कीवर्डहरू -

सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म दर्ता रोक्न सरकारलाई अनुरोध

सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म दर्ता रोक्न सरकारलाई अनुरोध

एशिया इन्टरनेट कोलिसन (एनआईसी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म दर्तामा रोक लगाउन आग्रह गरेको छ । 

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई पत्र लेख्दै एशिया इन्टरनेट कोलिसनले सामाजिक सञ्जाल विधेयकले अन्ति रूप नपाएसम्म सामाजिक सञ्जाल दर्तामा रोक लगाउने भनेको हो । 

प्रस्तावित वर्तमान कानुनले चुनौती खडा गर्ने कोलिसनले जनाएको छ । यदी ती चुनौतीहरूलाई सम्बोधन नगरिए सामाजिक सञ्जाल निर्देशिका र सामाजिक सञ्जाल विधेयक कार्यहिन हुने र नेपालको डिजिटल अर्थतन्त्रमा समेत असर गर्ने कोलिसनले चेतावनी दिएको छ । 

‘सामाजिक सञ्जाल प्लेटफर्म नियमन गर्ने नेपाल सरकारको प्रयासलाई हामी स्वीकार गर्छौं । तर निर्देशिकामा उल्लेखित केही प्रावधानमा हाम्रो चासो छ,’ पत्रमा भनिएको छ, ‘मन्त्रालयका प्रतिनिधिहरूसँगको वार्तामा प्राप्त भएका आश्वासन र एआईसीले उठाएका चासोलाई सम्बोधन गरिएको छैन् ।’

नेपालमा सामाजिक सञ्जालको प्रस्तावित दर्ता प्रक्रियामा प्रयोगकर्ताका तथ्यांक, प्लेटफर्मका गतिविधि, सुरक्षा उपाय र कर विवरण जस्ता गोप्य कागजात पेश गर्नुपर्ने व्यवस्थाले बाधा ल्याउने कोलिसनको ठहर छ । 

निर्देशिका वा विधेयकमा व्यवसायहरूले दर्ता तथा नवीकरणको नियम पालना कसरी गर्छन भन्ने कुरा अनिश्चितता रहेको पत्रमा भनिएको छ । यसले प्रतिस्पर्धा, नवप्रवर्तन र सम्भावित लगानी रोक्न सक्ने तथा डिजिटल इकोसिस्टमको विकासमा बाधा पुर्याउने कोलिसनले जनाएको छ ।

गैरकानुनी कन्टेन्ट सम्बन्धि अस्पष्टता, निश्चित अवधिभित्र कन्टेन्ट हटाउनु पर्ने जस्ता प्रावधानले मानव अधिकारमाथि प्रश्न उठाउने एआईसीको भनाइ छ । सामाजिक सञ्जालको नेपालमा अनिवार्य स्थानीय उपस्थिति हुनुपर्ने व्यवस्थाले साना कम्पनीको सञ्चालन खर्च बढ्ने, प्रवेशमा अवरोध आउने र इन्नोभेसनमा कमी आउने उनीहरूको ठम्म्याई छ । 

यस्ता व्यवस्थाका कारण नेपाली नागरिकले ग्लोबल इन्टरनेट सेवाको पहुँच पाउन नसक्ने एनआईसीले जनाएको छ । एशिया इन्टरनेट कोलिसन (एनआईसी) मा लाइन, पिनट्रेष्ट्र, अमेजन, एप्पल, ग्र्याब, गूगल, बुकिङ डटकम, याहु, मेटा, स्पोटिफाइ, भाइबर, एक्स, स्न्याप, लिंक्डइन, शपिफाइ र फेडएक्स सदस्य रहेका छन् ।