कीवर्डहरू -

काठमाडौं वडा १७ मा स्मार्ट गभर्नेन्स, एआई मार्फत नागरिक सेवा सुरु

काठमाडौं वडा १७ मा स्मार्ट गभर्नेन्स, एआई मार्फत नागरिक सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अत्याधुनिक ‘कलबोट’ सेवा सञ्चालनमा ल्याएको छ । अब सेवाग्राहीले वडा कार्यालयमा फोन गर्दा प्रारम्भिक जिज्ञासाको उत्तर एआई प्रणालीमार्फत नै प्राप्त गर्नेछन् ।

वडा कार्यालयका अनुसार नागरिकले सेवा, सिफारिस, कर, प्रमाणपत्र लगायत विभिन्न विषयमा फोनमार्फत आवश्यक जानकारी लिन सक्नेछन् । एआई प्रणालीले तत्काल समाधान दिन नसकेको अवस्थामा भने कल स्वत: सम्बन्धित कर्मचारी वा वडा प्रतिनिधि कहाँ ‘फरवार्ड’ हुने व्यवस्था गरिएको छ ।

महानगरभित्र डिजिटल सेवा विस्तार गर्ने अभियानअन्तर्गत सुरु गरिएको यो प्रणालीलाई स्थानीय तहमा प्रविधिमैत्री सेवा प्रवाहको नयाँ अभ्यासका रूपमा हेरिएको छ । वडा कार्यालयले एआईमा आधारित सेवा सञ्चालनपछि नागरिकले छिटो, सहज र प्रभावकारी सूचना प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।

स्थानीय तहमा एआई प्रयोग गरेर प्रत्यक्ष नागरिक सेवा दिने यो प्रयासलाई काठमाडौं महानगरपालिकाको ‘स्मार्ट गभर्नेन्स’ अभियानअन्तर्गत महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।