काठमाडौं । विदेशमा रहेका आफन्तमार्फत मोबाइल, ल्यापटप, स्मार्टवाचलगायतका विद्युतीय उपकरण मगाउने चलन बढ्दो छ । कतिपयले विदेश भ्रमणका क्रममा आफैं यस्ता सामान किनेर ल्याउँछन् भने केहीले अन्तर्राष्ट्रिय अनलाइन बजारबाट अर्डर गर्छन् । नेपालमा उपलब्ध नभएका वा स्वदेशको बजारभन्दा सस्तो पर्ने उत्पादनप्रति उपभोक्ताको आकर्षण हुनु स्वाभाविक पनि हो ।
तर विदेशबाट ग्याजेट खरिद गर्दा मूल्य सस्तो हुनु मात्रै पर्याप्त हुँदैन । एउटै ब्रान्ड र मोडलका उपकरण पनि कुन देशका लागि उत्पादन गरिएको हो भन्ने आधारमा फरक हुन सक्छन् । बाहिरबाट हेर्दा उस्तै देखिने डिभाइसमा हार्डवेयर, सफ्टवेयर, नेटवर्क सपोर्ट र अन्य सुविधामा भिन्नता हुन सक्छ । त्यसैले विदेशबाट कुनै पनि प्रविधिजन्य उपकरण खरिद गर्नुअघि त्यसको अनुकूलता र प्रयोगसम्बन्धी सर्त बुझ्नु आवश्यक छ ।
एउटै मोडलमा पनि फरक सुविधा
विदेशबाट फोन खरिद गर्दा सबैभन्दा पहिले त्यसको क्षेत्रीय संस्करण (रिजनल भेरियन्ट) जाँच गर्नुपर्छ । निर्माता कम्पनीहरूले एउटै उत्पादनलाई विभिन्न देशको बजारअनुसार फरक हार्डवेयर र सुविधासहित बिक्री गर्ने गर्छन् ।
उदाहरणका लागि, चीनमा बिक्री हुने केही आईफोनमा दुईवटा भौतिक सिम कार्ड राख्न मिल्ने व्यवस्था हुन्छ । तर अमेरिकामा बिक्री हुने आईफोन १४ सिरिजदेखि भौतिक सिम कार्डको स्लट हटाइएको छ । त्यहाँका मोडलमा ई-सिममार्फत मोबाइल नेटवर्क प्रयोग गर्नुपर्ने हुन्छ ।
त्यस्तै, चीनका लागि निर्माण गरिएका केही आईफोनमा एप्पल इन्टेलिजेन्सका सुविधा उपलब्ध हुँदैनन् वा सीमित हुन्छन् । फोन अर्को देशमा ल्याएर प्रयोग गरेपनि क्षेत्रीय प्रतिबन्धका कारण सबै सुविधा चलाउन नसकिने अवस्था हुन सक्छ ।
यसकारण फोनको मोडल नम्बर मात्र हेरेर खरिद गर्ने निर्णय गर्नु उचित हुँदैन । कुन बजारका लागि उत्पादन गरिएको हो र त्यसमा के-कस्ता सुविधा उपलब्ध छन् भन्ने कुरा पनि बुझ्नुपर्छ ।
नेपालको मोबाइल नेटवर्कसँग मिल्छ कि मिल्दैन ?
