कीवर्डहरू -

ट्यालेन्ट कनेक्ट्सले ल्यायो एप्लिकेन्ट ट्रयाकिङ सिस्टम, हाइरिङ प्रक्रिया छिटो र सहज हुने

ट्यालेन्ट कनेक्ट्सले ल्यायो एप्लिकेन्ट ट्रयाकिङ सिस्टम, हाइरिङ प्रक्रिया छिटो र सहज हुने

कुनै पनि कम्पनी वा संस्थाको हाइरिङ (कर्मचारी भर्ना) प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित ट्यालेन्ट कनेक्ट्सले एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटिएस) सार्वजनिक गरेको छ । 

आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा ट्यालेन्ट कनेक्ट्सले औपचारिक रूपमा एटीएस सार्वजनिक गरेको हो । हाइरिङ प्रक्रियामा समस्याको रूपमा देखिएको क्यान्डिडेट (उम्मेद्वार वा आवेदनकर्ता) व्यवस्थापनलाई सहज बनाउन एप्लिकेन्ट ट्रयाकिङ सिस्टम ल्याएको ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापा बताए । 

‘हाइरिङ प्रक्रियामा एउटा समस्याको रूपमा क्यान्डिडेट व्यवस्थापनलाई सहज बनाउने एटीएस ल्याएका हौं,’ थापाले आईसीटी समाचारसँग भने, ‘एटीएसले एचआर (मानव संसाधन) व्यस्थापकको कामलाई छिटो र सहज बनाउने अपेक्षा गरिएको छ ।’

एटीएसमा उम्मेद्वारको पूर्व मूल्यांकन गर्न सकिने, इमेल पठाउन सकिने, भिडियो अन्तर्वाता लिन सकिने, क्यालेन्डर सिंक गर्न सकिने लगायतका फिचर रहेका छन् । यस बाहेक कुनै कम्पनीलाई आकश्मिक रूपमा कर्मचारी आवश्यक परे ट्यालेन्ट कनेक्ट्सको ‘ट्यालेन्ट पुल’लाई श्रोतको रूपमा उपयोग गर्न सकिने छ । 

अहिले १२ हजार बढीको संख्यामा रहेको ट्यालेन्ट पुललाई बढाएर लाखौं बनाउने कम्पनीको योजना रहेको छ । एटीएस साना तथा ठूला दुबै कम्पनीलाई उपयोगी हुने उनको दावी छ । 

विगत २ वर्षदेखिको अध्ययन, अनुसन्धानबाट विकास भएको एटीएस अहिले २०० बढी कम्पनीले प्रयोग गरिरहेका छन् । प्रणालीबाट विगतमा कसले आवेदन दियो, प्रक्रिया कहाँसम्म पुगेको थियो लगायतका सबै जानकारी पाउन सकिने छ । 

एटीएस क्लाउडमा आधारित वेब बेस्ड प्रणाली हो । यसलाई मोबाइलबाट पनि सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवा प्रयोग गर्न शुल्क तिर्नुपर्नेछ । विदेशी एटीएसको तुलनामा ट्यालेक्ट कनेक्ट्सको एकदमै सस्तो भएको थापा बताउँछन् । 

कम्पनीका अनुसार एटीएसलाई नेपालको लिंकडिन बनाउने योजना छ । यस बाहेक लिंकडिनसँग सहकार्य गर्ने समेत कम्पनीले तयारी गरेको छ ।

ट्यालेन्ट कनेक्ट्सले अब विदेशमा समेत आफ्नो सेवा विस्तार गर्न खोजिरहेको छ । छिट्टै अमेरिका, भारत, बंगलादेशमा सेवा विस्तार गर्ने गरी काम भइरहेको ट्यालेन्ट कनेक्ट्सले जनाएको छ । ट्यालेन्ट कनेक्ट्सले एचार व्यवस्थापन प्रणाली समेत सञ्चालन गरिरहेको छ ।