आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल कोशी एक्सिलेन्स अवार्ड २०८१ बाट सम्मानित भएका छन् ।
बुधबार सोल्टी वेस्टेन्ड इटहरीमा आयोजना भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लम्साललाई कोशी एक्सिलेन्स अवार्ड प्रदान गरेका हुन् ।
विगत १५ वर्षदेखि सूचना प्रविधिको इकोसिस्टम विकास र प्रवर्द्धनमा केन्द्रित लम्सालले सूचना तथा प्रविधि विधामा कोशी एक्सिलेन्स अवार्ड २०८१ पाएका हुन् ।
लम्सालले सन् २०१६ मा सुरू गरेको आइसिटी अवार्ड अहिले सूचना प्रविधि क्षेत्रको एउटा प्रतिष्ठित कार्यक्रम बन्न सफल भएको छ ।
लिभिङ विथ आइसिटी, आइसिटी अवार्ड, डिजिटल नेपाल कन्क्लेभ, डिजिटल संवाद जस्ता माध्यमबाट सूचना प्रविधिको विकास र सचेतनामा अग्रसर लम्साल विभिन्न सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संघ संस्थामा रहेर समेत काम गरिरहेका छन् ।