बाजुरा । सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरामा दूरसञ्चार सेवा गम्भीर रूपमा प्रभावित बनेपछि स्थानीय जनजीवन नै अस्तव्यस्त बन्न थालेको छ । पछिल्ला केही महिनादेखि नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले जिल्लाका सबै नौ स्थानीय तहका बासिन्दा प्रत्यक्ष मारमा परेका छन् ।
स्थानीयका अनुसार फोन लाग्ने तर आवाज नआउने, कुराकानीकै बीचमा लाइन काटिने, आवाज टुक्राटुक्रा सुनिने जस्ता समस्या सामान्य जस्तै भइसकेका छन् । मोबाइल इन्टरनेट सेवा, विशेष गरी फोरजी पनि स्थिर रूपमा चल्न नसक्दा सूचना आदान–प्रदानमा ठूलो अवरोध सिर्जना भएको छ ।
दुर्गम बस्तीको अवस्था झनै दयनीय
नेटवर्क कमजोर बन्दै जाँदा बाजुराका धेरै गाउँबस्ती अहिले लगभग सम्पर्कविहीन अवस्थामा पुगेका छन् । पूर्वी–उत्तरी भेगका बस्तीहरूमा सञ्चार सेवा झनै दयनीय रहेको स्थानीयको गुनासो छ ।
हिमाली गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा त फोन प्रयोग गर्नु त परै जाओस्, नेटवर्कको अनुभूति समेत गर्न नसकिएको बताइन्छ । त्यस्तै ‘अर्को नेपाल’ भनेर चिनिने गुम्बा गाउँका बासिन्दा अझै पनि नियमित फोन सेवाबाट वञ्चित छन् ।
टावर बिग्रिएपछि समस्या झन् चर्कियो
२०७५ सालमा निर्माण गरिएको बिच्छ्या टावर २०८२ जेठ १९ गतेदेखि बिग्रिएको र हालसम्म मर्मत नभएकाले बिच्छ्या क्षेत्रका बासिन्दा निरन्तर समस्यामा छन् । स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका लगायतका विभिन्न बस्तीमा पनि नेटवर्क अस्थिर छ ।
सोलारमा निर्भर टावर, घामसँगै सेवा
जिल्लाका अधिकांश टेलिकम टावर सोलार ऊर्जामा निर्भर छन् । जसका कारण घाम लाग्दा मात्रै सेवा केही हदसम्म सुधारिने र बादल लागेपछि वा बेलुका पर्दा नेटवर्क पूर्ण रूपमा अवरुद्ध हुने समस्या देखिएको छ । दुर्गम भूगोल र विद्युत् अभावले समस्या थप जटिल बनाएको छ ।
प्रयोगकर्ता बढे, क्षमता उस्तै
टेलिकम कार्यालय बाजुराका अनुसार कतिपय स्थानमा टावरको क्षमता भन्दा बढी प्रयोगकर्ता हुँदा पनि सेवा प्रभावित भएको हो । बुढीगंगा, त्रिवेणी, खप्तड छेडेदह, गौमुल र बडीमालिका क्षेत्रमा समेत यस्तै समस्या व्यापक छ ।
समाधानका लागि नयाँ योजना
टेलिकमले बाजुरालाई पूर्ण रूपमा दूरसञ्चार पहुँचमा ल्याउने लक्ष्यसहित १७ नयाँ स्थानमा टावर स्थापनाको सम्भाव्यता अध्ययन (सर्भे) गरिसकेको जनाएको छ । साथै, उपकरण थप्ने, पावर क्षमता बढाउने र नयाँ टावर जडान गर्ने काम अघि बढाइएमा हालको समस्या समाधान हुने विश्वास गरिएको छ ।
तर तत्काल सुधार नआउँदा स्थानीयवासीले भने सञ्चार जस्तो आधारभूत सेवाबाटै वञ्चित हुनु परेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गरिरहेका छन् ।
आईसीटी समाचार