काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रीय प्रतिनिधि किशोर बाबु येराबल्लाबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटवार्तामा नेपालको डिजिटल रूपान्तरण, समावेशी कनेक्टिभिटी तथा सूचना प्रविधिको दीगो विकासका विषयमा विस्तृत छलफल भएको हो । भेटका क्रममा आईटीयू प्रतिनिधि येराबल्लाले नेपालले अघि बढाएको डिजिटल रूपान्तरण अभियानलाई संस्थागत, नीतिगत तथा प्राविधिक सहयोगमार्फत थप सुदृढ बनाउन आईटीयू इच्छुक रहेको बताए ।
उनले डिजिटल पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि, कानुनी तथा नियामक सुधार र ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तारका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राखे ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल सरकारले डिजिटल पूर्वाधार विकासलाई सामाजिक समावेशीकरणसँग जोड्दै डिजिटल विभाजन अन्त्य गर्ने लक्ष्यसहित काम गरिरहेको बताए ।
दुर्गम तथा जटिल भौगोलिक अवस्थाका कारण सर्वसुलभ डिजिटल पहुँच विस्तार चुनौतीपूर्ण भएपनि सरकारले यसलाई दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा अघि बढाएको उनको भनाइ थियो ।
“डिजिटल रूपान्तरण नेपालको प्रमुख प्राथमिकता हो । विशेष गरी दुर्गम क्षेत्रमा कनेक्टिभिटी विस्तार, डिजिटल विभाजन न्यूनीकरण र समग्र डिजिटल पूर्वाधार सुधारमा सरकार केन्द्रित छ,” मन्त्री तिमिल्सिनाले भने, “यसका लागि अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्न सरकार तयार छ ।”
भेटवार्तामा सूचना प्रविधि क्षेत्रका लागि समयसापेक्ष नीति निर्माण, नियामक संरचना सुदृढीकरण, प्रभावकारी स्पेक्ट्रम व्यवस्थापन, डिजिटल समावेशीकरण तथा ग्रामीण कनेक्टिभिटी विस्तारका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
नेपालले पछिल्लो समय डिजिटल अर्थतन्त्र विस्तार, ई-गभर्नेन्स, साइबर सुरक्षा, डिजिटल साक्षरता तथा अनलाइन सार्वजनिक सेवा प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा दूरसञ्चार ऐन संशोधन, ‘डिजिटल हाइवे’ अवधारणा, स्मार्ट गाउँ कार्यक्रम तथा सूचना प्रविधिमा आधारित पूर्वाधार निर्माणमा सहकार्यको सम्भावनाबारे समेत कुराकानी भएको थियो ।

आईसीटी समाचार