कीवर्डहरू -

ह्युम्यानोइड रोबोटमा काम गर्दै मेटा

ह्युम्यानोइड रोबोटमा काम गर्दै मेटा

मेटाले ह्युम्यानोइड रोबोटमा काम गरिरहेको ब्लुमबर्गले जनाएको छ । एआई र अगुमेन्टेड रियालिटी (एआर) प्रविधिको फाइदा उठाउँदै ह्युम्यानोइड रोबोटहरूको प्लेटफर्म बनाउने योजना बनाइरहेको छ, जसले घरायसी कामहरू गर्न सक्छ ।

मेटाले आफ्नो रियालिटी ल्याब्स हार्डवेयर डिभिजनभित्र नयाँ टिम बनाइरहेको छ, जसले Quest VR हेडसेट र Orion AR गिलास प्रोजेक्टको अनुसन्धान गर्छ । सुरुवाती रूपमा, मेटाले रोबोट हार्डवेयर निर्माण गर्नेछ, तर यसको दीर्घकालीन लक्ष्य गुगलको एन्ड्रोइड प्लेटफर्म जस्तै हो, जहाँ गुगलले सफ्टवेयर बनाउँछ जुन लगभग सबै उद्योग (एप्पल बाहेक) प्रयोग गर्छन् । 

मेटाले आधारभूत सेन्सर, एआई, र सफ्टवेयर बनाउनेछ, जुन अन्य कम्पनीहरूले आफ्ना हार्डवेयरहरूमा प्रयोग गर्न सक्नेछन् । सरल शब्दमा, मेटा ‘एन्ड्रोइड अफ एन्ड्रोइड्स’ बन्न चाहन्छ ।

सुरुमा, मेटाले घरायसी कामहरूलाई आफ्नो मुख्य फोकस बनाउनेछ । ब्लूमबर्गका अनुसार, यो परियोजनाले लुगा फोल्डिङ गर्ने, पानीको गिलास बोक्ने, डिशवाशरमा भाँडा राख्ने जस्ता कार्यहरू गर्न सक्ने रोबोट निर्माण गर्ने लक्ष्य राखेको छ । 

मेटाले चिनियाँ रोबोटिक्स कम्पनी युनिट्री र क्यालिफोर्निया स्थित फिगर एआई जस्ता कम्पनीहरूसँग प्रारम्भिक छलफल गरेको बताइन्छ । फिगर एआईले ओपन एआई, एनभीडीया, माइक्रोसफ्ट, इन्टेल र जेफ बेजोसको लगानी पाएको छ । हालका ह्युम्यानोइड रोबोटहरू अझै घरायसी काम गर्न सक्षम छैनन्, तर यसको एआई र एक्सएआर प्रविधि तर्फको लगानीले यस दिशामा ठूलो प्रगति गर्ने मेटाको भनाइ छ ।