कीवर्डहरू -

स्मार्टफोनको चार्जिङ पोर्ट बिग्रनबाट जोगाउन नगर्नुहोस् यी ४ गल्ती

स्मार्टफोनको चार्जिङ पोर्ट बिग्रनबाट जोगाउन नगर्नुहोस् यी ४ गल्ती

काठमाडौं । स्मार्टफोनको ब्याट्री २० प्रतिशत वा त्योभन्दा कम हुना साथ हामी हतारहतार फोन चार्जमा लगाउँछौँ । तर यस क्रममा कतिपयले अनजानमै यस्ता गल्ती गरिरहेका हुन्छन्, जसले फोनको यूएसबी टाइप-सी पोर्टमा क्षति पुर्‍याउन सक्छ । अहिले अधिकांश स्मार्टफोनमा चार्ज गर्न यूएसबी टाइप-सी पोर्ट नै प्रयोग हुन थालेको छ ।

यो पोर्ट फोन चार्ज गर्न मात्र नभई डेटा ट्रान्सफरलगायत अन्य कामका लागि पनि प्रयोग गरिन्छ । यस्तो पोर्ट बिग्रिएमा मोबाइल चार्ज गर्न समस्या हुन सक्छ । त्यसलाई मर्मत गराउन सर्भिस सेन्टरसम्म पुग्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले स्मार्टफोनको चार्जिङ पोर्ट बिग्रनबाट जोगाउन निम्न गल्ती गर्नबाट बच्नुपर्छ ।

केबललाई जोडले लगाउने

फोन चार्ज गर्दा केबल गलत तरिकाले लगाउने वा बल प्रयोग गरेर कनेक्ट गर्ने गर्दा पोर्टभित्र रहेका कनेक्टरमा क्षति पुग्न सक्छ । यूएसबी टाइप-सी कनेक्टर दुवैतर्फबाट फोनमा जोड्न मिल्ने भएकाले यसलाई जबरजस्ती घुसाउने प्रयास गर्नु हुँदैन ।

केबल सहज रूपमा कनेक्ट नभएमा त्यसलाई निकालेर सही तरिकाले पुनः जोड्ने प्रयास गर्नुपर्छ । बल प्रयोग गरेर केबल लगाउँदा पोर्ट बिग्रन सक्छ ।

पोर्टमा धुलो र फोहोर जम्न दिने

मोबाइल फोनलाई खल्ती, झोला वा धुलो भएको ठाउँमा राख्दा यसको यूएसबी टाइप-सी पोर्टमा धुलो तथा साना कणहरू जम्मा हुन सक्छन् । यसले चार्जिङ केबल राम्रोसँग कनेक्ट हुन नदिने र मोबाइल बारम्बार चार्जिङबाट डिस्कनेक्ट हुने समस्या निम्त्याउन सक्छ ।

पोर्ट सफा गर्दा कहिल्यै पनि धारिलो धातुका वस्तु प्रयोग गर्नु हुँदैन । आवश्यकता परेमा प्राविधिकको सहयोग लिएर मात्र पोर्ट सफा गराउनुपर्छ ।

चार्जिङका क्रममा फोन चलाउने

फोन चार्ज भइरहेका बेला प्रयोग गर्दा पनि केबलमा दबाब पर्न सक्छ । विशेष गरी फोनलाई पटक-पटक घुमाउने वा केबललाई बङ्ग्याएर राख्ने गर्दा यस्तो समस्या आउन सक्छ । यसले चार्जिङ पोर्टसँगै केबलको कनेक्सनमा समेत क्षति पुर्‍याउन सक्छ ।

त्यसैले फोन चार्ज गर्दा केबललाई सीधा राख्ने र कनेक्टरमा कुनै प्रकारको दबाब नपर्ने कुरामा ध्यान दिनुपर्छ ।

भिजेको पोर्टमा चार्जर जोड्ने

मोबाइलको चार्जिङ पोर्टमा चिस्यान वा पानी भएको अवस्थामा चार्जिङ केबल जोड्नु जोखिमपूर्ण हुन सक्छ । यसले पोर्टमा खिया लाग्ने तथा विद्युतीय क्षति हुने सम्भावना बढाउँछ ।

त्यसैले मोबाइलको चार्जिङ पोर्ट भिजेको अवस्थामा चार्जर जोड्नु हुँदैन । पोर्ट पूर्ण रूपमा सुकिसकेपछि मात्र चार्ज गर्ने गर्नुपर्छ ।