कीवर्डहरू -

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर

नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अन्तर्राष्ट्रियस्तको टियर ३ डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

प्रि फेब्रिकेटेड कन्टेनर प्रयोग गरी निर्माण गरिएको डाटा सेन्टरबाट भविष्यमा व्यावसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी प्राधिकरणको छ । तीन तलाको भवनको भुईँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् ।

पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् ।सो डाटा सेन्टरको विपद रिकभर सेन्टरको रूपमा प्राधिकरणले नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ ।

रिकभरी सेन्टर नबनेसम्मका लागि हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरको रुपमा सञ्चालन गरिने छ । नयाँ डाटा सेन्टरमा ४० ओटा सूचना प्रविधि र्याक रहेका छन्, जसमा ३६ ओटा सर्भर र ४ ओटा नेटवर्क र्याक छन् । 

टियर ३ मापदण्डका लागि तोएिका सर्तहरु पूरा गर्न आवश्यक व्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायतको व्यवस्था गरिएको छ । विद्युत् आपूर्तिका लागि वहुवैकल्पिक व्यवस्था समेत गरिएको छ ।

डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारी खटाइएको छ। केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनीसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्षको नेभेम्बरबाट काम सुरु भएको थियो।

सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब १ अर्ब ४० करोड रुपैयाँ छ।