कीवर्डहरू -

बुकमार्कदेखि भिडियोसम्म, एक्सले ल्यायो नयाँ निजी हब

बुकमार्कदेखि भिडियोसम्म, एक्सले ल्यायो नयाँ निजी हब

काठमाडौं । एक्सले प्रयोगकर्ताहरूका बुकमार्क, लाइक गरिएका पोस्ट, लेख तथा लामो भिडियो सामाग्रीलाई व्यवस्थित रूपमा हेर्न मिल्ने नयाँ ‘प्राइभेट हब’ सार्वजनिक गरेको छ । कम्पनीले “History” नामक नयाँ ट्याबमार्फत यो सुविधा उपलब्ध गराएको हो ।

कम्पनीका प्रोडक्ट प्रमुखका अनुसार नयाँ ट्याब आजदेखि iOS एप प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । उनले टाइमलाइन अत्यन्त छिटो अपडेट हुने भएकाले प्रयोगकर्तालाई लामो सामाग्री पछ्याउन र पछि पुन: हेर्न सहज बनाउन यो सुविधा ल्याइएको बताएका छन् ।

प्रविधिसम्बन्धी वेबसाइट TechCrunch का अनुसार एक्सले पुरानो “Bookmarks” ट्याब हटाएर त्यसको सट्टा “History” ट्याब ल्याएको हो । नयाँ ट्याबमा प्रयोगकर्ताले बुकमार्क गरेका पोस्ट, लाइक गरिएका सामाग्री, हेरेका लेख तथा भिडियोहरू समावेश हुनेछन् । कम्पनीका अनुसार यी सबै सामाग्री निजी रहनेछन् ।

बुकमार्क र लाइक प्रयोगकर्ताले आफैं सेभ गरेका पोस्ट हुन् भने लेख र भिडियोहरू प्रयोगकर्ताले एक्समा हेरेका सामाग्रीका आधारमा स्वत: समावेश हुने जनाइएको छ । नयाँ “History” ट्याबले स्क्रोल गर्दा छुटेका वा पछि पुन: हेर्न चाहिएका सामाग्री फेला पार्न सजिलो बनाउने अपेक्षा गरिएको छ ।

यद्यपि, कम्पनीले सार्वजनिक गरेको प्रमोसनल तस्बिरमा iPhone को समय “4:20” देखिएको विषयलाई लिएर सामाजिक सञ्जालमा छुट्टै चर्चा पनि भएको छ । उपयोगी सुविधाका रूपमा हेरिए पनि एक्सको नयाँ अपडेट प्रति प्रयोगकर्ताहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको बताइएको छ ।