काठमाडौं । गुगलले आफ्नो एआई प्लेटफर्म जेमिनाइ (Gemini) प्रयोगकर्ताका लागि नयाँ ‘पर्सनल अवतार’ (Personal Avatar) फिचर सार्वजनिक गरेको छ । यस फिचरको मद्दतले प्रयोगकर्ताले आफ्नै अनुहार र आवाज समावेश भएको एआई अवतार बनाउन सक्नेछन् । उक्त अवतार प्रयोग गरेर एआईमार्फत फोटो तथा भिडियो समेत सिर्जना गर्न सकिनेछ ।
यसका साथै प्रयोगकर्ताले आफ्नो अवतार साथीभाइ, परिवारका सदस्य तथा अन्य व्यक्तिसँग पनि सेयर गर्न सक्नेछन् । अन्य व्यक्तिले समेत आफ्नो एआई फोटो तथा भिडियोमा उक्त अवतार प्रयोग गर्न पाउनेछन् । तर, त्यसका लागि अनुमति अनिवार्य हुनेछ ।
कसरी काम गर्छ जेमिनाइको पर्सनल अवतार फिचर ?
गुगलको नयाँ पर्सनल अवतार फिचरले प्रयोगकर्तालाई आफ्नै पहिचान झल्किने एआई सामाग्री सिर्जना गर्ने सुविधा दिन्छ । यसका लागि गुगलले फोटो निर्माणमा ‘नानो बनाना’ (Nano Banana) र भिडियो निर्माणमा ‘जेमिनाइ ओम्नी’ (Gemini Omni) प्रविधि प्रयोग गरेको छ ।
यस फिचरमार्फत प्रयोगकर्ताले आफ्नो अनुहार र आवाज भएको अवतारलाई साथीभाइ, परिवारका सदस्य वा सहकर्मीसँग एउटै एआई फोटो वा भिडियोमा समावेश गर्न सक्नेछन् ।
यदि अन्य व्यक्तिले पनि आफ्नो एआई क्रिएसनमा कसैको अवतार प्रयोग गर्न चाहेमा सम्बन्धित व्यक्तिबाट अनुमति लिनुपर्नेछ । यसका लागि गुगलले जिमेलमार्फत निमन्त्रणा पठाउने व्यवस्था गरेको छ ।
अवतार सेयर गर्न चाहने प्रयोगकर्ताले सम्बन्धित व्यक्तिको जिमेल ठेगानामा निमन्त्रणा पठाउनुपर्नेछ । निमन्त्रणा प्राप्त गर्ने व्यक्तिले त्यसलाई स्वीकार गरेपछि मात्रै आफ्नो एआई फोटो तथा भिडियोमा उक्त अवतार प्रयोग गर्न सक्नेछ ।
अवतार सेयरिङमा प्रयोगकर्ताकै नियन्त्रण
गुगलले यो फिचरमा गोपनीयता र अनुमतिलाई ध्यानमा राख्दै विभिन्न नियन्त्रण विकल्प पनि उपलब्ध गराएको छ । प्रयोगकर्ताले जेमिनाइको सेटिङ्समा गएर आफ्नो अवतार कसले प्रयोग गर्न पाउने र कति समयसम्म पहुँच रहने भन्ने निर्धारण गर्न सक्नेछन् ।
प्रयोगकर्ताले अवतार प्रयोग गर्ने अनुमतिको समयसीमा अर्थात् एक्सपायरी डेट समेत तोक्न सक्नेछन् । चाहेको अवस्थामा जुनसुकै बेला अनुमति फिर्ता लिन पनि सकिनेछ । एकपटक अनुमति हटाएपछि सम्बन्धित व्यक्तिले उक्त अवतार प्रयोग गरेर नयाँ सामाग्री सिर्जना गर्न पाउने छैन । तर, अनुमति हटाउनुअघि नै सिर्जना गरिएका फोटो तथा भिडियोमा भने त्यसको असर पर्ने छैन ।
कसले प्रयोग गर्न पाउँछन् यो फिचर ?
हाल जेमिनाइको पर्सनल अवतार फिचर १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिगत गुगल अकाउन्ट भएका प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यो फिचरले हाल अंग्रेजी भाषालाई मात्रै समर्थन गर्छ ।
यद्यपि, बेलायत, युरोपियन इकोनोमिक एरिया (ईईए) र स्विट्जरल्यान्डमा भने यो सुविधा उपलब्ध छैन । त्यस्तै, पर्सनल अवतार प्रयोग गरेर भिडियो सिर्जना गर्न गुगल एआई प्लान आवश्यक पर्नेछ ।
यसरी बनाउन सकिन्छ आफ्नो पर्सनल अवतार
आफ्नो पर्सनल अवतार बनाउन प्रयोगकर्ताले सबैभन्दा पहिले आफ्नो अनुहार र आवाजको रेकर्डिङ गर्नुपर्नेछ । यसको प्रक्रिया कम्प्युटरबाट सुरु गर्न सकिन्छ । त्यसपछि स्क्रिनमा देखिने क्यूआर कोड स्क्यान गरेर मोबाइल वा ट्याब्लेटमार्फत रेकर्डिङ पूरा गर्न सकिनेछ ।
राम्रो नतिजाका लागि गुगलले शान्त वातावरणमा रेकर्डिङ गर्न र पर्याप्त प्रकाश भएको ठाउँ छनोट गर्न सुझाव दिएको छ । रेकर्डिङ गर्दा प्रयोगकर्ताको अनुहार स्पष्ट रूपमा देखिनुपर्नेछ ।
प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्टको सेटिङ्सबाट अवतारसँग सम्बन्धित विवरण, सेल्फी तथा आवाजको रेकर्डिङ हटाउन पनि सक्नेछन् । तर, यसरी अवतार र रेकर्डिङ हटाउँदा यसअघि नै सिर्जना वा सार्वजनिक गरिएका फोटो तथा भिडियो भने हट्ने छैनन् ।
यदि प्रयोगकर्ताले भविष्यमा फेरि यो फिचर प्रयोग गर्न चाहेमा नयाँ अवतार रेकर्ड गर्नुपर्नेछ ।
आईसीटी समाचार