड गर्दा ड्यु डेलिजेन्स गरेको हुनुपर्छ । राम्रोसँग चिनेको हुनुपर्छ । अनि मात्रै यो सेवा दिन सकिन्छ । अर्को कुरा राष्ट्र बैंक आफैले कारोबारको सिमा तोकेको छ । प्रति कारोबार ५ हजारभन्दा बढीको गर्न पाइदैन् ।

हामीले पनि ह्याक गर्न कठिन हुने गरी प्रविधि निर्माण गरेका छौं । त्यति डराइरहनु पर्दैन् । तर पनि फ्रड, ह्याकिङ हुँदैन् भनेर शतप्रतिशत ग्यारेन्टी गर्न सकिदैन् ।

अफलाइन प्रविधि प्रयोग गर्न शुल्क तिर्नु पर्छ की पर्दैन् ?

अहिलेसम्म क्युआर प्रविधि निःशुल्क नै थियो । तर नयाँ प्रविधि महंगो भएका कारण न्युनतम शुल्क लिन्छौं । सुरूवातमा परीक्षणका लागि निःशुल्क गरेका छौं । त्यो ३ देखि ६ महिनासम्म निःशुल्क हुन सक्छ । त्यसपछि भने शुल्क लिन्छौं ।

पछिल्लो समय नेपालमा डिजिटल भुक्तानी बढ्दै गएपनि देशव्यापी हुन सकेको छैन् । अफलाइन भुक्तानीले डिजिटल कारोबारलाई देशभर लैजान मद्दत गर्ला ?

यो प्रविधि आफैमा महंगो छ । त्यसकारण देशभर लैजान सहज छैन् । शुल्कलाई कम गर्न केही काम गरेका छौं । फोनपेको बिजनेस एप पनि छ ।

फोनपे बिजनेस एप प्रयोग गर्ने मर्चेन्टसँग एनएफसी सपोर्ट गर्ने मोबाइल छ भने पस मेसिन नभएपनि भुक्तानी लिन सकिन्छ । तर पनि अहिलेको क्युआर जस्तो फैलिन सक्दैन् ।

यसले मर्चेन्टलाई सजिलो हुन्छ । कतिपय ठाउँमा भुक्तानी भएको स्क्रिनशट देखाएर ग्राहकहरूले फ्रड गरिरहेका हुन्छन् । भारतमा यस्तो खालको फ्रड धेरै भएको छ । त्यसकारण यस प्रविधिले मर्चेन्ट ढुक्क बनाउछ ।

पैसा आउने/नआउने दुविधा हुने भएन । यसलाई अझै प्रवर्द्धन गर्न योजना बनाइरहेका छौं । यस प्रविधिलाई सस्तो बनाउन पनि काम गर्दैछौं ।

कसरी प्रयोग गर्ने अफलाइन भुक्तानी सेवा ?

पहिलो यो सुविधाका लागि बैंकहरू नै फोनपेसँग आवद्ध हुनुपर्छ । बैंक हामीसँग आवद्ध भएपछि मात्रै बैंकहरूका ग्राहकले यो सुविधा लिन पाउँछन् । अहिलेसम्म अफलाइन भुक्तानीका लागि ५-६ वटा बैंक र इसेवा आवद्ध भएका छन् ।

अहिलेसम्म फोनपेको एपबाट मात्रै यो अफलाइन भुक्तानीको सुविधा लिन सकिन्छ । फोनपे एपमा गएर लगइन गरी बैंक खाता लिंक गरेर अफलाइन भुक्तानी सेवा सक्रिय गर्न सकिन्छ । त्यसपछि अफलाइन पेमेन्ट्समा क्लिक गरी फोन ट्याग वा सीपी क्युआर विकल्प छनौट गर्न सकिन्छ ।

यदी तपाईको फोनमा एनएफसी प्रविधि छ भने फोन ट्याग छनौट गर्न सक्नुहुनेछ भने यदी छैन् भने कस्टुमर प्रिजेन्टेड क्युआर विकल्प छनौट गर्न सक्नुहुनेछ ।

फोन ट्याग छनौट गर्नु भयो भने सेटिङमा गएर ‘एनएफसी एण्ड कन्ट्याक्टलेस पेमेन्ट’ इनेबल गर्न सकिने छ । अनि मर्चेन्टको टर्मिनल डिभाइसमा फोनलाई एकछिन होल्ड गरेर अफलाइन भुक्तानी गर्न सकिने छ । तर कस्टुमर प्रिजेन्ट क्युआर छनौट गर्नुभएको छ भने मर्चेन्टले तपाईको क्युआर स्क्यान गरेर भुक्तानी लिनेछ ।

अब अफलाइन भुक्तानीको सुविधा मोबाइल बैंकिङ एपमा पनि ल्याउँदै छौं ।  अफलाइन भुक्तानीको सुविधा ग्राहकले प्रयोग गर्ने मोबाइल बैंकिङ एपबाटै पनि गर्न सकिने गरी काम गरिरहेका छौं ।

हाल परीक्षण भइरहेको छ । सम्भवतः नयाँ वर्षदेखि फोनपेमा आवद्ध भएका बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले अफलाइन भुक्तानीको सुविधा प्रयोग गर्न पाउनेछन् । तर त्यसका लागि ग्राहकले एक पटक अनलाइनबाट रिक्वेस्ट गरेपछि अफलाइन सेवा प्रयोग गर्न सकिन्छ । रिक्वेष्ट पनि मोबाइल बैंकिङ एपबाटै गर्न सकिने छ ।

अहिलेसम्म प्रयोग गर्ने प्रयोगकर्ताको प्रतिक्रिया कस्तो छ ? कतिले प्रयोग गरिरहेका छन् ?

