आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १२ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।
अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ प्रडक्ट छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।
आफुलाई मन परेको उत्कष्ट ५ प्रडक्ट मध्येबाट एउटा प्रडक्टलाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ । भोटिङ आगामी मंसिर २४ गते राति १२ बजेसम्म गर्न सकिने छ ।
प्रडक्ट आइसिटी अवार्ड, आईटी प्रडक्टहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ । यस विधामा विगत १ वर्षको अवधिमा विकास भएका आईटी प्रडक्टहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ प्रडक्ट –
आयल्स पल्स
आयल्स तयारीलाई सरल, सहज र सस्तो बनाउने एआईमा आधारित प्लेटफर्म हो, आयल्स पल्स । यसले एआई स्पीकिङ मोक टेस्ट र राइटिङ मूल्यांकनमार्फत वास्तविक परीक्षा जस्तै वातावरणमा अभ्यास गर्ने अवसर दिन्छ ।
आयल्स पल्सले तत्काल ब्याण्ड स्कोर अनुमान र व्यक्तिगत फिडब्याक प्रदान गर्छ, जसले विद्यार्थीलाई आफ्ना कमजोरी चिन्न र सुधार गर्न सहयोग पुर्याउँछ ।
आईफाभेन्ड
आईफाभेन्ड नेपालमै विकास भएको स्मार्ट भेन्डिङ मेसिन हो, जसले हार्डवेयर र सफ्टवेयर एकीकृत गरी रिटेल वितरण प्रणालीलाई अटोमेटेड बनाउँछ। अफिस, विद्यालय, अस्पताल, मल र सार्वजनिक स्थानहरूमा २४ घण्टा उपलब्ध यो मेसिनले लाइन लाग्ने बाध्यता हटाउँदै, अनलाइन भुक्तानीमार्फत खुद्रा सामान लिन सरल र सहज बनाउँछ।
माई क्युआर
माई क्युआर, स्मार्ट क्युआरले तयार पारेको समावेशी क्यूआर भुक्तानी पूर्वाधार हो, जसले बैंक, वालेट र सहकारीबीच अन्तरआवद्धता प्रदान गर्छ।
अधिकांश क्युआर प्रणालीहरू सीमित नेटवर्कमा मात्र चल्ने भएकाले लाखौं प्रयोगकर्ता सेवाबाट वञ्चित छन्, तर माई क्युआरले सबै प्लेटफर्मबीच अन्तरआवद्धता गराउँदै भुक्तानीलाई सहज बनाएको छ ।
क्विकसीसीए
क्विकसीसीए बैंकहरूको इनवार्ड चेक प्रोसेसिङ स्वचालित बनाउने प्रडक्ट हो। यसले OCR/ICR प्रविधि प्रयोग गरी चेक विवरण स्वतः निकाल्ने र प्रमाणीकरण गर्ने काम गर्छ। पुराना कोर बैंकिङ प्रणालीसँग सजिलै एकीकृत गर्न सकिने यो प्रणालीले अन्य बैंकिङ कागजातहरू पनि अटोमेट गर्न सक्छ ।
वायुदृष्टि
वायुदृष्टि, हावाको गुणस्तर मापन, पूर्वानुमान र शुद्धीकरणमा केन्द्रित प्रडक्ट हो। यसको सस्तो र स्केलेबल इन्डोर–आउटडोर मोनिटरिङ सिस्टमले PM2.5, PM10, CO₂, तापक्रम, आर्द्रता, हावाको गति र ओजोन जस्ता तत्वहरू मापन गर्छ।
वायुदृष्टिले आफ्नो ड्यासबोर्ड र एपीआई सर्भिसेसमार्फत रियलटाइम डेटा, स्वास्थ्यमा पर्ने प्रभाव र एआईमा आधारित पूर्वानुमान उपलब्ध गराउँदै आएको छ ।
आईसीटी समाचार