कीवर्डहरू -

एप्पलको डब्लुडब्लुडीसी २०२४ मा के के हुनेछन् सार्वजनिक ?

एप्पलको डब्लुडब्लुडीसी २०२४ मा के के हुनेछन् सार्वजनिक ?

एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन (डब्लुडब्लुडीसी २०२४) आज अर्थात् जुन १०, २०२४ बाट सुरु हुँदैछ । डब्लुडब्लुडीसी २०२४ जुन १४ सम्म चल्नेछ । हरेक पटक झै यस पटक पनि धेरै सफ्टवेयरहरु सार्वजनिक गरिने छ । डब्लुडब्लुडीसी २०२४ आज नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । 

यो वर्ष पनि एप्पलले आफ्नो डब्लुडब्लुडीसी २०२४ कार्यक्रममा आईफोन, आईप्याड, एप्प्ल वाच, एप्पल टिभी, होम पड, एयर पड्स, एप्पल भिजन प्रो र म्याकको लागि नयाँ अपरेटिङ सिस्टम लन्च गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रममा कुनै पनि हार्डवेयर उत्पादन लन्च हुने अपेक्षा गरिएको छैन तर आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा ठूलो घोषणा हुन सक्ने छ ।

डब्लुडब्लुडीसी २०२४ एप्पल पार्कमा आयोजित हुनेछ । डब्लुडब्लुडीसी २०२४ लाई एप्पलको युट्युब च्यानल र वेबसाइटमा प्रत्यक्ष हेर्न सकिने जनाइएको छ । यो ईभेन्ट भौतिक रुपमै भइरहेको छ तर तपाईं यसमा अनलाइन पनि भाग लिन सक्नुहुन्छ । एप्पलको यस कार्यक्रममा विश्वभरका डेभलपरहरु सहभागी हुन्छन् ।

एप्पलको यो सम्मेलनमा १०० वटा प्राविधिक सत्र हुनेछन्, जसमा एप्पलका डिजाइनर, इन्जिनियर र विज्ञहरुको सहभागिता रहनेछ । वार्षिक स्विफ्ट स्टुडेन्ट च्यालेन्जका ५० विजेताहरूको पनि घोषणा गरिनेछ । एप्पल डिजाइन अवार्डका विजेताहरूको पनि घोषणा गरिनेछ ।

डब्लुडब्लुडीसी २०२४ मा सबैको नजर आईओएस १८ मा हुनेछ । यसबाहेक, आईप्याड ओएस १८, म्याकओएस १५, वाचओएस ११, टिभी ओएस १८ र भिजन ओएस २ पनि लन्च गरिनेछ ।

नयाँ अपरेटिङ सिस्टममा धेरै परिवर्तनहरू देख्न सकिन्छ । एप्पलले एआईका लागि ओपनएआई र गुगल जस्ता कम्पनीहरूसँग कुरा गरिरहेको छ ।