भर्खर सुरूवात भएकाले धेरै प्रयोगकर्ता छैनन् । अहिले त्यति धेरै प्रतिक्रिया आएको छैन् । कीनकी बजारमा एसेप्टेन्स पूर्वाधार एकदमै कम छ । तर पनि हामीले परीक्षणका लागि राखेको ठाउँबाट भुक्तानी गर्ने ग्राहकको प्रतिक्रिया उत्साहित छ ।

साथसाथै डेटा सेक्युरिटी बारे कन्फ्युजन पनि छ । विदेशमा भने यस्तो कुरा सामान्य छ । नयाँ प्रविधि भित्र्याउदा शंका त उब्जन्छ तर विस्तारै कम हुन्छ । एनएफसी प्रविधिमा आधारित अफलाइन प्रविधि ३ वटा लोकसनमा राखिएको छ । बैंकको पनि आफ्नै प्रक्रिया छ । तर टोकनाइजेसन गरेका ग्राहक ६-७ हजार पुगिसक्नु भएको छ ।

अफलाइनबाट हुने कारोबार रियल टाइममै हुन्छ ?

अफलाइनबाट हुने भुक्तानी रियल टाइममै हुन्छ । संयन्त्र मात्रै फरक हो । पहिला प्रयोगकर्ताले मर्चेन्टलाई पैसा पठाउथे भने अहिले मर्चेन्टले पैसा तान्ने मात्रै हो ।

अफलाइन भुक्तानीका लागि फाइदा र बेफाइदा के के छन् ?

अफलाइन भुक्तानी सेवाको फाइदा मर्चेन्टलाई बढी छ । मर्चेन्टलाई भुक्तानीको कन्फर्मेसन सजिलै हुन्छ । ग्राहकले पेमेन्ट गरेपछि मर्चेन्ट एसएमएस कुर्नु पर्ने अवस्था छ ।

एसएमएस भन्ने कुरा हाम्रो नियन्त्रणमा हुँदैन् । कति बेला समयमै आउँछ, कतिबेला आउँदैन् । त्यसले गर्दा मर्चेन्टलाई पनि एसएमएस नआउँदा सामान दिन गार्‍हो र ग्राहकलाई पनि एसएमएस आउनुजेलसम्म कुर्नुपर्ने झन्झट छ । त्यसलाई अफलाइन प्रविधिले सजिलो बनाउँछ ।

\"\"

प्रयोगकर्ताका लागि फाइदा भनेको छिटो भुक्तानी गर्न सकिन्छ । ट्याप एण्ड पे गरेर चाँडै सेवा लिन सकिन्छ । छिटो सेवा लिन पाएपछि अनुभव पनि फरक हुन्छ ।

यस प्रविधिको बेफाइदा भनेको कारोबारमा सिमा तोकिएको छ । प्रति कारोबार ५ हजार रूपैयाँ बढी भुक्तानी गर्न पाइदैन् । प्रयोगकर्तालाई एक्सेस पोइन्ट कम हुन्छ । सबै ठाउँमा अफलाइन सेवा उपलब्ध नहुन सक्छ ।

नयाँ प्रविधि भित्र्याउँदा डेटा सुरक्षामाथि प्रश्न उठेको बताउनु भयो । फोनपे आफैमा आईएसओ सर्टिफाइड कम्पनी पनि हो । ग्राहकलाई तपाईको डेटा सुरक्षित छ भनेर कसरी विश्वस्त बनाउनु हुन्छ ?

फोनपेको व्यवसायको प्रकृति भनेको सकेसम्म ‘डेटा नलिने’ हो । हामीसँग धेरै डेटा छैन् । डेटा हुने भनेको बैंकसँग हो । हामीसँग हुने भनेको कारोबारको डेटा हो । नेपालमा ग्राहकहरूले डेटामा त्यति ध्यान दिएको देखिदैन् । फोनपेको हकमा मात्र नभएर अन्यको हकमा पनि त्यस्तै छन् ।

कुन डेटा कसलाई दिने/नदिने भनेर धेरै प्रयोगकर्तासँग साक्षरता छैन् । तर एउटा जिम्मेवार रेगुलेटेड कम्पनी भएका कारण डेटालाई सुरक्षित गर्ने मापदण्डहरू छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै डेटालाई सुरक्षित गरिरहेका छौं । त्यसमा लाग्ने पूर्वाधार, सेक्युरिटी मेकानिजम सबै कार्यान्वयन गरेका छौं ।