विदेशबाट स्मार्टफोन ल्याउँदा विशेष ध्यान दिनुपर्ने अर्को विषय मोबाइल नेटवर्कको अनुकूलता हो । विभिन्न देशका मोबाइल सेवा प्रदायकले फरक-फरक फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गर्ने भएकाले सबै फोनले सबै नेटवर्कमा समान रूपमा काम गर्छन् भन्ने हुँदैन ।
कुनै देशमा बिक्री भएको फोनले त्यहाँको फाइभजी नेटवर्क राम्रोसँग समर्थन गरेपनि नेपालमा उपलब्ध फोरजी वा अन्य नेटवर्कका केही ब्यान्ड समर्थन नगर्न सक्छ । विशेष गरी फोनमा आवश्यक फ्रिक्वेन्सी ब्यान्ड नभएमा नेटवर्क कभरेज कमजोर हुने वा केही स्थानमा इन्टरनेट सेवा नै प्रयोग गर्न नसकिने समस्या आउन सक्छ ।
नेपालमा पनि यस्तो समस्या देखिन सक्छ । उदाहरणका लागि, कुनै फोनले ८०० मेगाहर्ज ब्यान्ड समर्थन नगरेमा नेपाल टेलिकमको सोही ब्यान्डमा आधारित फोरजी सेवा उपलब्ध हुने क्षेत्रमा नेटवर्क प्रयोगमा समस्या आउन सक्छ ।
नेटवर्क ब्यान्ड मिल्नु मात्रै पनि पर्याप्त हुँदैन । फोन र सेवा प्रदायकबीचको अनुकूलताका आधारमा भोल्टे (VoLTE) र वाईफाई कलिङजस्ता सुविधा पनि प्रभावित हुन सक्छन् । त्यसैले खरिद गर्नुअघि फोनले नेपालमा प्रयोग हुने नेटवर्क ब्यान्ड तथा सम्बन्धित सेवा समर्थन गर्छ कि गर्दैन भन्ने कुरा आधिकारिक स्पेसिफिकेसनबाट जाँच गर्नुपर्छ ।
ल्यापटपको किबोर्डदेखि चार्जरसम्म फरक हुन सक्छ
समस्या स्मार्टफोनमा मात्र सीमित छैन । विदेशबाट ल्याइने ल्यापटपमा पनि प्रयोगकर्ताले अपेक्षा नगरेका भिन्नता भेटिन सक्छन् । ल्यापटपको किबोर्ड लेआउट देशअनुसार फरक हुन्छ ।
उदाहरणका लागि, फ्रान्सेली बजारमा बिक्री हुने धेरै ल्यापटपमा QWERTY को सट्टा AZERTY किबोर्ड प्रयोग गरिन्छ । यस्तो ल्यापटप खरिद गरेर नेपाल ल्याउँदा सामान्य टाइपिङ गर्नसमेत सुरुमा असहज हुन सक्छ ।
त्यस्तै, चार्जर र पावर प्लग पनि फरक हुन सक्छन् । कुनै देशमा प्रयोग हुने प्लग नेपालको विद्युतीय सकेटमा नमिल्न सक्छ । यस्तो अवस्थामा उपयुक्त एडाप्टर आवश्यक पर्छ ।
विद्युत्को भोल्टेज र फ्रिक्वेन्सी पनि विचार गर्नुपर्ने विषय हो । अमेरिकामा सामान्यतया १२० भोल्ट र ६० हर्ज विद्युत् प्रणाली प्रयोग हुन्छ भने नेपालसहित युरोप र एसियाका धेरै देशमा २२० देखि २४० भोल्ट र ५० हर्ज प्रणाली प्रचलित छ ।
स्मार्टफोन र ल्यापटपका अधिकांश आधुनिक चार्जरले १०० देखि २४० भोल्टसम्म समर्थन गर्ने भएकाले सामान्यतया विभिन्न देशमा प्रयोग गर्न सकिन्छ । तर सबै उपकरणमा यस्तो सुविधा हुँदैन । त्यसैले प्लग मिलाउने एडाप्टर मात्र पर्याप्त हुन्छ कि भोल्टेज परिवर्तन गर्ने कन्भर्टर पनि चाहिन्छ भन्ने कुरा उपकरणको लेबलमा जाँच गर्नुपर्छ ।
वारेन्टी नपाउँदा मर्मतमा समस्या
