कीवर्डहरू -

विन्डोजमा एआई प्रयोगलाई सहज बनाउँदै माइक्रोसफ्ट, अब पीसी किबोर्डमा कोपाइलट की हुने

विन्डोजमा एआई प्रयोगलाई सहज बनाउँदै माइक्रोसफ्ट, अब पीसी किबोर्डमा कोपाइलट की हुने

करिब ३ दशकपछि माइक्रोसफ्टले विन्डोज किबोर्डमा ठूलो परिवर्तन ल्याउने भएको छ । एआई पीसीको अवधारणालाई अगाडि बढाउन माइक्रोसफ्टले पीसी किबोर्डमा महत्त्वपूर्ण परिवर्तन गर्न लागेको हो । 

बिहीबार माइक्रोसफ्टले विन्डोज ११ पीसीमा डेडिकेटेड कोपाइलट की राख्ने घोषणा गरेको छ । कोपाइलट की माइक्रोसफ्टका साझेदारबाट आउने नयाँ पीसी र ल्यापटपमा फ्रबुअरीदेखि देखिने छ । 

सार्वजनिक फोटो अनुसार कोपाइलट की अल्ट कीको दायाँ भागमा रहेको छ । कोपाइटल कीलाई थिचेर एआई सुविधाको अनुभव गर्न सकिने छ ।

‘लगभग ३० वर्ष अगाडि हामीले पीसी किबोर्डमा विन्डोज की ल्याएका थियौं, जसले संसारका मानिसहरूलाई विन्डोजसँग अन्तर्क्रिया गर्न सक्षम बनायो,’ माइक्रोसफ्टका सीभीपी तथा कन्जुमर सीएमओ युसुफ मेहदीले भनेका छन्, ‘हामी यसलाई विन्डोजको साथ अर्को परिवर्तनकारी क्षणको रूपमा हेर्छौं, जहाँ कोपाइलट, पीसीमा एआईको संसारमा प्रवेश विन्दु हुनेछ ।’

विन्डोजमा भएको कोपाइलटको मद्द्तबाट प्रयोगकर्ताहरूले एउटै प्रम्प्टमार्फत पीसी सेटिङ समायोजन गर्ने, व्यस्थित गर्ने, टेक्स्ट समराइज गर्ने, इमेज जेनेरेट गर्ने लगायतका काम गर्न सक्ने छन् ।  
कन्जुमर इलेक्ट्रोनिक्स शोमा कोपाइलट की भएको विन्डोज ११ पीसी सार्वजनिक हुने जनाइएको छ । माइक्रोसफ्टले पीसी किबोर्डमा सन् १९९४ मा विन्डोज लोगो भएको की ल्याएको थियो ।