कीवर्डहरू -

क्यान महासंघको कार्यवाहक अध्यक्षमा अधिकारी, अघि सारे ५ डिजिटल प्राथमिकता

क्यान महासंघको कार्यवाहक अध्यक्षमा अधिकारी, अघि सारे ५ डिजिटल प्राथमिकता

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी चिरञ्जीवी अधिकारीले औपचारिक रूपमा सम्हालेका छन् । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्रमुख छाता संगठनमा भएको यो नेतृत्व परिवर्तनलाई उद्योगभित्र नीति सुधार र डिजिटल रूपान्तरणतर्फको सम्भावित नयाँ दिशासँग जोडेर हेरिएको छ ।

नयाँ जिम्मेवारी सम्हाल्दै अधिकारीले आफूलाई प्राप्त भूमिकालाई केवल औपचारिक पद नभई देशको डिजिटल भविष्य निर्माणसँग जोडिएको महत्वपूर्ण दायित्वका रूपमा लिएको बताएका छन् । उनले नेपालको सूचना प्रविधि क्षेत्रलाई दीर्घकालीन रूपमा सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार, “हाम्रो यात्रा आजदेखि सुरु भएको छ । सबै सरोकारवालाले हातेमालो गर्दै नेपाललाई डिजिटल प्रविधिको क्षेत्रमा विश्वस्तरीय गन्तव्य बनाउनुपर्छ ।”

आईसीटी क्षेत्र तीव्र रूपमा विस्तार भइरहे पनि नीति, संरचना र कार्यान्वयनबीचको दूरी अझै चुनौतीका रूपमा रहेको सन्दर्भमा अधिकारीले उद्योगको संस्थागत विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

उनले क्यान महासंघले अघि सारेका पाँच प्रमुख नीतिगत प्राथमिकता यसप्रकार रहेको जानकारी दिएका छन्;
१. सूचना प्रविधिलाई उद्योगको मान्यता र एआई सुशासन
२. स्वदेशी सफ्टवेयरलाई प्राथमिकता
३. स्टार्टअप र नवप्रवर्तन प्रवर्द्धन
४. सरकारको भूमिकाबारे स्पष्ट दृष्टिकोण
५. एकीकृत कानुन, कर सहुलियत र डिजिटल भुक्तानी प्रणाली