काठमाडौं । पछिल्लो समय डिजिटल माध्यमबाट आफ्नो व्यवसाय, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने क्रम बढ्दो छ । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालसँगै ह्वाट्सएप पनि व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । ह्वाट्सएपमार्फत ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्न, उत्पादन तथा सेवाको जानकारी दिन र विज्ञापनमार्फत नयाँ ग्राहक आकर्षित गर्न सकिन्छ ।
ह्वाट्सएपमा विज्ञापन गर्ने विभिन्न तरिका छन् । विशेष गरी ह्वाट्सएप बिजनेस (WhatsApp Business) प्रयोग गर्ने व्यवसायीका लागि यसका केही उपयोगी सुविधा उपलब्ध छन् । यसबाट आफ्नो व्यवसायको विवरण राख्न, उत्पादनको क्याटलग तयार गर्न, ग्राहकसँग कुराकानी गर्न र प्रचार सामाग्री सेयर गर्न सकिन्छ ।
ह्वाट्सएपबाट कसरी गर्ने विज्ञापन ?
ह्वाट्सएपमार्फत विज्ञापन गर्न सबैभन्दा पहिले ह्वाट्सएप बिजनेस एप प्रयोग गर्न सकिन्छ । सामान्य ह्वाट्सएपभन्दा व्यवसाय सञ्चालनका लागि उपयोगी सुविधा उपलब्ध हुने भएकाले यसले ग्राहक व्यवस्थापन र प्रचारप्रसारलाई सहज बनाउँछ ।
ह्वाट्सएप बिजनेसमा आफ्नो व्यवसायको नाम, ठेगाना, सम्पर्क नम्बर, वेबसाइट, काम गर्ने समय तथा व्यवसायको विवरण राखेर प्रोफाइल तयार गर्न सकिन्छ । यसले ग्राहकलाई व्यवसायबारे आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउँछ ।
त्यसपछि व्यवसायसँग सम्बन्धित उत्पादन वा सेवाका तस्बिर, मूल्य र विवरण समावेश गरेर क्याटलग तयार गर्न सकिन्छ । यसरी तयार गरिएको क्याटलग ग्राहकसँग सेयर गरेर उत्पादनको प्रचार गर्न सकिन्छ । ग्राहकले पनि ह्वाट्सएपमै उत्पादनको विवरण हेर्न र व्यवसायीसँग प्रत्यक्ष कुराकानी गर्न सक्छन् ।
स्टाटसबाट पनि गर्न सकिन्छ प्रचार
ह्वाट्सएपको स्टाटस सुविधा पनि विज्ञापनका लागि उपयोगी माध्यम हो । यसमा व्यवसायका उत्पादन, नयाँ अफर, छुट, विशेष सेवा वा अन्य प्रचार सामाग्रीका तस्बिर तथा भिडियो राख्न सकिन्छ ।
ह्वाट्सएपमा राखिएको स्टाटस २४ घण्टासम्म देखिन्छ । त्यसैले नयाँ उत्पादन सार्वजनिक गर्दा, विशेष छुटको जानकारी दिँदा वा कुनै कार्यक्रमको प्रचार गर्दा स्टाटस प्रयोग गर्न सकिन्छ । नियमित रूपमा आकर्षक र उपयोगी सामाग्री राख्दा सम्पर्कमा रहेका ग्राहकसम्म व्यवसायको जानकारी पुर्याउन मद्दत पुग्छ ।
फेसबुक र इन्स्टाग्रामबाट ह्वाट्सएपमा विज्ञापन
ह्वाट्सएपमार्फत ग्राहक बढाउने अर्को प्रभावकारी उपाय फेसबुक र इन्स्टाग्राममा विज्ञापन सञ्चालन गर्नु हो । मेटाको विज्ञापन प्रणाली प्रयोग गरेर यस्ता विज्ञापन तयार गर्न सकिन्छ, जसमा ग्राहकले विज्ञापनमा क्लिक गर्दा सीधै व्यवसायको ह्वाट्सएप च्याटमा पुग्छन् ।
यसका लागि फेसबुक वा इन्स्टाग्रामको विज्ञापन व्यवस्थापन गर्ने मेटा एड्स म्यानेजर (Meta Ads Manager) प्रयोग गर्न सकिन्छ । विज्ञापन तयार गर्दा उद्देश्यअनुसार उपयुक्त अभियान छनोट गरी तस्बिर वा भिडियो, विज्ञापनको शीर्षक, विवरण र बजेट निर्धारण गर्नुपर्छ ।
त्यसपछि विज्ञापनसँग ह्वाट्सएप नम्बर जोडेर लक्षित ग्राहक समूह छनोट गर्न सकिन्छ । विज्ञापन देख्ने व्यक्तिले त्यसमा रहेको बटनमा क्लिक गरेपछि सीधै ह्वाट्सएपमा पुगेर व्यवसायीसँग प्रश्न गर्न, मूल्य बुझ्न वा सेवा तथा उत्पादनबारे जानकारी लिन सक्छन् ।
विज्ञापन प्रभावकारी बनाउन के गर्ने ?
ह्वाट्सएपमार्फत गरिने विज्ञापन प्रभावकारी बनाउन आकर्षक तस्बिर तथा भिडियो प्रयोग गर्नु आवश्यक हुन्छ । विज्ञापनमा उत्पादन वा सेवाको स्पष्ट जानकारी, मूल्य, विशेषता र ग्राहकले प्राप्त गर्ने सुविधाबारे उल्लेख गर्नुपर्छ । त्यस्तै, छोटो र आकर्षक सन्देश राख्दा प्रयोगकर्ताको ध्यान आकर्षित गर्न सकिन्छ ।
विज्ञापन तयार गर्दा लक्षित ग्राहक समूह पनि महत्त्वपूर्ण हुन्छ । आफ्नो उत्पादन वा सेवा आवश्यक पर्ने उमेर समूह, स्थान तथा रुचिका व्यक्तिलाई लक्षित गरेर विज्ञापन सञ्चालन गर्दा उपलब्ध बजेटको प्रभावकारी उपयोग गर्न सकिन्छ ।
त्यस्तै, ग्राहकले पठाएका म्यासेजको समयमै जवाफ दिनु, आवश्यक जानकारी उपलब्ध गराउनु र अनावश्यक प्रचार सन्देश नपठाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । ग्राहकको अनुमति र गोपनीयताको सम्मान गर्दै प्रचारप्रसार गर्नुपर्छ ।
आईसीटी समाचार