कीवर्डहरू -

नेपाली मूलका डा. समिर मास्केले सुरू गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुँदै

नेपाली मूलका डा. समिर मास्केले सुरू गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुँदै

नेपाली मूलका व्यवसायी डा. समिर मास्केले स्थापना गरेको एआईमा काम गर्ने कम्पनी फ्युजमेसिन्स इंक अमेरिकाको स्टक एक्सचेन्ज नासड्याकमा सूचीकृत हुने भएको छ ।  

पब्लिक कम्पनी बनेर नासड्याकमा सूचीकृत हुने लक्ष्यसहित सीएसएलएम एक्विजिसन कर्फसँग २०० मिलियन अमेरिकी डलर भ्यालुएसन गरेर मर्जर डिलमा सम्झौता भएको हो । 

यो सम्झौतालाई फ्युजमेसिन्स र सीएसएलएमका शेयरहोल्डर र नियामकले स्वीकृत गरेपछि ‘FUSE’ संकेतसहित नासड्याकमा कारोबार हुने अपेक्षा गरिएको छ ।

फ्युजमेसिन्सका संस्थापक तथा सीईओ डा. शमिर मास्केले नेपाली मूलको कम्पनीका लागि नासड्याकमा सूचीकृत हुने महत्त्वपूर्ण कोशेढुंगा भएको बताए । ‘नेपाली मुलको कुनै पनि कम्पनीका लागि नासड्याकमा सूचीकृत हुन पाउन महत्त्वपूर्ण कोशेढंगा हो,’ मास्केले भने, ‘सीएसएलएमसँगको सहकार्यले रणनीतिक रूपमा एआईलाई डेमोक्रटाइज गर्न र उद्योगमा दिगो प्रभाव छोड्न सहयोग गर्नेछ ।’

यस सम्झौताबाट प्राप्त हुने रकमले प्रडक्टलाई सुधार, वृद्धि र विस्तार गर्न मद्दत गर्ने उनको आशा छ । सम्झौतापछि फ्युजमेसिन्समा सीएसएलएमले १९.४४ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । 

यस्तै सीएसएलएमका सीईओ चार्ल्स क्यासलले फ्युजमेसिन्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘हामीले दिर्घकालीन सह-लगानीको अवसर खोजिरहेका थियौं । त्यसैक्रममा फ्युजमेसिन्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौं,’ उनले भने, ‘नेपालमा पनि फ्युजमसिन्स सञ्चालन भइरहेको छ । त्यहाँको एआई इन्जिनको विकास तथा सोलुसन अमेरिका र विकसित बजारका इन्टरप्राइज ग्राहकका लागि समाधान हो । त्यसकारण लगानीकर्ताले फ्रन्टियर र इमर्जिङ बजारमा उपलब्ध उच्च वृद्धिको अवसरबाट लाभ उठाउन सक्ने छन् ।’

सन् २०१३ मा मास्केले अमेरिकामा फ्युजमेसिन्स स्थापना गरेका थिए । फ्युजमसिन्सले विभिन्न समस्याहरूलाई समाधान गर्न एआई सम्बन्धि अनुसन्धान तथा उत्पादन विकासमा काम गरिरहेको छ । नेपालमा पनि फ्युजमसिन्स काम गरिरहेको छ ।