विश्वस्त बनाउने एउटा तरिका भनेको ‘सर्टिफिकेसन’ हो । कुनै थर्टपार्टी आएर तपाईहरूको डेटा सुरक्षित छ भनिदिनु पर्‍यो । त्यो भनेको सर्टिफिकेसन हो । फोनपे आईएसओ, पीसीआईडीएसबाट सर्टिफाइड कम्पनी हो । समय समयमा नेपाल राष्ट्र बैंक आएर पनि सुरक्षा अडिट गर्ने गरेको छ ।

अफलाइन प्रविधि आफैमा महंगो छ । यस प्रविधिलाई देशैभर विस्तार गर्न सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

सरकारसँग खासै अपेक्षा छैन् । यस्ता प्रविधि ल्याउने भनेको सरकारले भन्दा पनि हामी जस्ता कम्पनी वा बैंक तथा वित्तीय संस्थाले हो । तर यसका लागि चाहिने पूर्वाधारमा सरकारले सहयोग गर्न सक्छ । डेटाको शुल्क घट्नु पर्छ ।

पस मेसिन आयातमा लाग्ने कर पनि घटाउन सकिन्छ । हामीलाई नेपाल राष्ट्र बैंकले रेगुलेटेड गर्छ । अहिलेसम्म राष्ट्र बैंकबाट राम्रो सहयोग र समन्वय भइरहेको छ ।

अझै राष्ट्र बैंकले यस प्रविधिलाई प्रवर्द्धन गरे जनमानसमा विश्वास बढ्छ । अफलाइन भुक्तानीका लागि आवश्यक पर्ने पूर्वाधारका लागि राष्ट्र बैंकले सरकार वा सरोकारवाला निकायसँग समन्वय गरिदिन सक्छ ।

मानौं, कुनै दिन नेपालमा डेटा सस्तो भयो भने अफलाइन प्रविधिको भविष्य कस्तो देख्नुहुन्छ ?

भविष्यमा आजको दिनको जस्तो पेमेन्ट सोलुसन नहुन सक्छ । यो प्रविधि मुख्य गरी डेटा शुल्क महंगो र फास्टर पेमेन्टको दृष्टिकोणबाट आएको छ । प्रविधि परिवर्तन भइरहने कुरा हो । अहिलेको जस्तो हुनुपर्छ भन्ने होइन् ।

यसकै विभिन्न भर्सनहरू आउन सक्छन् । आजभोलि फेस रिकग्निसन र आँखाको रेटिना स्क्यानबाट भुक्तानी भइरहेको छ । सार्वजनिक यातायातमा पनि यो प्रविधिलाई कार्यान्वयन गर्न सकिन्छ । तर पूर्वाधारमा अभावमा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् ।

एक प्रविधि आइसकेपछि त्यस्तो खालको क्षेत्रमा कार्यान्वयन गर्न सकिन्छ । डेटा सस्तो हुँदैमा यसको एप्लिकेसन कम हुन्छ जस्तो लाग्दैन् । डेटाको नजरबाट कम होला, मान्छे आफै नै कनेक्टेड होलान । तर यस प्रविधि अन्य विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ । यसको विभिन्न भर्सनहरू चाँहि आउँदै गर्छन् होला ।

तपाईले बस भाडामा पनि एनएफसी प्रविधिमा आधारित भुक्तानी कार्यान्वयन गर्न सकिने बताउनु भयो । तपाईहरूले यो प्रविधिमा ल्याएपछि कार्यान्वयनका लागि यातायात व्यवसायीसँग कुराकानी गर्नुभएको छ ?

नेपालमा यो प्रविधि भर्खर सुरू गर्दैछौं । यो पहिलो संस्करण हो । गाडीमा एनएफसी प्रविधिको प्रयोगमा लागि व्यवसायीसँग एक चरणको कुरा भएको छ । अझै पनि छलफल भइरहेको छ । तर केही समयपछि अब बसको भाडा पनि ट्याप एण्ड पे गरेर तिर्न सकिने छ ।

फोनपेका आगामी योजनाहरू के के छन् ?

फोनपे बजारलाई ड्राइभ गर्ने र सेवा तथा प्रडक्टमा इन्नोभेसन ल्याउने कम्पनी हो । अब हामी कार्डमा इन्नोभेसन ल्याउँदै छौं । मार्केटमा क्रेडिट कार्डको पेनिट्रेसन कम छ । त्यसको एउटा कारण ऋण लिन हुँदैन् भन्ने हाम्रो कल्चर हो ।

क्रेडिट कार्ड लिन आफैमा अप्ठ्यारो छ र लिएपछि चलाउने सिमितता छन् । त्यसकारण क्रेडिट कार्ड प्रयोग गर्ने संख्या एकदमै कम छ ।

हामीले भर्चुअल कार्ड ल्याउने तयारी गरिरहेका छौं । अब तपाईले मोबाइलमा रहेको भर्चुअल क्रेडिट कार्डबाट सामान किन्न सक्नुहुनेछ । नयाँ आर्थिक वर्ष यो सेवा सुरू गर्ने गरी तयारी गरिरहेका छौं ।