कीवर्डहरू -

केवाईसी भर्ने प्रक्रियालाई सहज बनाउँदै ठेगाना आईडी एप, अब मोबाइलबाटै सबै विवरण पठाउन मिल्ने

केवाईसी भर्ने प्रक्रियालाई सहज बनाउँदै ठेगाना आईडी एप, अब मोबाइलबाटै सबै विवरण पठाउन मिल्ने

अहिलेसम्म कुनै पनि संस्थाको केवाईसीका लागि आवश्यक पर्ने सबै विवरण कार्यालयमै गएर कागजमा लेख्नु पर्ने बाध्यता छ । एकातिर हामी प्रविधिमैत्री सेवाको कुरा गरिरहेका छौं भने अर्कोतिर कागजलाई छोड्न सकेका छैनौं । हरेक पटक विभिन्न संस्थामा एउटै विवरण भरिरहनु पर्ने बाध्यता छ । तर अब यही समस्यालाई समाधान गर्न ठेगाना आईडी एप बजारमा आएको छ । 

ठेगाना सर्भिसेज प्रालिले व्यक्तिगत तथा संस्थागत केवाईसीको सम्पूर्ण विवरण डिजिटल माध्यमबाटै पठाउन मिल्ने गरी ठेगाना आईडी मोबाइल एप ल्याएको हो । पहिचान प्रमाणिकरण प्रक्रिया सहज र सरल बनाउँदै प्रयोगकर्ताको व्यक्तिगत विवरण, डिजिटल प्रमाणपत्र तथा दस्ताबेजहरूलाई सुरक्षित राख्न सघाउने उद्देश्यसहित ठेगाना आईडी मोबाइल एप ल्याएको ठेगाना सर्भिसेज प्रालिका संस्थापक विशाल केसीले बताए ।

यो एप एन्ड्रोइडआईओएस प्लेटफर्ममा चलाउन सकिने छ । एप डाउनलोड गरेपछि अकाउन्ट बनाएर आफ्नो सबै विवरण राख्नुपर्नेछ । ठेगाना आईडी एपबाट प्रयोगकर्ताले आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण, प्रमाणपत्र तथा दस्तावेजहरु आफ्नो पूर्ण नियन्त्रणमा गोपनीयता सुनिश्चित गर्दै डिजिटल पहिचान बनाउने सक्ने छन् । 

प्रयोगकर्ताहरुले आफ्नो सम्पुर्ण व्यक्तिगत विवरण, प्रमाणपत्रहरु तथा दस्तावेजहरु एपमा राख्ने मात्र नभई एक चरणको डिजिटल प्रमाणिकरण समेत गर्नुपर्नेछ । यसमा राखिएका विवरण सम्बन्धित व्यक्तिको पहुँचमा मात्रै रहने र सम्बन्धित निकाय संस्थालाई पठाउँदा पनि पूर्ण सुरक्षित रूपमा पठाउन सकिने कम्पनीको दावी छ । 

ठेगाना आईडी एपमा अत्याधुनिक ओसीआर प्रविधि समेत प्रयोग गरिएको छ । एपलाई सुरक्षित बनाउनका लागि बायोमेट्रिकसहित विवरण प्रमाणीकरणको व्यवस्था गरिएको छ । यसबाट प्रयोगकर्ताहरूले आफ्नो पहिचान कागजातहरू सिधै एपमार्फत सम्बन्धित संस्था निकायलाई पठाउन सक्नेछन् भने आफ्नो पहिचान विवरण तथा दस्तावेजहरु हराउने वा गलत हातमा पर्न सक्ने जोखिमलाई समेत कम गर्न सकिने कम्पनीको भनाइ छ । 

एपमा राखिएको सम्पूर्ण विवरण तथा दस्तावेजहरु विशेष रूपमा मोबाइल उपकरणमा स्थानीय रूपमा राखिने र त्यसका अतिरिक्त प्रतिलिपि नहुने बताइएको छ । यो सेवा ठेगाना सर्भिसेसमा आवद्ध भएका संस्थाले प्रयोग गर्न सक्ने छन् । यसमा अहिलेलाई नेपाल टेलिकम आवद्ध भएको छ । टेलिकमका ग्राहकले मोबाइल एपबाटै केवाईसी अपडेट गर्न सक्ने छन् । साथै अन्य कम्पनीसँग पनि सहकार्य गर्दै जाने योजना कम्पनीले बनाएको छ । हाल बैंकसँग कुरा भइरहेको केसीले जानकारी दिए ।