विदेशबाट ग्याजेट खरिद गर्दा उपभोक्ताले बेवास्ता गर्ने तर पछि ठूलो समस्या बन्न सक्ने विषय हो, वारेन्टी । धेरै निर्माता कम्पनीले आफ्नो वारेन्टी र प्राविधिक सहयोग निश्चित देश वा क्षेत्रमा मात्र उपलब्ध गराउँछन् । कुनै उत्पादन नेपालमा आधिकारिक रूपमा बिक्री नहुने भए त्यसको पार्टपुर्जा पाउन, मर्मत गराउन वा कम्पनीबाट सेवा लिन कठिन हुन सक्छ ।
केही ब्रान्डले अन्तर्राष्ट्रिय वारेन्टी उपलब्ध गराए पनि सबै उत्पादनमा यो सुविधा लागू हुन्छ भन्ने छैन । एप्पलकेयरजस्ता सेवा लिएका ग्राहकले समेत निश्चित उपकरणको मर्मत वा सेवा उत्पादन बिक्री भएको मूल देशमै सीमित हुन सक्ने सर्त सामना गर्नुपर्ने हुन्छ ।
त्यसैले विदेशबाट महँगो उपकरण खरिद गर्दा वारेन्टी नेपालमा मान्य हुन्छ कि हुँदैन, मर्मत सेवा कहाँ उपलब्ध हुन्छ र आवश्यक पार्टपुर्जा पाइन्छ कि पाइँदैन भन्ने कुरा पहिले नै स्पष्ट पार्नुपर्छ ।
सस्तो मूल्य देखेर मात्रै नकिन्नुहोस्
विदेशी अनलाइन बजारमा कुनै उत्पादन नेपालको तुलनामा सस्तो देखिन सक्छ । तर अन्तिम मूल्य हिसाब गर्दा ढुवानी खर्च, आयात भन्सार महसुल तथा लागू हुने अन्य करसमेत जोड्नुपर्छ ।
अन्तर्राष्ट्रिय ढुवानी महँगो हुन सक्छ । त्यसैगरी, सामान नेपाल आइपुगेपछि लाग्ने भन्सार प्रक्रिया र शुल्कले सुरुवाती मूल्यभन्दा धेरै खर्च बढाउन सक्छ । अनलाइन अर्डर गर्दा सामान ढिलो आइपुग्ने, बिग्रिएको अवस्थामा प्राप्त हुने वा फिर्ता गर्न कठिन हुने जोखिम पनि रहन्छ ।
त्यसैले विदेशबाट सामान मगाउनुअघि नेपालको बजार मूल्यसँग सबै खर्च जोडेर तुलना गर्नु उपयुक्त हुन्छ । मूल्यमा ठूलो अन्तर नभए स्थानीय बजारबाट खरिद गर्दा वारेन्टी, मर्मत र बिक्रीपछिको सेवामा सहजता पाउन सकिन्छ ।
खरिद गर्नुअघि यी कुरा जाँच्नुहोस्
विदेशबाट स्मार्टफोन, ल्यापटप वा अन्य ग्याजेट ल्याउने योजना बनाउनुभएको छ भने यी विषयमा विशेष ध्यान दिनुहोस्:
- उपकरणको मोडल र क्षेत्रीय संस्करण जाँच गर्नुहोस् ।
- नेपालमा प्रयोग हुने मोबाइल नेटवर्क ब्यान्ड समर्थन गर्छ कि गर्दैन बुझ्नुहोस् ।
- सिम कार्ड, ई-सिम, VoLTE र अन्य कनेक्टिभिटी सुविधा जाँच गर्नुहोस् ।
- सफ्टवेयर तथा एआई सुविधामा कुनै क्षेत्रीय प्रतिबन्ध छ कि छैन हेर्नुहोस् ।
- चार्जरको भोल्टेज, फ्रिक्वेन्सी र प्लग अनुकूलता बुझ्नुहोस् ।
- नेपालमा वारेन्टी तथा मर्मत सेवा उपलब्ध हुन्छ कि हुँदैन निश्चित गर्नुहोस् ।
- ढुवानी, भन्सार र अन्य शुल्क जोडेर वास्तविक मूल्य निकाल्नुहोस् ।
विदेशबाट ग्याजेट खरिद गर्नु आफैंमा नराम्रो विकल्प होइन । तर मूल्य सस्तो देखिएकै आधारमा निर्णय गर्दा पछि सुविधा प्रयोग गर्न नपाउनेदेखि मर्मतमा ठूलो खर्च बेहोर्नुपर्ने अवस्थासमेत आउन सक्छ । त्यसैले पैसा खर्च गर्नुअघि उपकरणको प्राविधिक विवरण र नेपालमा प्रयोग गर्न मिल्ने अवस्था राम्रोसँग बुझ्नु नै बुद्धिमानी हुनेछ ।
आईसीटी समाचार