कीवर्डहरू -

श्रम स्वीकृति पासवर्ड बिर्सिएपछि कसरी रिसेट गर्ने ?

श्रम स्वीकृति पासवर्ड बिर्सिएपछि कसरी रिसेट गर्ने ?

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रणालीमा प्रयोग हुने लगइन आइडी र पासवर्ड बिर्सिए पनि मोबाइल नम्बर वा इमेल बिना नै पासवर्ड रिसेट गर्न सकिने नयाँ व्यवस्था लागू गरेको छ ।

अब सेवाग्राहीले आफ्नो जन्म मिति र राहदानी जारी मिति प्रयोग गरेर स्वत: पासवर्ड रिसेट गर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन आवेदन दिने क्रममा धेरै सेवाग्राहीले पासवर्ड बिर्सिँदा लगइनमा समस्या भोगिरहेको गुनासो बढेपछि यो सुविधा थप गरिएको हो ।

विभागका अनुसार प्रणालीलाई अझ सहज र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित यो नयाँ विकल्प लागू गरिएको हो ।

त्यसैगरी, अब सेवाग्राहीले आफ्नो व्यक्तिगत प्रोफाइलमै गन्तव्य मुलुकको कम्पनीको नाम स्वयं थप गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ ।

विभागले प्रणालीको सुरक्षालाई ध्यानमा राख्दै सेवाग्राहीलाई आफ्नो राहदानीको फोटो वा व्यक्तिगत विवरण अरूलाई उपलब्ध नगराउन आग्रह गरेको छ ।

साथै, कम्पनीको नाम थप गर्दा वैदेशिक रोजगारी सम्बन्धी आधिकारिक कागजातमा उल्लेख भएको कम्पनीको नाम मात्र प्रविष्ट गर्न पनि अनुरोध गरिएको छ ।